काठमाडौ, सत्तारुढ दल नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न हेतु शनिबारदेखि गाउँ पसेको छ ।
गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गर्दै सांगठनिक सुधारका लागि कांग्रेसले गाउँगाउँमा पुगेर पार्टीलाई क्रियाशील र लथालिङ्ग रहेको संगठनहरूलाई सुदृढ गर्न लागि परेको हो ।
कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन ।
दश दिने अभियानमार्फत पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्ला जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले हिजोबाट १० दिने अभियान नै सुरु गरेका छन् ।
कांग्रेस केन्द्रीय तहका नेता नै सरिक हुने उक्त १० दिने अभियानमा कांग्रेसको केन्द्रीय प्रतिनिधि १६५ वटै निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
शनिबार काठमाडौंमा उक्त दश दिने अभियानको सुरुवात गर्दै सहमहामन्त्री आङ्देम्बेले कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणका एजेन्डामा तन्नेरी र बाबु पुस्ताबीच लडाइँ चलिरहेको स्वीकारे । ‘
अहिले बाबु पुस्ताले नेतृत्व गरिरहेको छ । अर्को पुस्ता ५५ वर्ष उमेरभन्दा मुनिको छ, जसले आफूलाई युवा भन्छ उसले हस्तक्षेपकारी भूमिका देखाउन खोजिरहेको छ ।’
अभियानमा कांग्रेसका प्रतिनिधिले १६५ वटै निर्वाचन क्षेत्रमा जाने तथा जिल्लामा खटिएका नेताहरूबाट पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनु पर्ने संरचनालगायत गठन भए/नभएको, स्थानीय सरकार र पार्टीबीचको सम्बन्धजस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्नेछन् ।
त्यस्तै, केन्द्रीय प्रतिनिधिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने लगायतका क्रियाकलापमा सहभागी बनेर कांग्रेसको जिल्ला देखि स्थानीय तहको वास्तविकताबारे प्रतिवेदन तयार गर्ने बताइएको छ ।
कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णयपनि गरेको थियो । १० दिने कांग्रेस अभियान साउन ३० गतेसम्म चल्नेछ ।
प्रतिक्रिया