मेरो शिर सगरमाथा :

इनेप्लिज २०८० जेठ ६ गते ११:१० मा प्रकाशित

जहाँ ऊषा स्वर्ण थाली लिएर प्रभातमा आउँछिन्
सुनौलो चन्दनले श्रिङ्गारेर जुन ललाट सजाउँछिन्
जहाँ शुद्ध प्राण वायुले हर – प्रहर नित्य चुम्दछन्
त्यो शिर मेरो हो जसको स्वागतमा इन्द्रेणी झुक्दछन्
जहाँ काला बादल अनि कुहिरो लुकामारी खेल्दछन्
पावन पवन भाकाहाली जहाँ मीठा गीत सुसेल्दछन्
जहाँ संज्ञा पहिले सप्त अश्वको सवार गरी आउँछिन्
त्यो शिर मेरो हो जहाँ सन्ध्या अबेर सम्म रमाउँछिन्
जसले मारुत मार्फत शीतल जटा जगतमा फैलाउँछ
जसले प्रभाती आलोक भूगोलमा सबैभन्दा पहिले पाउँछ
जो आफू पग्लिएर विश्व जगतलाई तृष्णाबाट जगाउँछ
त्यो शिर मेरो हो जो थोपो नदीलाई दिएर आफू अघाउँछ
जहाँ स्वाभिमान अग्लिएर विश्वको शिर बनिएको छ
जो यो जगतको साक्षी बन्दै सगरमाथा कहलिएको छ
जहाँ साहसी अदम्य साहसले संघर्ष गरी सहर्ष पुग्दछन्
त्यो शिर मेरो हो जसको स्वागतमा इन्द्रेणी सधैं झुक्दछन् ।

रचनाकार: खेमराज सुवेदी
धरान, सुनसरी (हाल: दोहा, कतार)

प्रतिक्रिया