समता ग्लोबल सिनेटको साधारणसभा शिकागोमा सम्पन्न: संजेलको मिथ्या आरोपप्रति सर्वत्र खेद प्रकट

स्कूललाई मदत गर्न सिनेट हरदम तयार। रकम हस्तान्तरणमा नियम, नियत, र अनुपालन (compliance) बाधक। सिनेटको तर्फबाट मदतको लागी निरन्तर प्रयास भैरहेको जानकारी।

इनेप्लिज २०८० असार ५ गते २३:२४ मा प्रकाशित

नेपाली अमेरिकन सेन्टरको आतिथ्यमा गत आइतबार शिकागोमा भएको समता ग्लोबल सिनेटको साधारणसभा तथा पुरस्कार वितरण समारोहमा सिनेटका पदाधिकारीहरु गम्भीर मुद्रामा प्रस्तुत भएका थिए। उनीहरुले दुई महीना अघि नै सिनेटको बार्षिक साधारण सभा बोलाएका हुन। नेपालमा धेरै भन्दा धेरै रकम पठाउन र शिक्षामा निरन्तर रूपान्तरणकारी प्रभाव ल्याउन अनवरत लागीरहेका भएपनि अकस्मात सतहमा आएको पछिल्लो संजाल-संवेग प्रवाहबाट सबैजना दिक्क देखिन्थे।

गत हप्ता संजालमा संजेलको भडासपूर्ण अभिव्यक्ति पोखिएपछि मन अमिलो बनाएर यस साधारणसभामा उपस्थित सिनेटरहरु, अतिथिहरु र शुभेच्छुकहरुका ऑँखामा प्रश्नवाचक चिन्ह देखिन्थ्यो। अध्यक्ष गौलीले ती अभिव्यक्तिहरु प्रति संजेललाई आम माफ़ी दिन आग्रह गर्दै भने – हामी यस्ता नियोजित संचार करामत (मीडिया स्टंट)बाट विचलित हुनुहुंदैन।

समता स्कूल(बिद्यालय)लाइ मदत गर्न सिनेट हरदम तयार रहेको जनाइएको छ। अहिलेसम्म आधिकारिक रुपमा प्रस्तावसहित माँग भएको रकम पठाइसकिएको छ। हाल कुनै निश्चित रकमको माग प्राप्त हुनआएको पनि छैन। प्रस्ताव वा रिपोर्ट लेखनमा समस्या भए सघाउनको लागी समेत सिनेट तयार रहेको पत्रको पनि बिद्यालयले कुनै जवाफ दिएको छैन।

कार्यक्रम पुरस्कार वितरण समारोहबाट शुरु गरियो। रकम दिनेलाई रसीद उपलब्ध गराइएको भएपनि स्वेच्छाले समय दिएकालाई सम्मान दिने परम्पराको शुरुवात गर्दै समता ग्लोबल सिनेटकी सदस्यता निर्देशक (मेम्बरसिप डाइरेक्टर )सराना श्रेष्ठ पराजुलीले पुरस्कार वितरण कार्यक्रम संचालन गरिन। नेपाली सिनेजगतमा चर्चित नायिका र हाल अनेसास मेरिल्याण्डकी अध्यक्ष पूजा चन्दको प्रमुख आतिथ्यमा भएको छोटो पुरस्कार समारोहमा पूजा चन्दकै कवितावाचनले रौनक थपिदिएको थियो।

गतबर्ष सिनेटको आयोजनामा आयोजित कार्यक्रममा संजेल एक अतिथिको रुपमा आमन्त्रित थिए। सिनेटका अध्यक्ष गौलीका अनुसार उनलाई सात हज़ार डलर सहयोग गर्ने सहमति भएको थियो।

“उहॉंलाई अमेरिका निमन्त्रण गर्दा मैले पटक पटक उहॉंको के अपेक्षा “एक्सपेक्टेशन” छ भनेर सोधेको हुँ,” अध्यक्ष गौली भन्छन । “उहॉंले एक हज़ार देखि सात हज़ार डलर जति दिनु भए पनि भैहाल्छ भन्नु भएको हो। तर हामीले सात हज़ार डलर नघटाईदिने बचन दिएर बोलाएका हौं।”

