अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम २०२३ सम्पन्न

इनेप्लिज २०८० असार १७ गते २०:५७ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्य स्थित मनासस शहरमा क्रियाशील नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (ANHS) एवं अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) ले बार्षिक रुपमा आयोजना गर्दै आएको वनभोज कार्यक्रम जुन २५, २०२३ आइतबारको दिन सम्पन्न भएको छ ।

भर्जिनियाको पर्यटकीय स्थल मार्सलस्थित Northern Fauquier Community Park मा आयोजना गरिएको वनभोज कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने करिब ४ सय भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो । वनभोज कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि संस्थाका उपाध्यक्ष प्रकाश सुवेदीको संयोजकत्वमा वनभोज व्यवस्थापन समिति निर्माण गरिएको थियो । समितिले एक महिना अघिदेखि वनभोजको लागि आवश्यक तयारीहरु गर्दै आएको थियो । संस्थाका अध्यक्ष जानु ओझाको निर्देशन एवं पूर्व अध्यक्षहरु लगायत सल्लाहकारहरुको सुझाव तथा संस्थाका सदस्यहरु, व्यवस्थापन समितिका सदस्यहरुको निरन्तरको प्रयासअनुसार वनभोज कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सकिएको वनभोज व्यवस्थापन समिति संयोजक एवं कार्यसमितिका उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) मा अध्ययनरत बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्नको लागि शिक्षा सदनका संयोजक भूपाल पौडेलको संयोजन तथा सदनका शिक्षक/शिक्षिकाहरुको सहयोगमा विभिन्न रमाइला खेलकुदका कार्यक्रमहरुपनि आयोजना गरिएको थियो । जस अनुसार ४ बर्षदेखि ६ बर्ष उमेर समूहका बालबालिकाहरुको लागि बेलुन फुलाउने खेल, ७ बर्षदेखि १० बर्षसम्मको लागि बेलुन फुटाउने खेल, १० बर्षदेखि १२ बर्ष उमेर समूहको लागि Target Hitting Game र १३ बर्षदेखि १५ बर्षसम्मको उमेर समूहकालागि Quick Word Puzzle Game को आयोजना गरिएको थियो । यि खेलहरुमा शिक्षा सदनमा अध्ययनरत बालबालिका लगायत अन्य बालबालिकाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । खेलकुदमा सहभागी हुन पाउँदा बालबालिकाहरु निकै उत्साहित भएका थिए । बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप विभिन्न उमेर समूहका खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

अमेरिका नेपाल शिक्षा सदनमा अध्ययन गर्ने बालबालिका, शिक्षक एवं शिक्षिकाहरु, १० बर्षभन्दा कम उमेर समूहका बालबालिकाहरु तथा ६५ बर्षभन्दा माथि उमेर समूहका अभिभावकहरुलाई निःशूल्क रुपमा वनभोजमा सहभागी गराईएको थियो ।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न नेपाली परिकारहरुका साथै सामुहिक नाचगान गरि रमाइलो गरिएको थियो । संस्थाका हरेक कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आउनुभएका राम खत्री, मुकेश केसी, मौशम श्रेष्ठ, यज्ञ चापागाई लगायतले विभिन्न स्वादिष्ट परिकारहरु तयार गर्नुभएको थियो । वहाँहरुलाई संस्थामा आवद्ध अन्य सदस्यहरुले पनि साथ दिनुभएको थियो ।

सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले यस क्षेत्रमा बार्षिक तालिका बनाएरै साना तथा ठूला रचनात्मक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्ने गर्दछ । संस्थामा आवद्ध सदस्यहरुको सकृय सहभागितामा जुनसुकै कार्यक्रमहरु पनि भव्य एवं सभ्य रुपमा सम्पन्न हुने गरेको अध्यक्ष जानु ओझाले बताउनुभयो । वहाँले संस्थाले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । संस्थाले सन् २०१६ देखि नेपाली भाषा, कला, संस्कृति र परम्पराको बारेमा जानकारी गराउनको लागि अमेरिकामा जन्मिएर हुर्किरहेका नेपालीभाषी बालबालिकाहरुको लागि नेपाली पाठशाला अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) पनि सञ्चालन गर्दै आएको छ ।

वनभोज कार्यक्रमकै अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले संस्थाको साधारण तथा आजिवन सदस्यता ग्रहण गर्नुभएको थियो । संस्थामा आवद्ध हुनुभएका सदस्यहरुलाई संस्थाका संस्थापक अध्यक्ष सागर कँडेल, पूर्व अध्यक्षहरु पदमराज रेग्मी, केदारप्रसाद तिम्सिना, कमल भट्टराई समेतको उपस्थितीमा सल्लाहकार एवं पूर्व संरक्षक मधु पन्थी, सल्लाहकार एवं पूर्व अध्यक्ष कमला खरेल तथा वर्तमान अध्यक्ष जानु ओझाले संस्थाको लोगो अंकित ब्याच प्रदान गरि स्वागत गर्नुभएको थियो । हाल अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्नुहुने संस्थाका संस्थापक अध्यक्ष सागर कँडेलको विशेष आतिथ्यतामा वनभोज कार्यक्रम सम्पन्न भएको थियो । वहाँ वनभोज कार्यक्रमकै लागि भर्जिनिया आउनुभएको थियो।

-विष्णु न्यौपाने/भूपाल पौडेल

प्रतिक्रिया