फेरी त्यो बालापन जिउन चाहन्छु

दिपेश पराजुली २०८० असार २४ गते ३:४३ मा प्रकाशित

कुनै बेला चन्द्रमा मेरो लुकामारी खेल्ने साथी थियो
चम्किला ताराहरुको स्थान हृदयमा धेरै माथी थियो
आकाशमा स्वछन्द उड्ने चराहरु सकेजति म गन्दथें
यो सकल सृष्टि आफ्नै लागि बनेको हो भनी म ठान्दथें
बादल अनि वर्षासंग मनको प्रगाढ नाता
वर्षायामको झरीमा ओढिएन कहिल्यै छाता
हर कृत्य स्वाभाविक हुन्थ्यो जब थोरै थियो तिर्सना
त्यसैले त कति सजिलो हुन्थ्यो आफैलाई बिर्सन
एक पटक फेरी बालक बनेर समयलाई नकार्न चाहन्छु
आफ्ना अतृप्त आकांक्षाहरुलाई सकार्न चाहन्छु
फेरी त्यो बालापन जिउन चाहन्छु !

दिनभर चौरमा कुदाकुद गरेर
रातमा निस्फिक्री निदाउन चाहन्छु
कागजको प्लेन भित्तामा ठोक्काएर
निस्काम भावमा रमाउन चाहन्छु
गोजीका गुच्चाहरु अझै कतै छयांगछयांग गर्छन
स्कुलका घन्टीहरु अझै कानमा ट्याङ्गट्याङ्ग बज्छन
कति प्रफुल्ल हुन्थ्यो मन जब कुनै शिक्षक गयल हुन्थे
म जस्ता उदिग्न बिद्धार्थी अनि बाटोमा छोडेका बयल हुन्थे
फेरी त्यो पुरानो गल्लीमा साइकल गुडाउन मन छ
फेरी त्यो चारकुने चंगालाई आकाशमा उडाउन मन छ
श्यामस्वेत टेलीविजनमा फेरी पुरानै रामायण हेर्न चाहन्छु
साँझमा पुरानो रेडियो ठोक्दै “बाल कार्यक्रम” सुन्न चाहन्छु
दिनभरिको हिँडाइले शरीर थाकेर सुस्त हुदाँ
उकालो बाटोमा तिर्खाले घाँटी शुष्क हुदाँ
फेरी त्यो मुहानको चिसो पानी पिउन चाहन्छु
फेरी त्यो बालापन जिउन चाहन्छु !

आज चालीसौं बसन्तको यो संघारमा
आवरण अर्कै तर अतृप्तिको अंगारमा
फुल्न लागेको केश सुम्सुमाउदैं
पुटृ लागेको पेट थम्थमाउदैं
आफूलाई फेरी बालापनको बगैँचामा झुलाउन चाहन्छु
बिर्सिएर सबै कुरा आफैंलाई आज भुलाउन चाहन्छु
मरुभूमिको मृगतृष्णामा म आज धेरै थाकें
जीवनको सहजतालाइ अभिमानले धेरै ढाकें
अब यो द्रब्यको दौडबाट म उम्कन चाहन्छु
क्षणिक नै सहि तर बिजुली झैँ चम्कन चाहन्छु
कतै ईश्वर छन् भने म उनलाई पनि झुक्याउन चाहन्छु
आफूभित्रको अहंकारको चट्टान अब टुक्राउन चाहन्छु
समयचक्रले च्यातेको मन अब सिउन चाहन्छु
जीवनको अमृतरस सतत पिउन चाहन्छु
फेरी त्यो बालापन जिउन चाहन्छु !
फेरी त्यो बालापन जिउन चाहन्छु !!

दिपेश पराजुली

प्रतिक्रिया