को हो समाज?

इनेप्लिज २०८० असार २५ गते २२:०६ मा प्रकाशित

अम्बिका लोहनी


बाहिरबाट देख्दा सबै राम्रा, असल, गुणवान
महिला पुरुष सज्जनवृद महानुभाव।

उन र उनीमा भिन्नता देखाउने,
को रहेछ त्यो मुकुण्डोंधारी समाज ?

केही परिबन्ध पर्यो, लाज नभएकी भनि,
जहिले पनि उनीलाई मात्रै औलो उठाउने यो समाज ।

सामाजिक बहिस्कार नै गरे झै,
जीवन जीउन नै गाह्रो बनाउने यो समाज।

केही प्रगति उन्नति गर्यो ,
घर परिवार श्रीमान सज्जन भएर गर्न सकेकी भनी,
उनको क्षमतामा प्रश्न चिन्ह उठाउने यो समाज ।

उनको लाज कतै छैन, सबै सबै मर्दानंगले भरेको, मर्दले गर्न सके गर्छ,
लाज र इज्जतले त जन्मजातनै उनीको गहना रे,
उ पुरुष हो उसलाई जे गरे पनि छुट दिने यो समाज।

को हो समाज?
कतै तिमी, म, मेरो आफ्नै , तिम्रो आफ्नै ,

साथीभाई, आमाबुबा, दिदीबहिनी, दाजुभाई,
श्रीमान श्रीमती, नातागोता भन्ने नै त हैन समाज !

अझै बिशेष त उनी, तिनी, महिला तिमी नै त हैन समाज।
छोरा र छोरीमा भिन्नता गरी मेरो छोरो भनी भनी,
बढ़वा दिने आमाबुबा तपाईहरु नै त हैन समाज !!!


अम्बिका लोहनी
एटलांटा, जर्जिया
अमेरिका

प्रतिक्रिया