आन्तरिक पर्यटन प्रवर्धन, बागलुङ देखि मुक्तिनाथ यात्रा संस्मरण…

इनेप्लिज २०७९ चैत २० गते २१:५९ मा प्रकाशित

आन्तरिक पर्यटन प्रवर्धन, बागलुङ देखि मुक्तिनाथ यात्रा संस्मरणः

नेपाल पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको देश हो। चाहे धार्मिक होस् या प्राकृतिक सुन्दरता या ऐतिहासिक धरोहर या साहसिक खेल या यात्रा यी सबैमा पर्यटकहरूले खोजेको र रोजेको देश हो नेपाल। नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विविधताले संसारका मानिसलाई यहाँ आकर्षित गर्ने गरेको छ ।मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्दै व्यावसायिक गतिविधि वृद्धि गरेर समग्र देशकै आर्थिक विकासमा टेवा पुर्‍याउँदै आएको छ । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रूपमा ग्रामीण स्तर सम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहमा पुर्‍याउन संस्कृति र पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक छ ।यसको लागी सडक तथा हवाई यातायात क्षेत्रको पूर्वाधार विकास तथा विस्तार अत्यन्त जरुरी देखिन्छ।

२०१६ सालमा पर्यटक बोर्ड गठन गरेर सुरुआत गरेको नेपालको पर्यटक क्षेत्रको विकास तथा प्रबर्धन अहिले सम्म आशातीत उपलब्धि प्राप्त गर्न सकेको छैन। हाम्रा सम्पदाहरूको समुचित उपयोग तथा संरक्षण हुन सकी रहेका छैनन् । हिमाल, ताल, पोखरी, छहरा जस्ता प्राकृतिक सम्पदाहरू नभएका देशहरूमा कृत्रिम हिमाल ताल पोखरी छहराहरू बनाएर पर्यटकहरू लोभ्याई रहेका छन् भने हामी हाम्रा सम्पदाहरू लाई संरक्षण गर्न, उचित प्रचारप्रसार गर्न तथा सरल र सहज रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार को विकास गर्न सकिरहेका छैनौ।अहिले नेपालमा बाह्य मात्र नभएर आन्तरिक पर्यटकहरू को सम्भावना तीव्र गतिमा बढ्दै गई रहेको छ। हाम्रा योजनाहरू बाह्य पर्यटकहरूलाई लक्षित गरेर मात्र बनाइन्छ। आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न कुनै नयाँ योजना तथा नीतिहरू बनाइएको छैन। लामो समयको द्वन्द्वको चपेटामा परेर धराशायी भएको पर्यटन व्यवसाय अझै उक्सिन सकेको छैन। राजनैतिक अस्थिरताले वर्षौँ देखि अवरुद्ध रहेको पूर्वाधार विकास निर्माण आशातीत रूपमा अघाडी बढ्न सकेको छैनन्। अव ढिला नगरी पर्यटन क्षेत्रको प्रचार प्रसार विकास तथा विस्तार गर्न जरुरी भैसकेको छ।

म आफू पनि विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण अवलोकन गर्न रुचाउने र देश विदेशका कतिपय सहरहरू तथा प्राकृतिक, सांस्कृतिक सम्पदाहरूको भ्रमण अवलोकन गरिसकेकोले आफ्नै देशमा रहेका रमणीय स्थानहरू, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको अवलोकन भ्रमण गर्न सदा लालायित रहने गरेको छु। यसै सन्दर्भमा हामीले नेपालकै पर्यटकीय क्षेत्रको प्रमुख आकर्षक मध्येको एउटा मुस्ताङ जिल्ला तथा त्यस क्षेत्र आसपास रहेका केही प्राकृतिक, ऐतिहासिक तथा धार्मिक स्थलहरूको २०७९ चैत्र महिनामा भ्रमण गरेका थियौ। पर्यटकको आकर्षक गन्तव्य तथा सुन्दर सहर पोखरा हुँदै हामी बागलुङ पुगेता पनि यस पटकको हाम्रो भ्रमणको सूचिमा उक्त सहर परेको थिएन।हाम्रो मुख्य गन्तव्य बागलुङ बजारबाट सुरु भई गलेश्वर, मुक्तिनाथ क्षेत्र , मुस्ताङ जिल्ला मार्फा लगायत जोमसोम बजार तथा अपर मुस्ताङ स्थित लोमान्थाङ र नेपाल- चिन सीमा कोरला नाका सम्मको थियो। साथमा म्याग्दी तथा बागलुङ जिल्लाका पर्यटकीय स्थलको अवलोकन गर्ने हाम्रो सूचिमा थियो।

