‘माओवादीलाई बचाएर कांग्रेस नेतालाई फसाएको शंका छ’ महालक्ष्मी उपाध्याय ‘डिना’ सहमहामन्त्री, नेपाली कांग्रेस (अन्तर्वार्ता )

इनेप्लिज २०८० साउन २० गते ६:४२ मा प्रकाशित

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकी सहमहामन्त्री हुन् महालक्ष्मी उपाध्याय ‘डिना’ । देउवा निकट नेतृ उपाध्यायलाई सरकार मूल मुद्दाबाट विषयान्तर भइरहेको लाग्न थालेको छ । पपुलिष्ट हुने नाममा सरकारले ट्रयाक छोड्न खोजेको खुलेआम बताउन थालेकी छिन्, उनी ।

अझ सरकारले आरोपित माओवादी नेतालाई बचाएर कांग्रेसका नेता मात्र पक्राउ गर्दा आशंका चुलिएको उपाध्यायको बुझाइ छ । ‘माओवादीका नेताहरू बचाउन खोजेको शंका पनि साथीहरू गर्छन्’ उनले भनिन्, ‘त्यसकारण कांग्रेसलाई फसाउन लागिएको हो कि भन्ने कुरामा हामीलाई पनि आशंका छ ।’

आरोप लाग्दैमा कांग्रेस नेता बालकृष्ण खाँणलाई पक्राउ गरेकोमा असहमति व्यक्त गर्दै उनले प्रश्न गरिन्, ‘अपराधी नभएका व्यक्तिलाई राज्यले थुन्यो भने के हुन्छ ? आम जनताको विश्वास बढ्छ कि घट्छ ?’ सोच-विचार गरेर मात्रै फाइल अघि बढाउन सुझाव दिएकी उनै कांग्रेस सहमहामन्त्री उपाध्यक्षसँग कांग्रेस राजनीति र सरकारका क्रियाकलापबारे गरेको कुराकानी :

सहमहामन्त्रीबारे कांग्रेसको विधानले भूमिका केही बोलेको छैन ।तपाईंले त्यही जिम्मेवारी पाउनुभयो । बितेको डेढ वर्षमा तपाईंहरू भूमिकाविहीन भएर बिताउनु पर्‍यो, कस्तो लाग्दैछ ?

भूमिकाविहीन नै त छैनौं । साथीहरूले ठाउँ-ठाउँमा सहमहामन्त्रीहरूलाई बोलाउनुभएको छ । विधानमा भूमिका नतोकिए पनि स्थानीय निर्वाचनमा सात जनालाई सात प्रदेश हेर्ने जिम्मेवारी थियो । स्ववियू निर्वाचनको क्रममा पनि सबैले जिम्मेवारी पाउनुभएकै हो । यो अवधिमा हामी भूमिकाविहीन रहेनौं ।

सभापतिले अधिकार प्रयोग गरेर तपाईंहरूलाई भूमिका दिने चासो नदेखाएका हुन् ?

सभापतिले बेवास्ता गरे जस्तो मलाई त लाग्दैन । किटान गरेर काम नदिए पनि काम गरिरहेकै छौं । महाधिवेशनलगत्तै भएको तीनै तहको चुनावमा हामी संलग्न भइहाल्यौं । भूमिका नपाएको भनेर हीनताबोधको अनुभूति भएको छैन ।

केन्द्रीय समितिकै बैठकमा तपाईंहरूप्रति चिन्ता व्यक्त गरियो नि ?

हामीले काम गरिरहेका छौं । पार्टीलाई परेको बेला कामको जिम्मेवारी पाएकै छौं । काम नभएर चुप लागेर सहमहामन्त्रीहरू बस्नुपर्ने अवस्था छैन ।

सुरुमा कोठा पनि छुट्याइएको थिएन । एकै ठाउँमा भएको कोठाले भएन भनेर छुट्टाछुट्टै माग गर्‍यौं । पार्टीमा काम गर्‍यो भने त जति पनि काम हुन्छ । पार्टीका साथीहरू भेट्ने, गुनासो सुन्ने, यही त हो नि पार्टीमा गर्नुपर्ने काम । सरकारी कर्मचारी जस्तो यो-यो काम गर्ने भन्ने हुँदैन नि ! काम दिएर भन्दा पनि आफैं गर्ने हो ।

केन्द्रीय सदस्यले हाम्रो बारेमा चिन्ता गरेर उठाउने कुरा जायज पनि हुन्छ । उहाँहरूले आएर भन्न पाउनुभएको थिएन । सहमहामन्त्रीलाई सात प्रदेशको एक-एक गरेर जिम्मेवारी दिनुपर्ने माग उहाँहरूले राख्नु जायज पनि हो ।

केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्नु नै बैठक सफल भएको मान्नुपर्ने अवस्था देखियो, होइन ?