सहयोगी संस्थालाई धन्यवाद दिनुपर्नेमा उल्टो यसप्रकार आरोप लगाउनु कृतघ्नताको पराकाष्ठा हो, एक सदस्यले नाम नखुलाउने शर्तमा भने।

सिनेटको हिसाब दुरुस्त छ

साधारण सभामा सिनेटका कोषाध्यक्ष कुमार डॉंगी, सदस्यता निर्देशक सराना श्रेष्ठ, र सचीव कैलाश डॉंगीले आफ्नो प्रतिवेदन प्रस्तुत गरे। २०५ जना सिनेटर र २३ वटा संस्थागत सदस्य रहेको सिनेटले सिनेटर वापतको जीवन सदस्यताको शुल्कको रकम ट्रस्टमा राखेको छ। कहिल्यै नमासिने र इतिहासमा नाम लेखाउने गरी स्थापित यो ट्रस्टको रक़म समता ग्लोबल सिनेटले आफुखुशी परिचालन गर्न सक्दैन । यसको परिचालन गर्न समिति (बोर्ड)ले अनुमोदन गर्नुपर्छ। जसरी बजेट पास नभई सरकारले रकम खर्च गर्न पाउंदैन, त्यस्तै हो।

गत नोभेम्बरमा भएका कार्यक्रमबाट खर्च कटाएर बचेको २९,२४५ डलर समता बिद्यालय (स्कूल)लाई दिइसकेको सिनेटले देखाएको छ।

साधारण सभामा हिसावकितावको दुरुस्तताको प्रशंसा गरियो। स्वतंत्र वित्त निर्देशक जितेन्द्र रानाले आफूले नाफानोक्सानका हरहिसाब तयार गर्न सहयोग गरेको र कम्पाइल (संग्रह )गरिदिएको जानकारी गराए।

सिनेटको तर्फबाट हरहिसाब दूधको दुध पानीको पानी छुट्याउने इमान्दार प्रयास देखियो।

संजेलले किन झूट बोले त?

शुरुमा ७,००० डलर पाउने सहमतिमा आएका संजेलले २९,००० बढी रकम पाएर पनि किन “एक रुपैया पाइन् ” भन्दै संजालमा आक्रोश पोखे होलान त? यो एक आश्चर्यको विषय नै रह्यो तर उनि कोहीबाट परिचालित भएको हुनसक्ने कुरा समता ग्लोबल सिनेटका अध्यक्ष गौलीले लख (अनुमान )काटेका छन। आर्थिक हिनामिनाको आरोप भने पूर्ण असत्य, आधारहीन र कपोलकल्पित भएको ठहर भएको छ।

संजेलको आरोपका कारण अमेरिकामा बस्ने र बिश्व भर यत्रतत्र छरिएर रहेका नेपाली समुदायले यस विषयलाई विशेष चासो लिएको हुनाले ईनेप्लिजले सभा स्थलबाटै सीधा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको थियो। प्रसारण सबैले हेर्न, सुन्न, र यथार्थता थाहा पाउन भन्ने उद्धेश्यले इनेप्लिजका संचालक बिजय थापाले सबैलाई खुला गरेका थिए । थापाको अनुरोधमा सिनेटको बन्दसत्र समेत प्रत्यक्ष प्रसारण गर्ने अनुमति अध्यक्ष गौलीले दिएका थिए। “हुन्छ, हामीलाई लुकाउनुपर्ने कुरा केहि छैन,” उनले भने।

जुम मार्फत समता ग्लोबल सिनेट लगायत समुदायका अगुवाहरुले समेत संजेलको आरोप बिरुद्ध दुख पोख्दै उनको नियत प्रति शंका उपशंका गरेका छन् । र उनको आरोप प्रति खेद प्रकट समेत गरेका छन् ।