प्रथम दिन हामी बिहानै बागलुङ बजार देखि रिजर्भ गरिएको निजी गाडी बाट काली गण्डकीको तिरै तिर दायाँ बायाँ बागलुङ, म्यादी तथा पर्वत जिल्लाको प्राकृतिक सौन्दर्यता हेर्दै रमाउँदै अनेकौँ तस्बिरहरू खिच्दै करिब ६ घण्टा समय लाग्ने ११५ किमी लामो (पोखरादेखि १७७ किमी लामो) गन्तव्य मुक्तिनाथ तर्फ हिँडेका थियौ। बागलुङ देखि करिब १२किमीको दूरीमा म्याग्दी नदी र काली गण्डकीको दोभानमा पर्ने अति सुन्दर र मिलेर बसेको म्यादी जिल्लाको सदरमुकाम बेनी बजारको भू अवस्थाले हामीलाई लोभ्याएको थियो। बेनी बजारले नदी किनारामा बसेका सहरहरू सुन्दर हुन्छन् भन्ने भावनाको प्रतिविम्वित गरेको थियो। प्रथम दिन चैते कृष्ण औँसीको दिन पितृ मोक्षको दिन भएकोले हामी बाटोमा धेरै नअलमलिएर कागबेनीमा पितृलाई तर्पण गर्दै मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम थियो। हामी अघाडी बढ्दै गयौ बाटैमा पर्ने भुरुङ मा तातो पानीको (Hot Spring) कुण्डहरू रहेछन् फर्कँदा तातोपानीमा नुहाउने बाचा गर्दै अघाडी बढ्यौ। बेनी बजार वाट करिब ३० किमी पर दाना भन्ने सानो बजार पार गरेर केही अघाडी बढ्दा हामी गाडी नरोकी अघाडी बढ्न सकेनौ। बाटैको बायाँ तर्फ माथि पहाड वाट छङ्छङ् गरी झरेको रुप्से झरनाले जो कोहीको पनि मन लोभ्याउने रहेछ। करिब ७५ मिटर माथि बाट खसेको रुप्से झरना बेनी जोमसोम खण्डको एउटा पर्यटकीय आकर्षक स्थान रहेछ। हामी पनि समयको कुनै प्रवाह नगरी केही बेर झरनामा रमाउँदै मोबाइलमा फोटो तथा भिडियोहरू कैद गर्दै अघाडी बढेका थियो।