बैठक लाइभ गर्दा सबैले एकदमै फरक महसुस गरे । बैठक भित्र हुने हामी र बाहिर हेर्ने अरूले फरक ढंगले विश्लेषण भएको छ । केन्द्रीय समितिको बैठकमा केही गम्भीर विषय पनि उठेका छन् । त्यसलाई कसरी समाधान गर्ने, पार्टीलाई अझ सशक्त कसरी बनाउने, नीति महाधिवेशन लगायत विषयमा छलफल र निर्णय भएको छ ।

अर्को महत्वपूर्ण कुरा, हामी सहमहामन्त्री सहित केन्द्रीय सदस्यहरू जिल्ला-जिल्ला जाँदैछौं । निर्वाचनमा पार्टीको आन्तरिक कारणले धेरै ठाउँमा हारेको गुनासो छ । यसको पनि समीक्षा हुन्छ । परिस्थिति कस्तो छ ? संगठन निर्माणमा कसरी जान सकिन्छ ? जिल्लाबाट फर्किएपछि बस्ने केन्द्रीय समितिको बैठकबाट संगठनलाई चुस्तदुरुस्त बनाउन छलफल हुन्छ । -पार्टी) ट्रयाकबाट जाने वातावरण बनेको छ, अहिले नयाँ कार्यको थालनी भएको छ ।

तपाईंले सफल भयो भनिरहँदा कतिपयले बैठकलाई एक पक्षले कुण्ठा पोख्ने थलोका रूपमा प्रयोग गरियो भन्ने आरोप पनि छ नि ?

लामो समयसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन जसले गर्दा बाहिर धेरै कुरा आउन थाले । कुण्ठा होइन, बैठक हुँदा पार्टीमा कुरा नराख्ने तर मिडिया र सामाजिक सञ्जालमा गलत कुराको प्रचार भएकोले व्यक्त गरिएको कुरा हो त्यो । विचार राखेको हो, कुण्ठा राखेको मैले सुनिनँ । सबैले आफ्नो कुरा राखेपछि बैठक लम्बिएन र प्रतिवेदन सबैको सहमतिले पास भयो ।

एजेण्डा माथिको बहस भन्दा पनि एक पक्षले सभापति र अर्को पक्षले महामन्त्रीमाथि दोषारोपण गरेको त देखियो नि !

बैठकमा धेरै लामो छलफलको एजेण्डा आयो । बोल्ने समय छोटो थियो । सबै एजेण्डामा केन्द्रीय सदस्यले बोल्न पाएनन् । सभापति र महामन्त्रीको कुरा होइन, पार्टी बचाउनका लागि बोलेको कुरा हो नि ! व्यक्तिलाई आक्षेप लगाएर कसैले केही भनेको छैन । भित्र के भनियो, बाहिर के आयो भन्ने हो । पार्टीमा केही कमी-कमजोरी छन् भने सुधारेर अझै राम्रो गरेर जाऔं भन्ने कुरा नै पास भएन त ?

कांग्रेसमा निर्णय गर्ने कार्यान्वयन नहुने परम्परा छ । सभापतिले नै यो अवधिभित्र यी-यी कुरामा निर्णय गर्नुपर्ने भनेर पार्टी बैठकले किटान गरेको छ । सोही बमोजिम निर्णय कार्यान्वयन नहुने आशंका छ नि ?

सभापतिले भदौ १५ गते गर्नुपर्ने कामको जिम्मेवारी दिइसक्नुभयो । विभाग गठनको तयारी गर्न र मापदण्ड बनाउन महामन्त्रीहरूलाई जिम्मेवारी दिनुभएको छ । जिम्मेवारी जसले पायो, त्यसले गर्ने हो नि !

भ्रातृ संस्थालाई पूर्णता दिन पहिले पनि जिम्मेवारी दिनुभएको हो । अहिले पनि भन्नुभएको छ । मन्त्री भएकालाई विभागको जिम्मेवारी नदिने पहिले पनि मापदण्ड थियो । विभागमा राख्नेहरूका लागि क्राइटेरिया बनाउनुपर्छ । तयारी त गर्नुपर्‍यो नि ! निर्णय कार्यान्वयन भइहाल्छ, किन नहुनु ?

