बाराना रोढ़ा र चाराना चामलमा नेपाली भाषा

कृष्ण प्रधान, भारत २०८० साउन १४ गते १५:०६ मा प्रकाशित

‘ढुङ्गा क्लास’ पढ़ेदेखि ‘कलेज’ पढ़िञ्जेल बुवाका साथीहरू ; बुवाभन्दा उमेरमा ठूला भए ‘बडा’, उमेरमा साना भए ‘काका’ अनि मुमाका साथीहरूलाई उमेर अनुसार ‘बड़ी’, ‘छेमा’. भन्थ्यौं हामी । त्यसरी नै पेशा अनुसार ‘ड्राइभर काका’. ‘ड्राइभरनी काकी’, छेमा, फुपू, माली काका, पुलिस बड़ा, काका, मामा इत्यादि । त्यसरी नै पसल काका, मिस्त्री काका, झाँक्री काका भनिन्थ्यो ।

पाठशाला पनि सर-गुरुमालाई सर, गुरुमा नै सम्बोधन गरिन्थ्यो । धेरभन्दा धेर हेड सर / हेड गुरुआमा, सेकेण्ड सर भनिन्थ्यो । अचेल ‘सर’ शब्द विद्यार्थीहरूका ओंठबाट उठीवास लागेर ‘म्याम’ शब्द फलाकेको मुनिन्छ ।

अचेल गाउँ-घर, शहर-बजारतिर काका, काकी, छेमा, फुपूको ठाउँमा अङ्कल, आण्टीको जगजगी देखिन्छ । घरभित्रै पनि मुमा, बुवा, माता, आमा हराएर ड्याड्, ड्याडी, पापा, मम्मी, मम्मा, ममकै ढलीमली देखिँदोछ ।

हामीले हाम्रो स्कूले जीवनमा नेपाली, हिसाब, विज्ञान, इतिहास, भूगोल पढ़्यौं । अचेल हाम्रा नानीहरू भर्नाकुलर, म्याथ्स्, ज्योग्राफी, हिस्ट्रीजस्ता डरलाग्दा सबजेक्टस् पढ़्छन् । हामी स्कूल जान्थ्यौं, उनीहरू ‘एक्जा’। हामी स्कूल भाग्थ्यौं, उनीहरू ‘बङ्क’ गर्छन् । हामी खाता-किताब च्यापेर वा झोलामा हालेर स्कूल पुग्थ्यौं, उनीहरू पिँठ्यूभरि ‘टेक्स्ट बुक’ बोकी बस चढ़्छन् ।

मनोभाव व्यक्त गर्ने सशक्त माध्यम हो भाषा । यद्यपि आफ्नो भाषाप्रति श्रद्धा सँगसँगै जिम्मेवारीको अभाव, भाषाज्ञानको अभाव, शिक्षा र रुचिको अभाव हामीमाझ छँदैछ ।

“नेपाली भाषा सिकर वा पढ़ेर के हुन्छ ?” भन्नेहरूको सङ्ख्या कम्ति छैन बजारमा । हाँसउठ्दो कुरो, नेपाली विषय पढ़ाउने स्नातोकोत्तर कतिपय शिक्षकहरूका मुखारविन्दबाट समेत यस्ता कुरा सुन्नमा आएको छ । हिजोआज अङ्ग्रेजी पठन-पाठनले बजार पिटेको छ । कथङ्कल निकट भविष्यमा महाविद्यालय तथा विश्वविद्यालय तहसम्म नेपाली पठन-पाठन बन्द गरिए यी नेपाली विषय पढ़ाउनेहरूको अवस्था कस्तो होला भन्ने प्रश्न तेर्सिनु अस्वाभाविक होइन।

भारतीय नेपाली साहित्यको राजधानी दार्जिलिङ । जहाँ बसेर रुपनारायण सिंह, डा. पारसमणि प्रधान, शिवकुमार राई, अगमसिंह गिरी, रामलाल अधिकारी, राजनारायण प्रधान आदिजस्ता भाषा-साहित्य-व्याकरणविद्हरूले साहित्यको घरेट बलियो पार्न तथा नेपाली भाषाको संरक्षण-संवर्द्धन ग्ने रगत पसिना फुर्मास गरे । नेपाली भाषाको उर्वर, झर्झराउँदो थलोमा बस्ने सिंहभाग नेपाली अभिभावकको मनोभाव तर त्यति आशालाग्दो देखिँदैन । कति अभिभावकको मुखबाट यस्तो वाक्य प्रक्षेपण भएको पनि सुनिन्छ – “मेरो नानीले ता नेपाली पढ्नै जान्दैन” वा “मेरो नानी ता जहिले पनि नेपालीमै फेल हुन्छ ।” यो भनाइमा दुःख मनाउ होइन गर्वबोध गर्छन् अभिभावकहरू । यस्ता गर्ववोधले थिचिएर एक दिन नेपाली भाषा स्मृतिको गर्भमा विलिन हुन बेर लाउँदैन ।

