नेपाली महिला क्रिकेट टोलीले मलेसियामा टी-२० प्रतियोगिता खेल्ने, यस्तो छ तालिका

इनेप्लिज २०८० साउन २८ गते २:५३ मा प्रकाशित

काठमाडौ, नेपाली महिला क्रिकेट टोलीले मलेसियामा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, हङकङ र कुवेतले पनि प्रतिस्पर्धा गर्नेछन् । अगस्ट २२ देखि २६ सम्म हुने प्रतियोगिताका सबै खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा हुनेछन् ।

नेपालले पहिलो खेल २२ अगस्टमा हङकङविरुद्ध खेल्नेछ । यस्तै, नेपालले २३ अगस्टमा कुवेत र २५ अगस्टमा मलेसियाको सामना गर्ने तालिका छ ।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । पुछारको दुई टोलीले तेस्रो स्थानका लागि प्लेअफ खेल्नेछन्  ।

नेपाल क्रिकेट संघ ९क्यान० ले यस प्रतियोगितालाई महिला टी–२० विश्वकपको एसिया छनोटको तयारीको रूपमा हेरेको छ । मलेसिया र नेपालसहित टी–२० विश्वकपको एसिया छनोटमा यूएई, कतार, भुटान र बहराइनले प्रतिस्पर्धा गर्दैछन् ।

राउन्ड रोबिनका आधारमा हुने विश्वकपको एसिया छनोटमा नेपालले २९ अगस्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा यूएईसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोट हुनेछन् । नेपालले प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

विश्वकप छनोट खेल्ने नेपालको टोली : रुवीना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दू बर्मा, विन्दू रावल, कविता कुँवर, कविता जोशी, पुनम महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवि पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल ।

प्रतिक्रिया