बार्षिक सभामा आधिकारिक रुपमा पदाधिकारीहरुले संजेलप्रति पनि सहानुभूति प्रकट गरेका थिए। तर केहि सिनेटरहरुले भने यस्तो संगीन आरोपको खण्डन गर्दै उनले संजालमा छरेको नकारात्मकताको भर्त्सना गरेका छन् । केहि सदस्यहरुले भने संजेल प्रति आक्रोस पनि पोखेका थिए।

गत बर्ष जुन ३० मा एक ग्लोबल च्यारिटि फण्डको रुपमा स्थापना भएको समता ग्लोबल सिनेटले संस्था स्थापनाको एक बर्ष पुग्नै लाग्दा यो पहिलो बार्षिक साधारण सभाको आयोजना गरेको हो। विगत दुई महिनादेखि सिनेटका हरेक सदस्यलाई निमन्त्रण गर्न पदाधिकारीहरुले प्रयास गरेका थिए। सिनेटको संजालस्थल (वेभसाइट)मा सिनेटरहरुको विवरण र आम्दानी-खर्चको विवरण अद्यावधिक गरिएको छ।

साधारण सभामा मुख्य दुई वटा कुराहरु महत्वपूर्ण रुपमा उठाईएको छ । सन् २०२२ मा संजेललाई दिइएको २९ हजार डलरको रिपोर्ट (प्रतिवेदन ) बारम्बार संजेललाई महासचिवले पत्राचार गर्दा समेत अनूत्तरदायी भएको सभामा महासचिवले जानकारी गराए । उनलाई पटक पटक २९ हजार डलरको प्रतिवेदन माग्दा आलटाल गरेको र प्रतिवेदन अहिले सम्म बुझाएका छैनन भनि महासचिवले बताए । कोषाध्यक्षले पनि हिसावकिताव सार्वजनिक रुपमा मै प्रस्तुत गरे र कुनै पनि रकम हिनामिना नभएको जानकारी गराए ।

अमेरिकी कानुन अनुसार अब २०२३ को लागि रकम माग्दा प्रस्ताव (प्रोपोसल) पेश गरे पछि समता बिद्यालयलाई पठाउने व्यवस्था गरिनेछ। तर नेपालबाट पटक पटक रकम माग्ने तर कुनैपनि प्रस्ताव वा इस्टिमेट(लेखाजोखा) नपठाइएको हुंदा बार्षिक साधारण सभामा रकम माँग गर्ने आधार समेत नभएको कुराले आफुलाई दिक़्क़ लागेको कोषाध्यक्षले बताए।

साधारण सभाको शुरुवातमा बोलेका विषयविज्ञहरुले “कम्प्लायन्स” अर्थात् अनुपालन कुनैपनि हालतमा उल्लंघन गर्न नहुने सुझाव दिएका छन। गत बर्षको प्रतिवेदन (रिपोर्ट) अनिवार्य माँग गर्नुपर्छ र आगामी बर्षको लागी रकम माँग गर्दा प्रस्ताव पठाउनुपर्ने विषय आधारभूत हुने कुरामा सबै विज्ञहरुले विशेष जोड दिएका हुन।

रकम संयोजकबाटै जोगाउनुपर्दा कठोर हुनुपऱ्यो

संजेलले अमेरिकामा रकम बुझ्दा भर्पाई दिन नमानेको प्रसंग उल्लेख गर्दै गौलीले भने, हामीलाई नियमानुसार काम गर्न निकै गाह्रो परेको थियो। यो सिनेटरहरुको नासो हामीले मुस्किलले जोगाएका हौं – अध्यक्ष गौलीले थपे।

संजेलले बिना भर्पाई रकम लिन मन पराउँछन भन्ने कुरा बुझेपछि नेयूयोर्कका संयोजकले सिनेटको खातामा राख्नुपर्ने केहि रकम सोझै उनको खल्तीमा राखिदिए र उनलाई सिनेटको व्यवस्थापन विरुद्ध भड्काए। सिनेटका जिम्मेवार पदाधिकारीहरुसंग सम्पर्क विच्छेद गराए। भर्पाई लिएर रकम दिने र भर्पाई नलिएर रकम दिनेहरु दुईपक्ष भयो। संजेलले दोश्रो बाटो रोजे।