जीवन परिवर्तनशील छ । विज्ञान र तक्निकीको हाउगुजीले नयाँ-नयाँ कुराहरू दिन दुइगुणा रात चौगुणा सबैलाई ग्रसित पारसकेको कुरा कतै लुकेको छैन । भाषा पनि बाँचेको छैन । नेपाली भाषा मात्र होइन विश्वभरिका सम्पूर्ण मातृभाषामा दिनहुँ नया-नय़ाँ शब्दहरू संयोजन भइरहेछ । केही वर्ष अघिसम्म मोबाइल फोन, इण्टरनेटभन्ने शब्दहरूको नामोनिशान थिएन वा सुनिएको थिएऩ । मोबाइल, इण्टरनेटले घ-घरमा, मुख-मुखमा वास पाएपछि नेपालीमा ‘चलभाष’, ‘मुट्ठीभाष’ वा ‘अन्तरजाल’-नाउँले रड़ाँको मच्चाइरहेछ…कदर पनि उत्तिकै ।

त्यतिमात्र होइन, ‘मिसकल’, ‘कलब्याक’, ‘टेक्स्ट’. ‘इन बक्स’, ‘नेट स्लो’, ‘डिस्कनेक्ट’. ‘मिस कल अलर्ट’ आदि आदि शब्दहरू एङ्लो साहेबहरूले जस्तै नेपालीहरूका जिब्रामा टाँसिएको देखिन्छ ।

सधैँ प्रयोग गरिने हाम्रा ठेट, झर्रा शब्दहरू अब हामीले गुमाउन थालिसकेका छौं । चिट्ठीपत्र आदान-प्रदान गर्ने रिवाज वा चलन प्रायः निमिट्यान्नै भइसकेको छ । चिट्ठीपत्र सँगसँगै तिनमा प्रयोग गरिने कैयन् शब्दहरूसमेत पोली खाइसकेका छौं । आदरणीय, पूज्यनीय, सम्माननीय,श्रद्धेय, प्रियवर, हृद्येश्वरी, स्नेहीदेखि शुरु गरेर धन्यवाद, सधन्यवाद, इति शब्दहरू चिट्ठीपत्र सँगै पोइल गइसकेका छन् ।

‘चिट्ठी’ लेख्ने चलन प्रायः हराइसक्यो भन्दा कुनै टुटा नपर्ला । अचेल ‘मेल’ गरिन्छ, ‘म्यासेज’ पठाइन्छ । ‘लेटर’ पनि लेख्दा हुन् तर चिट्ठी ? नैव नैव च । खासै कुरा भनुँ भने, चिट्ठी लेख्ने ‘फाउण्टेन पेन’ ता छैन अचेल । खोई कलमको मसी राख्ने ‘मसीदानी’ ? ‘टेलिग्राफ’, ‘टेलिग्रा’, ‘मनि अर्डर’ कुन चराको नाम होला । अचेल ता ‘इन्सटाग्राम’, ‘ट्विटर’, ‘गुगल पे’, ‘अनलाइन पे’…बस्….कुरो सकिगो ।

तपाई मेरो भान्सा घरले ‘किचन’-को पगरी गुँथ्न सफल भएको छ । ‘चूल्हा’को ठाउँमा ‘ओभेन’ गजघम्म । ‘मासु’को ठाउमा ‘चिकन’, ‘मटन’, ‘पर्क’, ‘बफ’ अनि ‘बिफ’-को ढलीमली । सागसब्जी होइन ‘भेजिटेबल’ मिट्ठो । ‘झोल’, ‘रस’को मान बढ़ेर ‘ग्रेभी’-मा प्रमोशन । ‘आलुभाजी’ होइन ‘पोटेटो चिप्स’ वा ‘पोटेटो फ्रेञ्च फ्राई’ नै वेश । गाउँबस्तीकाहरू ‘भात’ खान्छन् ; हामी ‘रािस’ वा ‘स्टिम्ड राइस’ इञ्जोई गर्छौं । ‘भुटेको भात’, ‘गिलो रोटी’ होइन ‘फाइड राइस’ र ‘पिजा’ नै टेसिलो । केरा, दारिम, आँप, अम्बक, आइफल वा सेव, गाजर, बन्दकोपी, फूलकोपी, मूला, उखु, आलु, खोरसानी, तरबुजा चिन्दैनन् हाम्रा लाला-बालाहरूले । उनीहरू परै ता बनाना, पोमोग्रानेट, म्याङ्गो, गुवाभा, एप्पल, क्योरोट, काउली फ्लावर, कली फ्लावर, ऱ्याडिस्, सुगर केन, पोटेटो, चिल्ली, वाटर मेलन चिन्छन् ।

