मनकै खेल हो आखिर सब साथी !

दिपेश पराजुली २०८० जेठ ८ गते ०:२६ मा प्रकाशित

कल्पनाको सागरमा तैरिने एक डुंगा
कहिले गह्रुङ्गो त कहिले फूलको थुंगा
मनको शान्त तलाउमा अचानक आँधी आइदिन्छ
घामको प्रकाश छेक्दै बादल ब्याधि छाइदिन्छ
अघिसम्म ठिकै थियो मनोदशा, अहिले के भइदियो
हृदयको सुषुप्त घाउ फेरी कसले कहाँ चलाइदियो
अनौठो यो व्यग्रता जसलाई कुनै मल्हमले छुन्न
हर प्रसङ्ग फरक फरक – कथा कहिल्यै एउटै हुन्न
रोटेपिङ्ग झैँ घुमाँउछ्न यी – कहिले तल, कहिले माथी
मनकै खेल हो आखिर सब साथी !

हिमाल गएँ, पाताल गएँ, चाहरेँ पावन तिर्थ
बाहिरी त हासोँ तर आत्मा अशान्त भित्र-भित्र
सपनाको बजारमा मेरा ठेलाहरु सदैव कुदिरहन्छन
बन्द आँखामा पनि वासनाहरु सर्बदा बगिरहन्छन
एकै क्षणमा म सम्राट, अर्कोमा म भिखारी
छालाको बस्त्र ओडेको म एक अज्ञानी अवतारी
कहिले लाग्छ जीवन गन्धहीन, त कहिले कस्तुरी
कहिले चल्छ यो सास छिटो, त कहिले सुस्तरी
सुखको उत्कण्ठा भन्दा बरु लाटो दुःख नै जाती
मनकै खेल हो आखिर सब साथी !

मनको यस्तै ताण्डवमा जीवन सधैं धुमिल-धुमिल
बायुपंखी घोडा झैँ उडिहिड्छ यो कोसौं-कोसौं मिल
पात पतिङ्गर सब टिप्छ यो, बोक्छ अनाहकको भारी
शक्ति सबै गलत दिशामा- विवस अनि लाचारी
एकैछिनमा भेल आयो, अर्को क्षण ओभानो
अघिसम्म सबै राम्रै थिए, अहिले किन बिरानो
चलायमान यो ब्रह्मांडमा आखिर केहि छैन स्थिर
थाहा हुँदाहुँदै रोक्न गाह्रो बिचारहरुको तीर
युद्ध आफ्नो – शत्रु आफैं – बन्नुछ आफैं सारथी
जित्यो जसले अन्तर्द्वन्द, उ नै सच्चा महारथी
मनकै खेल हो आखिर सब साथी !
मनकै खेल हो आखिर सब साथी !!

-दिपेश पराजुली 

प्रतिक्रिया