६ महिनाको अष्टमी व्रत सम्पन्न

इनेप्लिज २०८० वैशाख १४ गते २१:५९ मा प्रकाशित

अमेरिका नेपाल परम्परागत बौद्धधर्म संघद्वारा आयोजित सामुहिक अष्टमी ब्रत साधनाको छैठौं महिनाको ब्रत साधना गेथर्सवर्ग मेरील्याण्डमा आइतबार April 23, 2023 का दिन सम्पन्न भएको छ । पहिलो महिनाको ब्रत साधनामा १३ जना सम्मिलित भइ नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, जर्मनटाउनमा, दोस्रो ब्रतमा ९ जना सहभागी भइ एलिकट सिटी मेरील्याण्डमा सम्पन्न भएको थियो । पाँचौ र छैठौं महिनाको ब्रत साधना गेथर्सवर्ग मेरिल्याण्डमा सम्पन्न भएको थियो । यो ब्रत साधना गुरुजु यज्ञमान शाक्यद्वारा सम्पन्न भएको थियो । यी सबै ब्रत साधनामा श्रद्धालुहरुद्वारा नगद, खाना, पूजा सामग्री, दान दिनु भएका थिए । नेपालको १२ तीर्थहरुको साथै विभिन्न विहार, टोल, घरघरमा स्वेच्छाले प्रत्येक महिनाको शुक्लपक्ष अष्टमीको दिन यस ब्रत साधना उपत्यकाका नेवाः समुदायमा निकै प्रचलित छ ।

आर्यावलोकितेश्वरको उपासना गरी एकछाक मात्र खाएर गरिने यस ब्रत साधना करिव ६ घण्टा लामो हुन्छ र यसमा आफ्नो चित्त शुद्धि, वचन शुद्धि, अष्टशिलको पालना, सम्यक विचार, आरतीको साथै आर्यावलोकितेश्वरबाट उद्धार गरिएको कथा श्रवण गरिन्छ । नजिकका शहरबाट यस साधनामा स्वयंसेवकहरुद्वारा पूजालाई सफल बनाउन मद्दत पुर्याएका थिए । यस ब्रत साधनामा गुरुमां महिमा शाक्यले सघाउनु भएका थिए । बर्षको कात्तिक महिना तिहारपछिको मुखअष्टमी तिथिबाट शुरु हुने यस व्रत साधना अर्को बर्षको मुखअष्टमी कै दिन टुङ्ग्याइन्छ । यो पूजाको अन्तिम दिन सोमबार, November 20 तारिखको दिन नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रकै भवनमा सम्पन्न गरिने योजना संस्थाको तर्फबाट जानकारी भएको छ र ब्रतमा सम्मिलित हुन पनि आह्वान गरिएको छ । आध्यात्मिक विकास, धैर्य, निस्वार्थ भावना, दया, करुणाका प्रतीक र ईश्वरको रुपमा आर्यावलोकितेश्वरको साधना गरिन्छ ।

संस्थाका संरक्षक प्रा.डा. नरेशमान बज्राचार्य गुरुजुको निर्देशनमा भइरहेको यस पूजाको अन्तिम समारोहलाई enepalese द्वारा पनि प्रत्यक्ष प्रसारण गरिने योजना छ । रजिष्ट्रेशन शुल्क $30 प्रति व्यक्ति र प्रति जोडी $50 लिइने यस पूजामा प्रसाद ग्रहण र वितरण गर्दै आएको छ । पूजामा सहभागी हुन, धर्म श्रवण एवं प्रसाद ग्रहण गर्न, आर्थिक र सामाग्री दान दिन एवं स्वयंसेवकको रुपमा सहयोग पुर्याउन यस पूजामा दिइएको अवसरहरु हुन् ।

Photo credit :Photo Bank Studio

प्रतिक्रिया