आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । यस अवसरमा प्रेस स्वतन्त्रताका लागि लड्ने सबैमा सम्मानसहित प्रेस स्वतन्त्रता पक्षधर सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२०औं शताब्दीतिर अफ्रिकामा चलेको गृहयुद्धका क्रममा पत्रकारहरू निशानामा परेपछि अफ्रिकी मुलुक नामिबियाको विन्डहोक (Namibia,Windhoek) मा सन् १९९१ मा पत्रकारहरूले सम्मेलन गर्दै बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहोक (Windhoek) घोषणापत्र जारी गरेका थिए । त्यसैको सम्झनामा संयुक्त राष्ट्र संघको सन् १९९३ मा भएको २६औं महासभाबाट मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने निर्णय गरेदेखि यो दिवस मनाउन लागिएको हो ।
प्रेस स्वतन्त्रताका पक्षधरहरूले यस दिवसलाई विशेष महत्त्वको रुपमा लिने गर्दछन् । आजको दिनमा विश्वभर नै प्रेस स्वतन्त्रताको महत्त्व र आवश्यकता लिएर चर्चा-परिचर्चा हुने गर्दछ । प्रेस स्वतन्त्रता मानव अधिकारकै एउटा हिस्सा बन्न पुगेको परिदृश्यमा यस पटक युनेस्कोले “भविष्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” भन्ने मूल नारा दिएको छ ।
अहिले पनि विश्वभर प्रेस स्वतन्त्रताविरोधी गतिविधि भई नै रहेका छन् । अहिले पनि पत्रकार र सञ्चारमाध्यमले स्वतन्त्रतापूर्वक काम गर्न नसकिरहेका घटना बहिर आउने गरेका छन् । अझ अहिले प्रविधियुक्त संसारमा प्रेस स्वतन्त्रताको अवस्थालाई लिएर चिन्ता गर्नुपर्ने अवस्था देखिएको छ ।
विश्वका विभिन्न राष्ट्रमा प्रेस स्वतन्त्रताविरोधी कानुनहरू निर्माण भई पत्रकारले निर्भीक ढंगबाट पत्रकारिता गर्न संकोच मान्नुपर्ने अवस्था निर्माण भइरहेकोप्रति प्रेस स्वतन्त्रता पक्षधरहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । यस प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस स्वतन्त्रताको पक्षमा नेपाल-अमेरिका पत्रकार संघ (नेजा) ऐक्यबद्धता प्रकट गर्दछ ।
प्रेस स्वतन्त्रताको निम्ति निरन्तर खबरदारी गर्नका लागि पनि प्रेस स्वतन्त्रता पक्षधरहरुमा नेजा हार्दिक अपिल गर्दै नेजासम्बद्व सदस्यलगायत सम्पूर्णमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विकासराज न्यौपाने
अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
मे ३, २०२३
प्रतिक्रिया