भदौ १५ गतेभित्र हुनुपर्ने कामहरू नहोला भन्नेमा मलाई त आशंका छैन । आशंका हुनु पनि राम्रै हो किनकि यसले छिटो निर्णय हुन्छ । २/४ दिन तल-माथि होला । तर भदौभरिमा हुन्छ नै ।

विधान अनुसार २/२ महिनामा केन्द्रीय समितिको बैठक बस्ने गरेको थिएन । असोज २ मा केन्द्रीय समिति बैठक बस्ने भनेर सभापतिले घोषणा गरिसक्नुभएको छ । तर, बस्दैन भन्नेहरू पनि छन् नि ?

किन नबस्ने ? बस्छ । बैठक बस्न गाह्रो कुरै छैन । पहिले पनि बैठक बस्न नचाहेर, बैठक बस्न हुँदैन भनेर नबसेको होइन । महाधिवेशनपछिको समय हेर्नुस् न ! सरकार, निर्वाचनका कुराहरू भए नि त !

अघिल्लो केन्द्रीय समिति ८५ जनाको थियो । त्यसैले कार्यसम्पादन पनि अन्तिम समयमा बनेको थियो । पार्टी एकताका कारण यस्तो भयो । सुनिल थापा राप्रपा छोडेर आउनुभयो भने विजय गच्छदारको पार्टी मर्ज भयो । संख्या वृद्धि भयो र अन्तिममा महाधिवेशनको ६ महिना अघि कार्यसम्पादन समिति बन्यो ।

अहिले संख्या ठूलो भयो । देशभरिबाट समयमा आउन पनि गाह्रो । कार्यसम्पादनको बैठक १४ पटक बस्यो । धेरै निर्णय त्यहाँ भएर केन्द्रीय समितिबाट अहिले पारित भयो । त्यसकारण, पार्टी बैठक नै चलेको छैन, देउवाले एक्लै चलाइरहनुभएको छ भन्ने जुन बाहिर आएको थियो, त्यो त गलत भयो नि !

विधानले नै नचिनेको पदाधिकारी बैठक बसेर त्यसमा भएको सहमति केन्द्रीय समितिमा ल्याएर लाद्ने गरेको भन्दै असन्तुष्टि त छ नि !

त्यो बैठक बसेकै होइन । सुझाव लिनका लागि त मैले पनि जो कसैलाई पनि बोलाउन सक्छु । कार्य सम्पादनमा छलफलमा लैजाने कुराहरू सुझाव लिनका लागि पूर्वतयारी बैठक हुन्छ कि हुँदैन !

पदाधिकारी बैठकको माइन्युट त हामीले कतै गरेका छैनौं नि ! पूर्वतयारीका लागि सभापतिले जसलाई पनि बोलाएर सल्लाह लिन सक्नुहुन्छ । पदाधिकारी भन्दा बाहिरकालाई पनि बोलाउनुहुन्छ । त्यसो गर्न पाइन्छ ।

सभापतिले सुझाव लिनका लागि बैठक बोलाउँदा कसैलाई चित्त नबुझेको पनि हुनसक्छ । पार्टी बैठक बस्नुअघि कार्यालयमै पनि धेरै पटक छलफल पछि मात्रै निर्णय भएको छ । यसैले गलत तरिकाले सोच्यौं भने कसरी पार्टी संगठन चल्न सक्छ त ?

आठ दिन बसेको बैठकमा सभापतिमाथि पनि प्रश्न उठेका थिए । उहाँमाथि केन्द्रीय सदस्यले राखेको जिज्ञासाको सभापतिले जवाफ दिनुपर्ने होइन र ?

सभापतिले जवाफ दिनुभयो । सबै एजेण्डा नै सभापतिको हो नि ! सभापतिले के जवाफ दिनु र ? आएको सबै एजेण्डा पास भयो । अब कार्यान्वयन गर्नु र धन्यवाद भन्नुभयो, सकियो ।

बढी बोल्न जरुरत छैन । फेरि हाम्रो सभापति बढी बोल्नु पनि हुन्न । जति बोल्नुभयो, त्यो नै इनफ हो के ! बैठकमा आएका जिज्ञासा पदाधिकारी तहका अरू नेताहरूले बोलिसकेपछि समाप्त भइसकेको थियो । केन्द्रीय समितिमा सभापतिको जवाफ आएन कसैले भनेको छैन । भन्न सक्थे नि त ! कार्यान्वयनको पक्ष अब हेर्ने हो । सभापतिले बोल्यो बोलेन भन्नुको अर्थै छैन ।

देउवा पक्षका नेताले सभापतिले विधान अनुसार कार्य नगरे पनि प्रश्न उठाउन नसक्ने र जसरी पनि देउवाको बचाउ मात्र गर्छन् भन्ने तपाईंहरू माथि आरोप छ नि ?

