काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक अरुण सुवेदीले अहिलेको सरकार संक्रमणकालीन अवस्थामा रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको सरकार संक्रमणकालीन सरकारजस्तै भएको टिप्पणी गरेका हुन् । साथै, नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको उनको दाबी छ ।
‘निर्वाचन भयो । निर्वाचन हुँदा आफैं पनि देश संक्रमण कालमा हुन्छ । दीर्घकालीन नीतिहरु तर्जुमा भएनन् । दीर्घकालीन नीति र अल्पकालीन नीति तर्जुमाका लागि पोहोर साउनदेखि अहिलेसम्म संक्रमणकालीन सरकारजस्तै भइराखेको छ,’– उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय दिनको अवधिमा कुनै उपलब्धी हासिल गर्न नसकेको उनको टिप्पणी छ । प्रधानमन्त्रीले सय दिनमा सत्ता समीकरण परिवर्तन गर्ने बाहेक अन्य कुनै काम नगरेको उनको दाबी छ ।
‘प्रधानमन्त्रीका सय दिन त बिते । सय दिनका हनिमुन पिरियड फेरा लगाउँदामा मात्रै बितेजस्तो छ । जग्गे घुम्नेमा मात्रै वितेजस्तो छ,’– उनले भने ।
राजनीतिक विश्लेषक सुवेदी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका विदेश मामिला सल्लाहकार हुन् ।
प्रतिक्रिया