रुप्से झरनाको आनन्द लिँदै म्याग्दी जिल्ला र मुस्ताङ जिल्लाको सिमानामा पर्ने घासा बजार तथा व्यापारिक चहल पहल भएको लेते बजार र मार्फा बजार हेर्दै अघाडी बढेका थियौ। नदी किनारामा बसेका ताङछाङ, लार्जुङ, कोबाङ गाउँको खन्ती बजारले पनि ग्रामीण बस्तीको सुन्दरता दर्साउँथ्यो। बेनी देखी घासा सम्म पर्ने बाटो धेरै जोखिम पूर्ण थियो भने घासा देखी जोमसोम सम्मको करिब ४० किमी बाटो अधिकांश राम्रो थियो।समय अभावको कारण अहिलेलाई जोमसोम बजारलाई गाडी वाटै नियाल्दै त्यहाँ वाट आधि घण्टामै पुग्न सकिने करिब १२ किमीको दुरीमा रहेको कागबेनी बजार पुगेका थियौ यति वेला करिब २ बजी सकेको थियो। यहाँको तापक्रम चिसो थियो त्यसमा हावा चली रहँदा निकै चिसोको अनुभूति भएको थियो । कागबेनीमा पितृ मोक्ष कार्य सम्पन्न गरी त्यहाँ बाट करिब १५ किमी को दुरीको उचाइमा रहेको मुक्तिनाथ मन्दिर आधा घण्टामा पुग्न सकिने रहेछ। घुम्तीको बाटो भएता पनि पक्की बाटो भएको कारण यात्रा सहजपूर्ण नै थियो।करिब ४ बजे हामी मुक्तिनाथ मन्दिर परिसर पुगेका थियौ। हामी माथि जाँदै गर्दा फर्कने गाडीहरूको तातीले बिहान निकै नै भिड रहेछ भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो।

करिब ३८०० मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध मार्गीहरूको पवित्र तीर्थस्थल मानिन्छ जहाँ भगवान् विष्णुको मूर्ति रहेको छ। मुक्तिनाथ मन्दिरको दर्शनले मुक्ति वा मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास गरिन्छ। बौद्ध मार्गीहरूले यसलाई छुमिङ्ग्यासा भन्दछन् जसलाई एउटा महत्त्वपूर्ण तान्त्रिक स्थानको रूपमा मान्ने रहेछन्। यो तीर्थस्थल शालिग्राम भगवानको लागी प्रसिद्ध रहेको छ। शालिग्राम एउटा पवित्र शीला(पत्थर) हो जुन नजिकै रहेको काली गण्डकी नदिमा पाइन्छ। शालिग्राम मा भगवान् विष्णुको वास हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ। यस बारे विभिन्न पौराणिक कथाहरू रहेका छन्। यिनै कथाहरू मद्ये एक कथाका अनुसार जब भगवान् शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन् त्यो बेला भगवान् विष्णुले उनको मद्दत गरेका थिए।कथामा भनिए अनुसार जबसम्म असुर जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतीत्व बचाएर राखेकी थिइन् तबसम्म जालन्धरलाई कसैले पनि पराजित गर्न सक्दैनथ्यो यो उनलाई भगवानको वरदान थियो। यो अवस्थामा भगवान् विष्णुले जालन्धरकै मायावी रूप धारण गरेर वृन्दाको सतीत्वलाई नष्ट गर्ने काममा सफल भएका थिए। जब वृन्दालाई यस कुराको थाह भयो त्यो बेलासम्म भगवान् शिवले जालन्धरको वध गरिसकेका थिए। आफ्ना पतीको वध भएको थाह पाएर वृन्दाले क्रुद्ध भएर भगवान् विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । फलस्वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्य देव भगवान् विष्णुले शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो। जसलाई अहिले पनि भगवान् विष्णुको रूपमा पूजा गरिन्छ।

हामी भुक्तिनाथ क्षेत्र पुग्दा मौसम ज्यादै प्रतिकूल हुँदै गइरहेको थियो। बाहिर हिउँ पर्ने सुरसार गर्दै थियो। जब हामी गाडी बाट झरेर मन्दिर तर्फ अघाडी बढ्दै थियौ हिउँ पनि बढ्दै गयो। लामो समय सम्म त्यहाँ हिउँ परेको थिएन भन्ने त्यहाँका स्थानीय बासिन्दाहरूको भनाई थियो। गाडी बाट १५-२० मिनेटमा माथि मन्दिर पुग्न सकिने भएता पनि हिउँ परेर बाटो चिप्लो भएकोले हामीलाई मन्दिर पुग्न अलि बढी समय लागेको थियो। मन्दिर पुगेर सहस्त्रधारा स्नान तथा भगवानको दर्शन तथा पूजा आजा गरी तस्बिर भिडियोहरू कैद गर्दै आनन्दका केही क्षण त्यहाँ बिताएका थियौ। मन्दिर परिसरमा धेरै समय बिताउने प्राकृतिक सौन्दर्यताको आनन्द लिने मन त थियो तर हिम वर्षा निरन्तर भई रहेको र साँझ पनि परिसकेकोले वासस्थान तर्फ फर्किन पर्ने हाम्रो बाध्यता थियो। नजिकमा रहेको अखण्ड ज्योति दर्शन गरी नव निर्मित आकर्षक बुद्धको मूर्ति दर्शन अवलोकन गर्दै हिउँले भरिएको सिँढी मा पाइला चाल्दै चिप्लँदै, लड्दै उठ्दै रमाइलो अनुभूतिका साथ भगवान् सँग बिदा लिएर कागबेनी तर्फ फर्की पहिलो दिनको राति त्यही बिताएका थियौ।