न्यूयोर्क शहरका कार्यक्रम संयोजकबाट धेरै नै असहयोग भएकोले “कठोर निर्णय” लिनुपरेको गौलीले बताए – “त्यो मेरो ज़िन्दगी कै कठीन निर्णय थियो।” तर सिनेटरहरुको विश्वास, संस्थाको साख, लगायत महजोडीको इज़्ज़त समेत खतरामा पर्नसक्ने देखेपछि सिनेटको संचालक समिति (बोर्ड)ले ती पदाधिकारीलाई बिदा गर्नुपरेको बाध्यात्मक परिस्थितिको खुलासा गरे।

एक दुई कार्यक्रमको हिसाब अझैपनि फरफारक नभईसकेको अवस्था पनि संजालस्थल (वेवसाइट)मा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनले देखाएको छ। यो रकम जिम्मेवारीका साथ सुरक्षित जम्मा गर्न र हिसाब दुरुस्त पार्न निकै मिहिनेत गरेनुपरेको कुरा कोषाध्यक्षले पनि बताए। सिनेटरहरुको विश्वास जोगाउने क्रममा एउटा संचालक समिति सदस्य (बोर्ड मेम्बर)लाई नै हटाउने कठोर निर्णयमा पुग्नुपरेको रहेछ।

भावनात्मक रुपमा शिक्षासंग जोडिएर सहि काम गर्नेहरु चोर देखाइए। आफ्नो सदस्यता शुल्क नै नतिर्ने तर ठूला कुरा गर्नेहरुले मिडीया स्टंट गरेर आफूहरु यो सबै सुकर्मको पगरी आफ्नो टाउकोमा पहिरिन तम्सिए।

पैसा नतिरेरै सिनेटर बने, बिद्यालयमा गएर भाषण दिए। शुल्क माग्दा “भैहाल्छ” नि भने। आफुले कहिल्यै रकम नतिर्ने तर अरुसंग मात्र माग्ने कार्यले हामी धेरै टाढा पुग्दैनौं भनेर गौलीले सदस्यता शुल्क पहिला बुझाउन ताकेता लगाए।

तीन सय सिनेटर म एक्लै बनाइदिन्छु भनेर स्कूलमा गएर भाषण गर्ने “दाजु” पछि आफ्नो घरका तीन जना सिनेटर बापतको रकम बुझाइदिनु भनेर मदत माग्दा रोइलो गरे। एउटा प्रतिष्ठान (फ़ाउंडेशन)को नामबाट चेक(धनादेश) दिए। उनका एक नजिकका पात्रले आज दाजु बहुत दुखी हुनुभएको छ। भाषण दिने रकम नदिने हो भने म नाम हटाउँछु भनेर गौलीले अडान लिएपछि रकम बुझाएको दिन उनीहरु अत्यन्तै दुखी भएका थिए।

उनीहरु पैसा नतिरेरै सिनेटर बन्न चाहन्थे। यसो नगरौं। यो अनैतिक हुन्छ भनेर मैले भनीरहें। मानेनन ज़बरदस्ती तोरण (फ्लायर )बनाएर फेस्बुक(सामाजिक संजाल )मा हालिहाले। मेरो क्यै लागेन।

“हामीलाई संरक्षकहरुले एउटा निर्देशन दिनुभएको थियो। कुनैपनि स्थानीय संस्थालाई आयोजक नबनाउनुहोला। मैले सबै संयोजकहरुलाई यो कुरा कडाइका साथ पालन गर्न निर्देशन दिएको थिएँ तर संयोजकले एक स्थानीय पारिवारिक संस्थालाई नै आयोजक भनेर लेखेको तोरण (ब्यानर )टॉंगेर हामीलाई आश्चर्य “सरप्राइज़” दिए। संरक्षकहरुसंग बसेर तयार गरेको मार्गनिर्देशन (गाइडलाइन) कता मिल्काइएछ। म छॉंगाबाट खसेजस्तै भएँ। संरक्षकहरुले पिर नगर्न र अगाडिका कार्यक्रमहरुमा ध्यान दिन भन्नुभयो।