तपाईंहरूले नदेख्नुभएको हो । उहाँलाई भन्ने मान्छे धेरै छन् । केन्द्रीय सदस्य, पदाधिकारीहरू पटक-पटक गएर भनिरहेका हुन्छन् । यस्तै हो पार्टी भनेको ।

के भएन त ? गर्नुपर्ने के हो भनिदिनु न त ! पार्टी अहिले पनि ठूलो छ । सबै तहमा पार्टी पहिलो बनेको छ । अहिले राष्ट्रिय राजनीतिमा आएको केही विमतिलाई कसरी सल्ट्याएर जाने भन्ने प्रमुख विषय हो ।

अहिले नेताहरू जिल्ला जाँदै हुनुहुन्छ । उहाँहरू फर्केपछि नयाँ तरिकाले जाने पनि हुनसक्छ । नयाँ कुराहरू पनि आउन सक्छ । हामीलाई के अप्ठ्यारो छ त ? पार्टी त पहिलो नै छ !

सन्तुष्ट हुने आधार रहेछ । अनि, निराशा किन बढिरहेको ?

ठूलो पार्टी छ । सबैले स्थान पाउन पनि गाह्रो छ । मैले यति धेरै काम गरें, मेरो लागि के ? भन्ने पनि साथीहरूमा छ । उहाँहरूको दुःखेसो हो ।

निराशा मैले देखेको छैन । निराशा र हीनताबोधको अनुभूति कार्यकर्ताले गरेका छैनन् । पार्टीमा नेतृत्वको धेरै विकास भइसकेको छ ।

कांग्रेसमा सुशासन गफमै सीमित भयो भन्ने आरोप लाग्दै आएको छ । विगतमा भ्रष्टाचारमा मुछिएका नेताहरूलाई पार्टी जिम्मेवारीबाट नहटाएर गलत गरेको पार्टीमाथि आरोप थियो । गलत परम्परालाई कायमै राख्नुभयो है ?

त्यस्तो होइन । मुद्दा लाग्ने बित्तिकै त्यो मान्छे दोषी हो कि होइन भन्ने कुरा हो । मुद्दा कांग्रेसलाई नै किन धेरै लगाइएको छ ? देशमा प्रजातन्त्र नआउँदैदेखि काम गरेका कांग्रेसका नेताहरूले साँच्चिकै गल्ती गरेका हुन् कि वा फसाइएको हो कि भन्ने पार्टीभित्र देखिन्छ ।

अभियोग ठहरिएका बेला हिजो पनि कांग्रेस होइन भनेर त कांग्रेस हिंडेन नि ! आम कार्यकर्तामा कांग्रेसलाई मात्रै पटक-पटक यो के हो त ? भन्ने जिज्ञासा छ । अरूको नाम पोलिरहेको छ । अरू चाहिं नसमातिने अनि कांग्रेस मात्रै समातिनुको अर्थ के हो ? पार्टीको तहबाट पनि विशेष छानबिन होस् भनी माग हो के यो !

कसैलाई बचाउन, कसैलाई छुटाउनका लागि बोलेको होइन । तथ्य त आउनु पर्‍यो । हो भने हो फाइनल गर्नुपर्‍यो तर सत्यतथ्य आउनु पर्‍यो ।

(बालकृष्ण खाँणलाई) निलम्बन गर्नुपर्छ भनेर केहीले कुरा उठाउनुभएको थियो । विचाराधीन मुद्दामा नछोऔं भन्ने थियो । विचाराधीन मुद्दामा कांग्रेसले कहिले पनि संसद भित्र, बाहिर कहीं पनि बोलेको छैन । हिजोका नजिरहरू पनि छन् । यो कांग्रेसभित्रको कुरा मात्रै होइन । अदालतमा मुद्दा विचाराधीन छ भने कुनै पनि मुद्दामा मौन बस्नुपर्दछ । त्यो स्वतन्त्र न्यायपालिकाको कुरा हो । यो कुरा कांग्रेसको आदर्श र सिद्धान्त पनि हो ।

कांग्रेसभित्र केही नेताले यो सरकारले पूर्वाग्रह राख्न थालेको भन्नुहुन्छ । तपाईंको पनि त्यस्तै आशय हो ?

सरकारले नै पूर्वाग्रह राख्यो त म भन्दिनँ, भन्न चाहन्नँ । सरकारको केही ढंग नपुग्या जस्तो लाग्छ ।

ढंग नपुगेको भनेर के भन्न खोज्नुभएको ?