मुस्ताङ जिल्ला हिमाल पारीको जिल्ला भनेर चिनिन्छ यहाँ वाट दक्षिण तर्फ हिमाल देख्न सकिन्छ। उपल्लो मुस्ताङ करिब ३८५० मिटरको उचाइमा रहेको लोमान्थाङ मुस्ताङ जिल्लाको उत्तरी भागमा रहेको एक विशेष संरक्षण क्षेत्र रहेछ र यसलाई मिनी तिब्बत पनिभन्दा रहेछन्। यहाँ नेपालमा गणतन्त्र स्थापना पूर्व सम्म मुस्ताङे राजा जिग्मे दोर्जे पलवर विष्टको शासन रहेको थियो। यहाँ बाट करिब २० किमी दुरीमा नेपाल-चिन सीमा लोमान्थाङ भन्ने स्थान पर्ने रहेछ। दोस्रो दिन हामी कागबेनीमा बिहान चिया नास्ता खाएर करिब ७ बजे तिर लोमान्थाङ हुँदै कोरला नाका तर्फ प्रस्थान गरेका थियौ। कागबेनी बाट करिब १० किमी अघाडी गए पछि छुसाङ भन्ने गाउँमा प्रहरी चेक पोस्ट रहेछ त्यहाँ उत्तरतर्फको गाउँ जोडने झोलुङ्गे पुल पनि रहेछ। छेउमा बगेको काली गण्डकी र दायाँ बायाँ नाङ्गा पहाडकाले त्यहाँको प्राकृतिक सौन्दर्यता बढाएको थियो। त्यहाँको सौन्दर्ययतालाई मोबाइलमा कैद गर्दै केही पर रहेको काली गण्डकीको पुल पार गरी उकालो तर्फ लागेका थियौ। उकालो चढ्नु अघि काली गण्डकी नदी दुई पहाडको बिच वाट प्राकृतिक सुरुङ बनाएर बाहिर आएको रहेछ उक्त दृश्य हेर्दै थियौ हाम्रो यात्राका सहयात्री महिलाहरू नदीमा शालिग्राम खोज्दै हुनु हुँदो रहेछ। वास्तवमा शालिग्राम पाउने मुहान नै सोही नदी भएको ले बडो रुचिका साथ शालिग्रामको खोजी भैरहेको थियो। विश्वासको आधारमा केही थान शालिग्राम समेत सङ्ग्रह गरी हामी अघाडी बढेका थियौ।

