अनेसास डीसी मेट्रोले गर्यो स्वागत र कवितावाचन

इनेप्लिज २०७९ चैत ९ गते २१:२४ मा प्रकाशित

गत शुक्रवार १७ तारिख अनेसास डीसी च्याप्टरले अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारी, जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, र एपी वन टेलिभिजनका पत्रकार तथा साहित्यकार मोहराज शर्मा लगायतको सम्मान तथा कवितावाचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा दुई दर्जन बढी कविताहरू वाचन गरिए भने पाहुनाहरूलाई खादा ओढाई सम्मान गरियो । बोस्टन सम्मेलनको सिलसिलामा आएका अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीले अमेरिकी भूमिमा नेपाली भाषा साहित्य उर्वर रहेकोमा प्रशंसा गर्दै कविता वाचन गर्नुभयो ।

जापान च्याप्टरका अध्यक्ष रवीन शर्माले न्यानो आतिथ्यता पाएको भन्दै मार्मिक कविताहरू प्रस्तुत गरेर सभालाई आकर्षित गर्नुभयो ।साहित्यकार तथा एपी वानका पत्रकार मोहराज शर्माले अमेरिकामा आएर आफूले नेपाली भाषा साहित्य र नेपालीको यथार्थ बुझ्ने अवसर पाएको बताउनुभयो ।

अमेरिकामा नेपाली साहित्य अत्यन्त सुखद् ढङ्गले गतिशील रहेको उहाँको भनाइ थियो ।

प्रमुख अतिथिको रूपमा बोल्दै साहित्यकार कृष्ण धरावासीले साहित्य लेखन बलियो बनाउन सैध्दान्तिक चर्चाको आवश्यकता रहने बताउनुभयो । कविता वा साहित्यले कसैको व्यक्तिगत जीवन र प्राकृतिक अपूर्णताप्रति प्रहार गर्न नहुने बताउँदै कविता वा साहित्यका नयाँ शैली र विषयहरूप्रति लेखकहरू जानकार रहनुपर्ने भनाइ राख्नुभयो ।

विशिष्ट अतिथिको रूपमा बोल्दै साहित्यकार तथा प्राध्यापक मोहन सिटौलाले नेपाली साहित्यको शक्ति र शैली विश्व साहित्यको तुलनामा अब्बल रहेको दाबी गर्दै यसलाई अझै शक्तिशाली बनाउन स्रष्टाहरूमा अध्ययन र लेखनमा निरन्तरता हुनुपर्ने बताउनुभयो ।

यसै क्रममा प्राध्यापक ताराकान्त पाण्डेले डीसी क्षेत्रको साहित्य निकै आशलाग्दो देखिएको बताउनुभयो । कार्यक्रममा आमा, बा र देशका कविता निकै मार्मिक र शक्तिशाली ढङ्गमा प्रस्तुत गरिएका थिए ।

डिसी मेट्रोका अध्यक्ष पुष्कर पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष कवीन्द्र सिटौलाले आफ्नो वासस्थानमा पाहुनाहरूलाई रात्रिभोजको आयोजना गरी स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । अध्यक्ष पन्तले सबैको उपस्थितिप्रति धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।


महासचिव नीलकण्ठ सुवेदीको सञ्चालन रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै प्राध्यापक ताराकान्त पाण्डेयले डीसी मेट्रोले संचालन गर्दै आएको भाषा साहित्य र शिक्षासँग सम्बन्धित गतिविधिहरू प्रशंसनीय रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रम अनेसास बीओटी सदस्यहरू, च्याप्टर सदस्यहरू, साहित्यकारहरू र सामाजिक अभियन्ताहरूको बीचमा सम्पन्न भएको हो।कार्यक्रममा बीओटीका पूर्व उपसभापति पुरू सुवेदी, साहित्यकार गोबिन्द गिरी प्रेरणा, नारायण अधिकारी, सुदीपभद्र खनाल, नीरा शर्मा, संगीता पन्त, मणि भट्टराई, सुनिता खत्री, जगन्नाथ पौडेल, गोमा न्यौपाने, प्रकाश नेपाल, तीर्थ पाण्डे, मुना वली, सुनिता खत्री, पुष्पा खनाल, संगीता पन्त, मन्जु बिमली, हेनिकेन सिटौला, मणि भटृराई, चैतन्य सिटौला, दोबा ढकाल, सर्वेश पण्डित, लोककुमारी सुवेदी, शकुन्तला अधिकारी, पूजा शर्मा, चन्द्र विष्ट चैतन्य सिटौला, जगदीश पराजुली, लगायतको उपस्थिति थियो ।

जगन्नाथ पौडेलद्वारा प्रेषित समाचार

प्रतिक्रिया