सिनेटरकै रकममाथि दाबी

“शंकर भण्डारी न्यूयोर्क राज्यका पहिलो सिनेटर हुनुहुन्छ। सिनेटर शंकर भण्डारीलाई थाहा नहुन पनि सक्छ तर उहाँको सिनेटरसिपको रकम अर्कै झिल्केले मेरो हो भनेर दावी गरेका थिए, तर प्रमाण बमोजिम त्यो रकम सिनेटर शंकर भण्डारीको नै हो भन्ने पुस्टि हुन आएपछि ती झिल्केले अर्का सिनेटर (विष्णु रानामगर) को रकम चाहिं मेरो हो भन्न भ्याए। त्यो पनि पुस्टि नभएपछि उनले अर्को सिनेटरको नाम सीधै काटेर आफु न्यूयोर्कको पहिलो सिनेटर भएको भन्दै मकै हाउस मिडिया स्टन्ट (संचार करामत् ) गरे। हामीलाई यस्ता मिडिया स्टन्ट(संचार करामत )मा दिलचस्पी छैन – गौलीले सामाजिक संजालमा राखेको एक टिप्पणी हो यो। ती झिल्केको नाम नबताउने निर्णय गरेको रहेछ बोर्डको बैठकले। तर बहुजन हितायको लागी त्यस्ता व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने सुझाब ईनेप्लिजले दिएको हो।

ग्लोबल सिनेटका सिनेटरहरुको रकम ट्रस्ट फ़ण्ड(गुठी कोष )मा जान्छ भने संजेललाई पहिल्यै देखि थाहा थियो। तर दीर्घकालिक रुपमा त्यसबाट राष्ट्रलाई हुने लाभको विषयमा उनले पनि बुझेरै सहमत भएका हुन। बुझेकै छन। अहिले एकाएक झुक्किएको जस्तो नाटक मंचन गरिएको छ। संजेललाई यस्तो नाटकमा उतार्ने पर्दा पछाडिका झिल्के उनै हुन, जो पहिला आफू सिनेटर नै नबनेर सिनेटको स्वघोषित बरीष्ठ उपाध्यक्ष बनेका थिए। शुरु बोर्डको दर्ता गर्दा सिनेटरहरुको संख्या सानो रहेकोले पदाधिकारीमा बस्न चाहनेलाई मागेकै पद दिइएको रहेछ ।

सिनेटर शंकर भण्डारी लगायतका शुरुका केहि सिनेटरहरुको सदस्यता रकम समता स्कूललाई नै पठाइएको हो। हामीले सिनेटरको जीवन सदस्यताको रकम त अक्षयकोषमा राख्नुपर्छ, दिन मिल्दैन भनेर आफ्नो लिमिटेशन राखेका थियौं, गौलीले भने। उत्तम संजेलले त्यो बेला भन्नुभएको थियोः “मलाई पनि थाहा छ, सिनेटर शुल्क दिन मिल्दैन, तर अहिले मलाई आकस्मिक पर्यो, दिनुस पछि कार्यक्रम (इभेन्ट)को पैसाबाट फिर्ता गरौंला।”

गौलीले यो वृतान्त सुनाउँदै एउटा अर्को प्रसंग थपे। सामाजिक कार्य गरीरहेको संस्थालाई हामीले केहि कम्पनिको सिएसआरको रकम दिलाइ दियौं (करोड़ भन्दा बढी) त्यसपछि उहॉं एउटा टेलिभिजन(दूरदर्शन )मा अन्तर्वार्ता दिंदै “नेपालका सबै कम्पनीको सिएसआर हाम्लाई दिनुपर्छ” भनेर ऊर्दि गर्नुभो तर पहिला आफ्नो सिएसआर दिएका कम्पनिहरुलाई प्रतिवेदन (रिपोर्ट )दिनुभएन। उनीहरुले पनि अब दिन पनि छाडे होलान। गतबर्ष लिएको रकमको रिपोर्ट नदिएपछि कुनैपनि दातृसंस्थाले फेरी सहयोग गर्दैनन।

अब के हुन्छ?