केही बेरको उकालो ओराली घुम्तीहरू पार गर्दै त्यहाँ देखिने मरुभूमिमा ठडिएका पहाडजस्ता तर विभिन्न सुन्दर रूप र रङ्ग भरिएका भू आकृतिहरूको दृश्यावलोकनको आनन्द लिँदै तस्बिरहरू खिच्दै नजिकमा देखिने छैले र समर गाँउहरु पार गर्दै घिलिङ भन्ने स्थानमा चिया विश्राम लिएका थियौ। सानो र सुन्दर बस्ती त्यहाँ बाट अघिल्लो रात परेको हिंउले ती साना साना रुखहरूमा बसेको हिउँ साच्चैनै हिमाल फुलेकै झैँ मुस्कुराई रहेको थियो। त्यो अलौकिक सौन्दर्यताको अनुभूति त्यहाँ बाट हामीले गरेका थियौ। यसरी अटुट रूपमा दृश्यावलोकन गर्दै करिब १२ बजे तिर कागबेनी बाट करिब ६० किमी दुरीमा रहेको एउटा ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय स्थान लोमान्थाङ बजार पुगेका थियौ।लोमान्थाङमा रहेको होटेलमा बिहानको खाना खाएर त्यहाँ अवस्थित लोमान्थाङ दरबार तथा गुम्बाको अवलोकन पश्चात् हामी छेसर हुँदै सशस्त्र प्रहरीको क्याम्प रहेको स्थान नेछुङ्गमा हाम्रो कोरला प्रवेशको जानकारी गराउँदै पुनः आजको अन्तिम गन्तव्य नेपाल- चिन सिमानामा रहेको कोरला नाका पुगेका थियौ। करिब ४६०० मिटरको उचाइमा रहेको कोरला नाका १९५० दशक तिर चिनले तिब्बत लाई लिनु अघि सर्व साधारणको लागी खुल्ला थियो र नेपाल तिब्बत बिच आवत जावत तथा आपसी व्यापार हुने गरेको इतिहासमा पढ्न सकिन्छ। अहिले पनि त्यहाँ चिन तर्फ दुई वटा ठुला पक्की घरहरू देख्न सकिन्छ सायद ती भवन सैनिक क्याम्प हुन सक्छन्। सीमा स्तम्भ पछाडि चिन तर्फ काँडे तारको बार लगाइएको रहेछ। माथि पुग्दा मरुभूमिको समथर भाग पठार जस्तो देखिने र त्यहाँ दिउसो निकै हावा चल्दो रहेछ। चाइना तर्फ त्यहाँ सम्म पक्की बाटोले जोडेको छ भन्ने गुगल अर्थमा देख्न सकिन्छ भने नेपाल तर्फ पनि नेपालका अन्य हिमाली क्षेत्रमा रहेका सडकहरू भन्दा तुलनात्मक रूपमा बाटो चौडा राम्रो रहेछ। ठाउँ ठाउँमा पुलहरू बन्दै गरेको समेत देखियो। थोरै समय कोरला नाकाको अवलोकन गरी जोमसोम तर्फ फर्किएका थियौ। दुई हिमालको काखमा रहेको सुन्दर बजार जोमसोम को एउटा होटेलमा हाम्रो दोस्रो दिनको रात्रिकालीन विश्राम लिएका थियौ।

पर्यटकहरू को लागी आकर्षक मानिने मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा रहेको जोमसोम बजार समुद्र सतह देखि २८०० मिटर उचाइ तथा काली गण्डकी को किनारामा अवस्थित छ। दक्षिणमा धौलागिरि तथा निलगिरी हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिने जोमसोम बजारमा दिउसो निकै हावा चल्ने गर्दछ। हिमाल पारी रहेको स्थानको कारण त्यहाँ पानी कम पर्ने रहेछ। पोखरा वाट आएका हवाई जहाजहरूले ताती लागेर बिहानी पखको उडान भर्दै गरेको दृश्य हाम्रो होटेल बाट सहजै देख्न सकिन्थ्यो।बजारको पूर्व दक्षिण तर्फ २- ३ किमी दुरीमा रहेको दुम्बा ताल जोमसोम आउने पर्यटकको आकर्षक गन्तव्य रहेछ। हामी तेस्रो दिनको बिहानको चिया खाएर दुम्बा ताल तर्फ लागेका थियौ। दुम्बा ताल वाट निलगिरी हिमाल सिर माथि नै बसेको जस्तो देखिन्थ्यो। तालमा रहेको कन्चन पानी मा देखिने हिमालको दृश्य मनमोहक नै देखिन्थ्यो। केही बेर तालको घुमघामको आनन्द लिँदै फोटो तथा टिकटकका केही क्लिपहरू अपलोड गर्दै त्यहाँ अवस्थित क्याफेमा यात्रा अवधिकै सबैभन्दा मिठो चियाको स्वाद लिएर बागलुङ फिर्ती यात्रा तर्फ अघाडी बढेका थियौ।

