डा. चालिसेको ‘लघुकथाकल्प’ लोकार्पित

इनेप्लिज २०८० वैशाख ३१ गते १५:२० मा प्रकाशित

काठमाडाैं, १३ मे, २०२३

वरिष्ठ समालोचक, साहित्यकार, भाषाविद् डा. विदुर चालिसेको पुस्तक लघुकथाकल्पको लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् एन.डी.आर.आई.का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका इमेरेट्स प्राध्यापक, अग्रणी भाषाविद्, नेपाल प्रज्ञा-प्रतिष्ठानको सम्पादकीय बोर्डका सदस्य प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेलले उक्त पुस्तकको शनिबार लोकार्पण गर्नुभएको थियो । लोकार्पित पुस्तकको प्रकाशक समेत रहेको नमस्ते आधुनिक लघुकथा मञ्चले भर्चुअल माध्यमबाट कार्यक्रमको आयोजना गरेको थियोे ।

नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् समालोचक त्रय डा. हरिप्रसाद सिलवाल, डा. गीता त्रिपाठी र डा. शङ्कर प्रसाद गैरेले विमोचित कृतिको समालोचना गर्नुभएको थियोे ।

लोकार्पण कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले लघुकथाकल्पमा भाषा विज्ञानको कुरालाई समावेश गरेर लेखिएको हुँदा अन्य पुस्तक भन्दा पृथक र विशिष्ट भएको उल्लेख गर्नुभयो । साथै उहाँले लघुकथा लेखिरहँदा आम पाठकलाई भुल्न नहुने र सहज बोधगम्य बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ समालाेचक, साहित्यकार प्रा. डा. कुमारप्रसाद कोइराला, वरिष्ठ साहित्यकार, कवि, कुथुङ्ग्रीका प्रयाेक्ता, समालाेचक पुष्कर लोहनी, वरिष्ठ साहित्यकारहरू डा. श्यामप्रसाद न्यौपाने, डा.शेखर कुमार श्रेष्ठ र कृष्ण बजगाईले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

आफ्नो लोकार्पित कृतिबारे बोल्नुहुँदै डा.विदुर चालिसेले आम पाठक आफ्नो गुरु भएको र आफूले पाठक सामु आफ्नो गृहकार्य राखेको बताउनुभयो ।

कार्यक्रममा प्रा.डा.माधव प्रसाद पोख्रेल, प्रा. डा. क्रिष्टाेभ स्ट्रन्स्की ( पोल्याण्ड ), डा. हरिप्रसाद सिलवाल, डा. गीता त्रिपाठी, डा. शङ्कर प्रसाद गैरे, प्रा.डा.कुमार कोइराला, डा. श्रृजना शर्मा ( गुवाहाटी, भारत ), डा.विदुर चालिसे, डा.श्यामप्रसाद न्यौपाने, डा.शेखर कुमार श्रेष्ठ, विजय चालिसे, पुष्कर लोहनी, कृष्ण बजगाईं, हिमलाल श्रेष्ठ, राजेन्द्रकुमार आचार्य, अवधेश सिंह, विश्वराज अधिकारी, कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी), वसन्त अनुभव, निर्मला बराल, बन्दना घिमिरे, दिनेश मैनाली, कमल पौडेल, नानीमाया अधिकारी, मित्र उराठी गौतम, सम्यक सिग्देल, सीता रेग्मी, रोहिणी लोहनी, सुधा बास्कोटा ढकाल, अनु विज्ञाति, शिवहरि अधिकारी, यमुना प्रधानाङ्ग मुना, गणेश नेपाली, अनिल आचार्य, विष्णु भण्डारी, इन्दिरा चापागाईं, मन गहिरे, शेखर अर्याल, उर्मिला पन्त पाण्डे, सुरेशकुमार पान्डे, आयुष बडाल, प्रतीक्षा पौडेल, अमित प्रधानाङ्ग लगायतका साहित्यकार, पत्रकार, लघुकथाप्रेमीहरूको उपस्थिति रहेकोे थियोे ।

संस्थाका अध्यक्ष एवम् लोकार्पण कार्यक्रमका सभाध्यक्ष श्री कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी) ले कार्यक्रमको समापनको क्रममा बोल्नु हुँदै नेपाली लघुकथाको उन्नयनमा नमस्ते आधुनिक लघुकथा मञ्चको काम विन्दुबाट सिन्धु बन्दै गएको कुरा उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रमको उद्घोषण प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने आयुष बडाल र अमित प्रधानाङ्गले प्राविधिक संयोजन गर्नुभएको थियो ।

प्रतिक्रिया