नेपाल–अमेरिका चलचित्र महोत्सवमा ‘राधा’लाई उत्कृष्ट पुरस्कार

इनेप्लिज २०८० असार ११ गते २३:३९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्डमा प्रदर्शित भएको सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘द सेक्रेटस् अफ राधा’ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्रको पुरस्कार पाएको छ । मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटर(चलचित्र मन्दिर )मा चार दिनसम्म संचालन भएको महोत्सवमा ‘राधा’ले उत्कृष्ट पुरस्कारजितेको हो ।

महोत्सवका निर्णायक अमेरिकाका निना स्टाइक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ ओटा चलचित्र मध्येबाट ती चलचित्र पुरस्कारका लागि छनौट गरेका थिए ।

महोत्सवमा आफ्नो चलचित्र ‘द सेक्रेट अफ राधा’ले उत्कृष्ट चलचित्र पुरस्कार प्राप्त गरेपछि निर्देशक सुवर्ण थापले भने, ‘चलचित्र मानवीय संवेदनालाई प्रस्तुत गर्ने माध्यम हो । यो चलचित्रमार्फत राधालाई नेपाली समाजको प्रतिनिधिपात्रका रुपमा प्रस्तुत गरिएको छ । महोत्सवमा राधाले उत्कृष्टपुरस्कार पाउँदा खुशी लागेको छ ।’

नेपाल अमेरिका चलचित्र समाजका अध्यक्ष पूर्ण सिंह बराइलीले महोत्सवले नेपाली समाज, सभ्यता र संस्कृतिलाई संसारभरिनै पु¥याउन सहयोग गरिरहेको बताए । महोत्सवका निर्देशक युवाकार राज राजकर्णिकारले यो वर्षको चलचित्र महत्सव सफलतापूवर्क सम्पन्न गर्न सहयोग गर्ने चलचित्रकर्मी, निर्माता, महोत्सवका निर्णायक मण्डल र सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।

आयोजक संस्थाका सहसंस्थापक किरण पौडेलले समापनमा बोल्दै चलचिका क्षेत्रमा संस्था नै निर्माण गरेर निरन्तर चलचित्र महोत्सव गर्ने काम नभएको अवस्थामा नेपाल अमेरिका चलचित्र समाजले चुनौती नै लिएर यो महोत्सव आयोजना गरेको बताए ।

द सेक्रेट अफ राधा” नारीका संम्वेदनाहरूलाई केन्द्र बिन्दुमा राखेर निर्देशक सुवर्ण थापाद्धारा निर्देशन तथा निर्माण गरिएको चलचित्र हो।

एक गर्भवती महिलाले आफ्नो बेपत्ता भएको श्रीमानको खोजी गर्ने गरेको संघर्षको कथालाई चलचित्रले मुख्य कथा बस्तु बनाएको छ। यस चलचित्रको मुख्य पात्र राधाले जस्तै हजारौ हजार हाम्रा दिदिबहिनीहरूले पनि यस्तो समस्या दिनहॅु हाम्रो समाजमा भोग्दै आएका छन्।बर्तमान समयमा नेपाली समाजमा घटिआएका र हाम्रो समाजले भोगी आएको कथा बस्तुलाई लिएर यो चलचित्र निर्माण भएको छ। तसर्थ यो चलचित्र एक सामाजिक चलचित्र बन्न सफल भएको छ।

राधा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा ख्याति कमाएको चलचित्र हो।यो चलचित्र फ्रान्सको चर्चित “ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलमा” ७ बिधामा मनोनयन परेको थियो। जसमा उत्कृष्ट कलाकार ,निर्देशक र चलचित्र गरि तीन बिधामा पुरस्कार जितेको चलचित्र हो। त्यस्तै यो चलचित्र नेपालको नेफ्टा अवार्ड(पुरस्कार)मा पनि १० विधामा मनोनयनमा परेको चलचित्र हो।

प्रतिक्रिया