यस्तै रहेछ यहाँको चलन
जित्नेको हासो हासो
हार्नेको आँसु आँसु
मेरो छैन केही हजुरलाई गुनासो।
ख्यातिप्राप्त गायिका देविका वन्दनाले शम्भुजित बासकोटाको संगीत र दिनेश अधिकारीको शब्द रचनामा गाएको वर्षौंसम्म पनि उनलाई थाहा थिएन, एक दिन आफ्नो जीवन पनि यही गीतका हरफसँग मिल्दा जुल्दा हुनेछन्। क्यान्सरजस्तो विश्वकै भयावह अवस्थामा फैलिएको प्राणघातक रोगले छुनेछ र त्यसलाई जितेर जित्नेको हाँसो हाँस्छु भन्ने कल्पना पनि उनले गरेकी थिइनन्। क्यान्सर र क्यान्सरजस्तै हार्नेहरुलाई आँसुमा डुबाएको अनेकन् रोगले कतिपय घरलाई पिरलेको देखेकी उनले भने यसलाई पनि जितेरै छडिन्।
यो गीतपश्चात् देविकाले सयौं सुगम, फिल्मी, भक्ति, राष्टिझय भावनाका गीत गाएर आफुलाई हरेक पटक उच्च कोटीको गायिकाका रुपमा प्रस्तुत गर्दै आइन्। नेवारी र नेपाली गीतका साथमा हिन्दी गीतसमेत गाएर गायन यात्राको सीमा मिच्दै गइन्। तर, सिंगो विश्वलाई कोरोनाले पिरलिरहेको बेला उनी भने स्तन क्यान्सरको फेला परिन्। शुरुका दुखाइलाई देविकाले सामान्य ठानिन्, दुखाइ हराउने र एन्टियोबाइटिक औषधि खाएर टार्दै गइन्। तर, जब दुखाइ र गिर्खाले पछ्याइरहे, व्यवसायी पति महेशमान सिंह र परिवारले उनलाई परीक्षण गर्न कर गरे। परीक्षणबाट थाहा लाग्यो उनलाई स्तन क्यान्सर भइसकेछ। सामान्य पेट दुखाइका लागि राष्टझ प्रमुख, उपप्रमुख, सरकार प्रमुख तथा नेता र पहुँच हुनेहरु विदेश धाइरहेका बेला देविका भने स्वदेशमै क्यान्सरको उपचार गरेर स्वस्थ भइन् र ती सबैबारे डायरीमा टिपोट गर्दै गइन्। उनको डायरीलाई सबैले बुझ्ने भाषामा चिरन बरालले लेख्नेदेखि प्रकाशन गर्नेसम्मको कार्य गरी तयार भयो क्यान्सरलाई जितेपछिको देविकाको आत्मकथा जित्नेको हाँसो। जसको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंशले विमोचन गरे। देविकाको आत्मकथाको विमोचनमा उनको कथा र पीडा सुनेपछि कार्यक्रमका सहभागीले हलमै आँसु झार, कार्यक्रम हल आँसुमय बन्न पुग्यो।
प्रतिक्रिया