संरक्षकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अनुरोधलाई दृष्टिगत गरी हाल सिनेटरहरुको ट्रष्ट फण्डमा रहेको रकम परिचालन गर्न बोर्डलाई अधिकार दिनुहोस भन्ने प्रस्ताव अध्यक्ष गौलीले आइतबारको साधारण सभामा आव्हान गरे। तर त्यो प्रस्ताव माथि छलफल गरी निर्णयमा पुग्न साधारण सभामा गणपूरक संख्या नपुगेकोले एक हप्ता भित्रै सात दिनको सूचना सहित अर्को विशेष बैठक बोलाउने सहमतिमा साधारण सभा टुङ्गियो।

सिनेटरहरुको जीवन सदस्यताको शुल्कलाई बोर्डले हस्तान्तरण गर्न नमिल्ने हुंदा अध्यक्षले त्यो अधिकार बार्षिक साधारण सभा संग मागेका हुन। हाल समता स्कूलमा थप रकम तत्काल आवश्यक रहेको भन्ने परिस्थितिलाई दृष्टिगत गरी नेपाल रकम पठाउने व्यवस्था मिलाउन समता ग्लोबल सिनेट ले प्रयास गरीरहेको कुरा खुलासा भएको छ। यति ठुलो रकम संस्थागत रुपमा पठाउन आवश्यक कानुनी परामर्श लिइ रहेको र नेपालका बैंकहरुसंग पत्राचार भइरहेको व्यहोरा सिनेटका उपाध्यक्ष गोपेन्द्र भट्टराईले बताउनु भयो।

हालको अवस्थामा नेपाल मै अक्षयकोष बनाउन उपयुक्त हुने सुझाव प्राप्त भएपछि रकम पठाउने बिषयमा छलफल हुँदा सदस्यहरु विभाजित देखिन्थे। सेन्ट लुइसबाट आउनु भएका बैज्ञानिक सदस्यले नेपालमा लगानी सुरक्षित नहुने तर्क राखेका थिए भने मेरिल्याण्की एक सिनेटरले सिनेटको रकम सबै सिनेटरको रजामन्दि बिना परिचालन गर्न नहुने जिकिर गरे जे होस यस विषयलाई अर्को बैठकले टुङ्गो लगाउने नै छ।

समता स्कूललाई सहयोग गरिएकोमा सबैले प्रशंसा गरेका छन। र यो सहयोगको निरन्तरता होस भन्ने चाहना सबैको रहेको पाइयो।

सिनेटले स्कूललाई लामो समय सहयोग गर्ने चाहना राखेको तर संजेलले भने सिनेटसंग सम्बन्ध तोड्न पत्राचार गरेको अध्यक्ष गौलीले बताए।

बाल्टिमोरमा संजेलको लागि नगद दिलाउन नै आयोजना गरिएको कार्यक्रम बीच मै उठेर गए पछि सम्पर्कमा नआएको कुरा साधारण सभामै बताए। उहॉं मुभीको डील गर्न टेक्सस पुग्नुभएको रहेछ। आजभोली संजेलको मन स्कूल छाडेर हिन्दी चलचित्र (मूभी )निर्माणमा गएको र उहॉंलाई त्यो चलचित्रको लागी ठूलो रकम तत्काल आवश्यक भएको कुराको पनि विशेष सूत्रबाट खुलासा भएको छ।

भर्पाई नगरी सिधै (डाइरेक्ट )नगद लिन पाउँदा संजेल ख़ुशी हुने गरेको देखेपछि अमेरिकामा विभिन्न राज्यहरुमा जॉंदा व्यक्तिगत रुपमा पनि संजेललाई रकम दिन अध्यक्ष गौलीले सबैलाई अनुरोध गरी नगद सहयोग दिलाएको बताए। “तर हामीले नगद कारोबार गरेका छैनौं। कसैसंग नगद भए संजेलजीलाई नै प्रत्यक्ष दिन प्रेरित गरेका हौं: “त्यसको हिसाब हामीले राखेका छैनौं।”

