बेटिङ प्रचारको आरोपमा कलाकार ‘बल्छी ध्रुवे’ र राजु मास्टर सहित ८ जना पक्राउ

Enepalese Published on: June 15, 2023

काठमाडौं, अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा मरीचमानसँगै, राजु पौडेल, पवन खतिवडा, एलिस राई, ज्वलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली छन् ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा उनीहरूले प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको छ ।

यस्तै, प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।

धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।