‘मकै’-को ठाउँमा ‘पपकर्ण’, ‘बेबीकर्ण’ स्वीटकर्ण’, ‘कर्ण फ्लेक्स’-को जगजगी ।’जौं’, खै को हो ता को’नि अचेल । ‘ओट्स्’-को पदरी गुँथेर ‘जौं’-कोक रौं खुइलिसकेको देखिन्छ ।

अचेल श्रीमतीहरू ‘बजार’ गर्दिनन्, ‘शपिङ’ जान्छन् । कोही कोही ता ‘मार्केटिङ’ धाउँछन् । ‘गाड़ी’ हुँदाहुँदै पनि हामी’ ‘कार’ चढ़्छौं । ‘हावाजहाज’ ता कहिल्यै बादलभित्र हराइसक्या छ । हाम्रो पालामा ‘एरोप्लेन’ चढ़्यौं हामी, हाम्रा छोराहरू ‘फ्लाइट’ नै रुचाउँछन् । ‘चलचित्र’ होइन ‘मुभी’ मनपराउँछन् ।

‘च्यादर’ ‘बेडकभार, ‘गम्छा’ वा ‘तौलिया’ ‘टावेल’, ‘रुमाल’ ‘ह्याङ्की’, ‘पङ्खा’ ‘फ्यान’, ‘बैठक कोठा’ ‘सिटिङ रुम’, ‘शौचालय’ ‘वासरुम’ वा ‘रेष्ट रुम’ ‘नुहाउने कोठा’ ‘बाथरुम’ भएर अङ्ग्रेजी शब्दहरू भँड़ारमा पसिसकेको देखिन्छ । कति शब्द ता लुप्त हुँदै, काँचुली फेर्दै तपाई-हाम्रा जिब्रामा झुण्डिरहेको देखिन्छ । जस्तो –

        लुप्तप्रायः शब्दहरू                      काँचुली फेरिएर देखा परेका शब्दहरू



          नमस्कार                                 हाय / हल्लो

        निःसन्देह                                 अब्भियसली

        सिनेमा / चलचित्र                      मुभी / फिल्म

        अभिनन्दन                               कङ्गाचुलेशन / कङ्ग्र्याटस / कङ्ग्राचु

        विदाइ                                       बाई

        फेरि भेट हुनेछ                           सी यू

        धत्तेरिका                                   ओशेट

        हे भगवान् !                              ओह गड !

        आम्बो !                                                ओ माई गड !

        लठुवा                                       इडियट

        डरलाग्दो                                  झक्कास् (हिन्दी)

        स्वतन्त्र, निष्फिक्री                   बिन्दास (हिन्दी)

        पुलिस                                       कोब्रा

अङ्ग्रेजी भाषा मात्रै किन ? हिन्दी भाषाले समेत हाम्रो जिब्रोलाई लट्याएको देखिन्छ । ‘सिङ्गाड़ा’ ‘समोसा’ भएको छ । ‘सिनेकेधूप’ ‘धूपकाँटी’, ‘अगरबत्ती’ भएर हाम्रो देवताको थानमा मगमग गन्हाउँछ । ‘फगुवा’ होइन हामी ‘होली’-को गोलीमा मस्त । ‘पछ्यौरी’ ‘चुन्नी’ ‘दोपट्टा’ भए पछि ‘मेहन्दी’ ‘हेना’ हुँदा के को ट्याइँ-ट्याइँ ?मुखमा नेपाली भाषा तथा संस्कृतिबारे नेपालीहरूले जतिसुकै ढोल-ढ्याङ्ग्रो बजाए पनि अर्को भाषाको होहोरीमा लागेर नेपाली भाषालाई नेङ्लिश (नेपाली+ईङ्गलिश), बङ्पाली (बङ्ला +नेपाली), हिङ्पाली (हिन्दी +नेपाली) पारिसकेका छन् ।

हाम्रो नेपाली भाषा ‘बिरियानी’ वा ‘फ्राइड राइस’ ता को’नि तर खिचड़ी चाहिँ पक्कै भएको छ । यसमा नाफा हुँदैछ कि टुटा पर्दैछ सोबारे खुट्याउनु गाह्रो छ । र यति चाहिँ स्वीकार्नुपर्छ, हाम्रो भाषाको अवस्था दिनदिनै साँच्चै सोंचनीय भएर गएको छ ।

यसबारेमा अहिल्यै नै ध्यान नदिए निकट भविष्यमा हाम्रो गर्विलो नेपाली भाषामा बारान रोढ़ा (ईङ्गलिश, बङ्ला, हिन्दी भाषाः) र चारान चामल (मूल नेपाली भाषा) रहनेछ ।

प्रतिक्रिया