नक्कली भुटानी शरणार्थी प्रकरण के हो त ? सरकार अहिलेसम्म बोल्न सकेको पनि छैन । अहिले त न्यायालयको कुरा भइसक्यो । जतिबेला थुनछेक भयो, सरकारले के गर्‍यो त ? यो विषयमा केही गर्न सकेन वा गरेन । सत्यतत्य के हो भनेर सरकारले बोल्नुपथ्र्यो नि ! त्यहाँभन्दा बढी म भन्न चाहन्नँ ।

भ्रष्टाचारका मुद्दामा सही तरिकाले सरकार चलेको छैन भन्ने तपाईंको बुझाइ हो ?

भ्रष्टाचारका विषय त सरकारले बाहिर ल्याउनुपर्दछ । अगाडि बढाउनु नै पर्छ । सरकारले वास्तविकता बाहिर भन्नुपर्छ ।

कतिपय व्यक्ति संलग्न नरहेको कुरा बाहिर पनि आएको छ । अपराधी नभएका व्यक्तिलाई राज्यले थुन्यो भने के हुन्छ ? आम जनताको विश्वास बढ्छ कि घट्छ ? सोचविचार गरेर मात्रै फाइल अघि बढाउनुपर्दछ । कसैले सामाजिक सञ्जालमा आरोप लगाएको आधारमा मात्रै राज्य एक्सनमा जाने हो भने नेपालमा कोही पनि मान्छे नरहन सक्छ ।

माओवादीका नेताहरू बचाउन खोजेको शंका पनि साथीहरू गर्छन् । बिहीबार मात्रै पनि साथीहरूले मसँग भन्दैथिए, ‘प्रत्येक दशकमा कांग्रेसका शीर्ष नेता माथि नै ठूलो आक्षेप किन लागिरहेको ? कांग्रेस सचेत र गम्भीर हुनुपर्छ ।’ यो के हो त ? कांग्रेसलाई फसाउन लागिएको हो कि भन्नेमा हामीलाई पनि आशंका छ ।

उपल्लो तह नै संलग्न भएकोले भ्रष्टाचारका प्रकरण निष्कर्षमा पुग्न नसकेको भन्ने पनि छ । तपाईंको बुझाइ के हो ?

त्यो थाहा भएन । सरकार अलि बढी पपुलिष्ट हुन थाल्यो भन्ने पनि छ । सबै त भन्न मिलेन, सरकारका केही व्यक्ति पपुलिष्ट हुन थाले । मैले गरें है भनेर देखाउन आडम्बरी कुरा बढी गर्न खोज्या हो कि भन्ने पनि छ ।

पपुलिष्ट हुन खोजेको भनेर गृहमन्त्रीलाई संकेत गर्नुभएको हो ?

गृहमन्त्री एक्लै त केही होइन होला । गृहमन्त्री एक्लैले केही गर्न सक्छ र ?

त्यसो भए प्रधानमन्त्री ?

त्यही संयन्त्र । थाहा पाएर हो कि नपाएर गरिरहनुभएकै छ । यो कामले आम जनतामा त्यस्तो ठूलो विश्वास बढेको छैन ।
सरकार डाइभर्ट भएको महसुस गरिरहेको छु । काम गरें भनेर फाइल खोल्नु त एउटा पक्ष हो । देश निर्माणका अरू कुराहरू खै त ? यसमा गम्भीरता खै ? युवाहरू झन् झन् विदेशिंदै छन् । उनीहरूको संरक्षण सुन समातेर भयो त ? सरकार सुन समात्नुलाई ठूलो काम भनिरहेको छ । यो त सरकारले निरन्तर गर्नुपर्ने प्रक्रियाकै एउटा काम हो ।

अरू कामलाई हामीले बिर्सेका छौं नि ! स्वास्थ्य र शिक्षा क्षेत्रमा के छ ? रोजगारी बढ्यो कि बढेन ? युवाहरूले के गरिरहेका छन् ? त्यसमा राज्यको ध्यान किन गएन ?

म सरकारमा छैन । हामीले सरकारलाई बाहिरबाट भनिरहेका छौं । सरकारमा हुनेहरू कतिपयले राम्रो गर्नुभएको पनि छ । स्वास्थ्य क्षेत्रमा केही सुधारहरू आएको महसुस गरेका छौं ।

अर्थतन्त्र कमजोर थियो । एक-दुई महिनामा मुलुक क्र्यास हुन्छ भन्थे । राष्ट्र नै असफल भएर जाने डर थियो । त्यो त्रासमा कमी आयो । गठबन्धनको सरकार छ । टीम स्पिरिटले काम भयो कि भएन मूल कुरा हो ।

अनलाइनखबरबाट

प्रतिक्रिया