जोमसोम देखि ६- ७ किमी तल मुस्ताङ जिल्लाको पुरानो तथा व्यापारिक केन्द्रको रूपमा मार्फा बजार रहेको छ। स्याउको राजधानीको रूपमा रहेको यो बजार स्याउ तथा अन्य साग पात जिम्बु आलु तथा दालको समेत खेती गरिने रहेछ। यहाँ स्याउबाट बन्ने अल्कोहल जन्य पेय पदार्थको उत्पादन गरेर निर्यात समेत गरिन्छ। यस गाउँको आडैमा रहेको सम्तेलिङ गुम्बा पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक मानिन्छ। छोटो समय यस ऐतिहासिक मार्फा बजारको अवलोकन तथा सपिङ समेत गरी हामी अघाडी लेते बजारमा खाना खान रोकिएका थियौ। खाना खाएर अघाडी गई तातो पानीमा डुबुल्की मार्ने हाम्रो योजना रहेको मा रुप्से झरना नजिक सडक मर्मत सम्भारको निर्धारित तालिकामा परि करिब ३ घण्टा रोकिनु परेको थियो। उक्त समयमा १ घण्टा पैदल हिडदै दाना बजार पुगी केही समय विश्राम लिएका थियौ। समय अभावले तातोपानी स्नानलाई स्थगन गर्दै बाटैमा पर्ने प्रसिद्ध धार्मिक स्थल गलेश्वर महादेवको दर्शन गर्दै क्षणिक शान्तिको अनुभूति लिएर आजको विश्रामको लागी बागलुङ निवासी हाम्रा सम्धी राम शर्माज्यूको निजी निवासमा पुगेका थियौ।

म्याग्दी जिल्लाको गलेश्वर धाममा अवस्थित गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेश द्वारमा रहेको धार्मिक तीर्थस्थल हो। यो मन्दिर गलेश्वरमा रहेको एउटै चक्र सिलामा अवस्थित छ । उत्तर तर्फका म्याग्दी र मुस्ताङ जिल्लाका केही भेगलाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रूपमा समेत परिचित भएको हो। सत्ययुगमा सतीदेवीको गला पतन भएको स्थान भएकोले यस मन्दिरको नाम गलेश्वर रहन गएको पौराणिक कथाहरूको आधारमा विश्वास गरिन्छ। १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रूपमा चिनिँदै जान थालेको हो भने यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य मानिने रहेछ। पहिले म्याग्दीका उत्तरी क्षेत्र तथा तिब्बती क्षेत्र र दक्षिणमा भारतीय व्यापारीहरूको व्यापारिक कारोबारको केन्द्रको रूपमा समेत चिनिने गरेकोले आर्थिक दृष्टिकोणले पनि गलेश्वरको ऐतिहासिक महत्त्व रहेको इतिहासकारहरूले चर्चा गर्ने गरेका छन्। त्यसैले गलेश्वर धाम को ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व रहँदै आएको देखिन्छ।

चौथो दिनमा हाम्रो कार्यक्रम बागलुङ आसपासका पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन भ्रमणको थियो। बिहानै हामी बागलुङ जिल्लाकै धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको बागलुङ कालिका भगवतीको दर्शनको लागी मन्दिर परिसर पुगेका थियौ। यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र आफूलाई शक्ति प्राप्त हुने विश्वास रहिआएको छ ।यो मन्दिर बाग्लुङ बजार देखि ४-५ किमी दक्षिण पुर्व तर्फ रहेको छ भने बजारबाट ८-१० मिनेटमा सजिलै पुग्न सकिन्छ। पूर्व र दक्षिणमा काठे खोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र काली गण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएकोले यसको सौन्दर्यताको छुट्टै महत्त्व रहेको छ।यस मन्दिर स्थापना बारे विभिन्न किम्बदन्तीहरू भए पनि एउटा किम्बदन्ती यस्तो रहेको छ। पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यारोहण गरेका थिए। उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग भएको थियो।विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुबासँग मागेर आफू सँगै ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राज दम्पतीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको भन्ने भनाई रहेको छ। यो एउटा ठुलो शक्ति पीठ हो।यहाँ हरेक दिन स्वदेशी तथा बिदेशी श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गर्दछ भने चैते दशै तथा बडा दशैमा दर्शनार्थिहरुको ठुलो भिड लाग्ने गर्दछ।