समता ग्लोबल सिनेटको पहिलो बार्षिक साधारण सभामा नेपालबाट संरक्षक हरिबंश आचार्य नेपालबाटै जोडिएका थिए। उनले थुप्रै महत्वपूर्ण कुरा गरे । संजेलले दिएको अन्तर्वार्ता हेरे पछि आश्चर्य भएको बताए । संजेल कै स्कूलका लागि अमेरिकाका बिभिन्न राज्यहरुमा बालबालिकाको शिक्षाको लागि कोष वृद्धि कार्यक्रममा साक्षी भै प्रस्तोता समेत भएका आचार्यले नकारात्मक कुराहरु ज्यादै छिटो फैलिने हुन्छ, उनले भने । सबैलाई संयमित हुन अनुरोध गर्दै नेपालमा अक्षय कोष स्थापना गरि दिनु उपयुक्त हुने आफ्ना विचार राखे।

यसै गरि जुमबाट जोडिनु भएका प्रा डा. गोपी उप्रेती, पिडिआरसी इन्टरनेशनलका भिम बिके, इन्जाका अध्यक्ष गुणराज लुइँटेल, टाउन इफ़ इन्डियन हेडका उप नगर प्रमुख किरण सिटौला, सामाजिक अभियन्ता सिनेटर परसुराम भण्डारी, एएनएनका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी ,पत्रकार सुनिता कोइराला शर्मा लगायतले संजेलले दिएको अन्तर्वार्ताले आस्चर्यमा परेको, दुख लागेको भन्दै नियमानुसार अघि बढेर सहयोग पुऱ्याउन सल्लाह सुझाव दिएका थिए। कार्यक्रममा न्यूयार्कका सुपर लयर खगेन्द्र जिसीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रण गरिएको थियो तर उहॉं भ्रमणमा रहेको कारण उपस्थित हुन सक्नुभएन। मदनकृष्ण श्रेष्ठ पनि छायाँकन व्यस्तताले जोडिन भ्याएनन।

संजेलले लगाएको संगिन आरोप आधारहीन रहेको स्पष्ट भएको छ। समता ग्लोबल सिनेट र यसका सदस्यहरुको चरीत्र हत्या गर्ने किसिमको मिथ्या समाचार सम्प्रेषण भएको भन्दै जुन ११ का दिन समता सिनेट ग्लोबलले छापा बिज्ञप्ति मार्फत खण्डन गरेको थियो । हिसाबकिताव दुरुस्त ,रकम सुरक्षित र कुनै नियम नमिचिएको व्यहोरा सिनेटको सभाले स्पष्ट पारेको छ।

साथै साधारण सभामै बोर्डको निर्णय बमोजिम वरिष्ठ उपाध्यक्ष टिका ढकाललाई हटाईएको जानकारी पनि गराएका थिए। उनलाई पटक पटक हिसाब प्रमाणित गरी पठाउन र सदस्यता शुल्क बुझाउन अनुरोध गरिएको थियो।

ती अनुरोधहरु वेवास्ता गरी “मिडिया स्टंन्ट” गरेपछि यसबाट संस्थाको शाख़मा पर्नजाने असरलाई दृष्टिगत गरी वरिष्ठ उपाध्यक्ष ढकाललाई फेब्रुअरिको २२ तारीख़मा एक पत्र मार्फ़त दुई हप्ताको समय दिई हिसाब प्रमाणित गर्न र आफ्नो सदस्यता शुल्क बुझाउन चेतावनी सहितको पत्र प्रेषित गरिएको थियो।

यस पत्रमा उनको कुनै प्रतिउत्तर नआएपछि उनी स्वत: पदमुक्त भएको ठहर बोर्डले गरेको हो। संस्थालाई हानी पुराउने नियत र अभिप्राय समेत देखिएकोले उनलाई बर्खास्त गर्नुपरेको बाध्यता सचीब र अध्यक्षले अत्यन्तै दुखका साथ सुनाए। जस्ले जे सुकै गरेको भएपनि हाम्रो तर्फबाट कसैप्रति वैरभाव छैन। हामी यहॉं सहयोग गर्न आएका हौं। “हामी हार्न आएका हौं। जित्न आएका होइनौं।”

प्रतिक्रिया