विराटनगर,१४ साउन । मोरङ जिल्लामा डेंगु रोगको प्रभाव दिनप्रतिदिन वृद्धि हुदै गएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङ विराटनगरका अनुसार यस जिल्लामा गत असार १ गतेदेखि हालसम्म ८६५ जना डेंंगु ज्वरोको प्रभावबाट सर्वसाधारण सक्रमित भएका छन् ।
जिल्लामा अहिलेसम्म यो रोगवाट कसैको मृत्यु नभएको कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिनु भयो ।
मोरङको १७ पालिकाका मध्ये सातमा यो रोगको विरामीको सङख्या वृद्धि भएको छ ।
पथरीशनिश्चरे नगरपालिका ६५० जना यो रोगका विरामी फेला परेका छन् ।
यसैगरी लेटाङ, मिक्लाजुङ्ग,केरावारी,कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकाहरुमा यो रोगका विरामी देखा परेका छन् ।
कार्यालयका प्रमुख डा मेहताले यो रोग नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरि कार्य गरिरहेको जानकारी दिनु भयो ।
उहाँले डेंगु फैलाउने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान शुरु गर्नुका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरेको बताउनु भयो ।
कार्यालयले डेंगु सङक्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै उपचारको कार्यलाई तिव्रता दिएको छ।
प्रमुख डा मेहताले डेंगु रोग परीक्षणका लागि आवश्यक पर्ने रक्त किटहरु पालिकाको माग अनुसार पठाएको जानकारी दिदै किटको कुनै कमि नरहेको बताउनु भयो ।
विराटनगरस्थित कोशी अस्पतालमा अहिले तीन जना डेंगुका विरामीको उपचार भैरहेको छ ।
अस्पतालमा असार १ गतेदेखि आजसम्म १५ जना डेंगुका विरामी उपचारका लागि आएका मध्ये १२ जना उपचारपछि घर फर्केको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चन्द्र लाल झाले वताउनुभयो ।
यो रोगको मुख्य लक्षणहरु ज्वरो आउने , टाउको दुख्ने, पेट दुख्ने भएकाले अविलम्व चिकित्सकसँग सम्पर्क गर्नु पर्ने उहाँले सुझाव दिनु भयो ।
यो रोगबाट वच्नका लागि राति झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरी पानी जम्ने ठाउहरु सफा राख्ने, फुल वाहुला भएको लुगा लगाउने जस्ता सुरक्षा अपनाउनु पर्ने छ ।
यो लामखुटे विहानदेखी वेलुकासम्म वढि सक्रिय हुने भएकाले लामखुटेले लार्भा उत्पादन हुन सक्ने स्थानहरुमा मुख्यत पानी जम्ने स्थानहरु सफा राख्नु आवश्यक रहेको छ ।
प्रतिक्रिया