मन्दिरको दर्शन पश्चात् सोही दिन खाना खाएर हामी बागलुङ बजार देखी पश्चिम उत्तरको टाकुरोमा अवस्थित गाडीमा करिब २० मिनेटमा पुगिने यस क्षेत्रकै धार्मिक तथा पर्यटकीय क्षेत्र पंन्चकोट पुगेका थियौ। पन्चकोटको निर्माण तथा व्यवस्थापन मुक्तिनाथ धामका बाबा पिठाधिस् बाट भएको रहेछ। अहिले पनि मन्दिर पूर्वाधार निर्माणको काम तीव्र गतिमा भैरहेको देखियो। त्यहाँ बाट बागलुङ बजार तथा पर्वतका गाँउहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। पन्चकोटलाई भविष्यमा नेपालकै राम्रो पर्यटकीय सम्भावना बोकेको गन्तव्यको रूपमा स्थापित हुने विश्वास गरिन्छ। पंन्चकोटको फेदी कुँडुले मा रहेको सुन्दर लक्ष्मी नारायण मन्दिर तथा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय पनि विशेष धार्मिक महत्त्वपूर्ण स्थान रहेछ। यी दुवै स्थानको दर्शन अवलोकन गरी केही बेर रमाएर तस्बिरहरू लिएर हामी घर फर्किएका थियौ।

पाँचौँ दिन, बागलुङ देखि पर्वतको पाँङ भन्ने स्थान जोडने ५६७ मिटर लामो नयाँ बनेको झोलुङ्गे पुल त्यस क्षेत्र मात्र होइन एसियाकै लामो तथा विश्वको दोस्रो लामो पैदल यात्री झोलुङ्गे पुल रहेछ। उक्त पुल त्यस क्षेत्रका यात्रुहरूको सहजताको लागी मात्र होइन पर्यटकीय सम्भावनाको लागी समेत महत्त्वपूर्ण रहेको छ। बिहानै मोर्निङ वाकमै उक्त पुलको आनन्दमय यात्रा अवलोकन गरी बिहानको खाना खाएर हामी पोखरा हुँदै काठमान्डौ पुगेका थियौ। यस यात्राको सम्पूर्ण संयोजन गर्दै हामीलाई आतिथ्यता प्रदान गर्नु हुने बाग्लुङ निवासी हाम्रा सम्धी राम शर्माज्यू तथा सम्धिनी कालिका शर्माज्यू र यात्रालाई थप रोमाञ्चित गराई हामीलाई उत्साहित तथा आनन्दमय बनाउनु हुने संम्धिनीज्यूहरु गीता शर्मा, तारा शर्मा र बाबु प्रबेश शर्मा धन्यवाद का पात्र हुनु हुन्छ भने मेरी जीवन सँगिनी सहयात्री शीला पोख्रेलको पलपलको माया अविस्मरणीय रह्यो ।

(

( नोट: यस यात्रा संस्मरणमा उल्लेख गरिएका तत्थ्य तथा तथ्याङ्कहरू विभिन्न पत्रपत्रिकाका आलेखहरू तथा संबन्धित क्षेत्रको वेबसाईट बाट साभार गरिएका हुन्।)

विनोद पोख्रेल
विजौरी दाङ, हाल काठमाडौँ।

प्रतिक्रिया