अमेरिकाको जर्जियामा  २१० औं भानु जयन्ती समारोह र भानु पुस्तकालय उद्घघाटन हुने

इनेप्लिज २०८० जेठ २६ गते १:५३ मा प्रकाशित

“भाषा नै हाम्रो संस्कृतिको जननी हो ” भन्ने मूल नाराका साथ अमेरिकाको जर्जियामा रहेको सुन्दर सहर एटलान्टामा नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त्त आचार्यको २१० औं भानुजयन्ती भव्यताका साथ सम्पन्न हुने भएको छ। उक्त कार्यक्रमको आयोजना अन्तराष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरले गर्ने भएको छ। यसैगरी सो शुभ अवसरमा अन्तराष्ट्रिय साहित्य समाज जर्जिया च्याप्टरको संयोजनमा एटलान्टा नेपाली स्कूल परिसरमा स्थापना हुन लागेको भानु पुस्तकालयको पनि उद्घघाटन हुनेछ। उक्त कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।

सो कार्यक्रम यहि आउदो जुलाई ९ गते बिहान १० : ३० आइतबारका दिन सुरू भई र दिउसो १ : बजे समापन हुनेछ। कार्यक्रम नेपाली कल्चरल सेन्टरको भवनमा सम्पन्न हुनेछ। उक्त कार्यक्रममा आदिकवि भानुभक्तद्वारा लिखित रामायणका श्लोकहरू वाचन गरिनुका साथै नाटक मन्चन, कविता वाचन, गीत तथा नृत्य प्रस्तुत हुने कुरा आयोजक संस्थाले बताएको छ। यसका अतिरिक्त्त उक्त कार्यक्रममा वरिष्ठ बालकथाकार तथा कवि गीता सापकोटाको बालगीति कथा ” सानी नानी सुनकेस्रा ” पुस्तकको विमोचन समेत हुनेछ। उक्त कार्यक्रममा सहभागिताका लागि अन्तराष्ट्रिय साहित्य समाज जर्जिया च्याप्टरले नेपाली साहित्य अनुरागी सम्पूर्ण नेपालीहरूमा हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया