कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले दिनु पर्दैन : देवेन्द्र पौडेल (सचिव ), माओबादी केन्द्र (अन्तर्वार्ता)

इनेप्लिज २०८० असार २१ गते २:०१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगाडि विवादित अभिव्यक्ति दिने र पछि सच्याउने नेतामध्ये पर्छन् । फेरि पनि एकपटक यस्तै भएको छ ।

गत असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ७ दशकअघि भारतको जम्मूबाट नेपाल आएर बसोबास गरिरहेका सरदार प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत धाएको अभिव्यक्ति दिए । यसपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले यसै विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिरहेको छ ।

बुधबार दिउँसो ३ बजे बस्ने भनिएको संसद् बैठक एमालेकै अवरोधका कारण बस्न सकेन । त्यसपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक बिहीबार १ बजेसम्म स्थगित हुने भएको छ । संसद् बैठक बस्नुअगावै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउन प्रयत्न गरे, सकेनन् । एमालेले सुनेन ।

आजमात्रै काठमाडौंमै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो उक्त विवादित अभिव्यक्ति आफ्नो नभइ स्वयम् सरदार प्रीतम सिंहकै किताबको अंश भएको बताए । तर, त्यसैबेला एमालेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने दलगत निर्णय गरिसकेको थियो ।

त्यसपछि संसद् छिरेका एमाले सांसदहरूले प्रधानमन्त्री प्रचण्डको राजीनामा नदिएसम्म संसद् नै चल्न नदिने अड्डी कसे । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नै भने, “प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा आउनुपर्छ । राजीनामा नआइन्जेल संसद् चल्दैन ।”

यही सन्दर्भमा सांसदसमेत रहेका प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलसँग कुराकानी गरेको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कसेको छ, यसमाथि तपाईंको टिप्पणी के छ ?

टिप्पणी केही छैन । यो हुन नसक्ने कुरा हो । हुनु हुँदैन ।

तर, एमालेले त राजीनामा नै चाहिन्छ भनेको छ नि ? के सरकार संसद् नखुलाइ बस्छ ?

बहुमत सांसदहरूले निर्वाचित गरेको प्रधानमन्त्री हुनुहुन्छ उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) । बहुमत सांसदहरूले निर्वाचित गरेको प्रधानमन्त्रीले कोही-कसैले ‘राजीनामा दे’ भन्दैमा दिइहाल्नुपर्छ भन्ने हुँदैन । दिनु हुँदैन, दिनु पर्दैन । अवरोध कायम राख्ने भन्ने कुरा ठिक होइन ।

उसोभए अब कसरी टुङ्गिन्छ यो विवाद ? कसरी मनाउनुहुन्छ प्रमुख प्रतिपक्षीलाई ?

संवादको माध्यमबाट विवाद टुङ्ग्याउँछौँ । अहिले पनि छलफलमै छौँ । यो छलफललाई जारी राख्छौँ । छलफलकै माध्यमबाट निकास निस्किन्छ, निकाल्छौँ । यहीँबाट विषय टुङ्गिन्छ । थप दाँयाबाँया हुँदैन ।

प्रमुख प्रतिपक्षी मान्छ त ? संवादकै माध्यमबाट विवाद टुङ्गिन्छ त ?

मान्छ, मान्नुपर्छ । हामीले संवादकै माध्यमबाट विवाद टुङ्ग्याउने हो ।

कसरी भन्न सक्नुहुन्छ तपाईं ?

सबै विषयहरू टुङ्गिने संवाद र वार्ताबाटै हो । सरकारले विपक्षी दलसँग संवाद गर्छ । चरण-चरणमा संवाद गर्छौँ, वार्ता गर्छौँ । विषय संवादबाटै टुङ्गिन्छ । शङ्का गर्नै पर्दैन ।

प्रधानमन्त्रीज्यूले पनि नबोल्नुपर्ने कुरा बोल्नुभयो जस्तो चाहिँ भएको छैन तपाईंहरूलाई ?

होइन, विषय प्रसङ्गले कहिलेकाहिँ बोल्नुपर्ने कुरा पनि बोलिन्छ, नबोल्नुपर्ने कुरा पनि बोलिन्छ । तर, यो सामान्य विषय हो । यसलाई अनावश्यकरूपमा ठूलो बनाउने प्रयत्न गरियो, ववण्डर मच्चाउने काम गरियो । यो ठिक होइन ।

नेपाल भ्यूजबाट

प्रतिक्रिया