नेपाली चलचित्रमा छक्कापञ्जा ४ को करामत

डा. गोबिन्दसिंह रावत टोरन्टो, क्यानडा २०७९ चैत ७ गते १०:२३ मा प्रकाशित

नेपाली चलचित्रको इतिहास त्यति लामो छैन । डि.बि. परियारको सत्य हरिश्चन्द (सन् १९५१) बाट शुरु भएको नेपाली चलचित्रको इतिहास सरकारी लगानिमा हिरासिंह खत्रीको निर्देशनमा आमा (सन् १९६४) आएपछि प्राईभेट सेक्टरबाट माईतीघर (सन् १९६६) निर्माण हुन्छ । अनि त्यसपछि मनको बाँध, कुमारी, परालको आँगो हुँदै सन् १९८० मा आएपछि प्रकाश थापाको सिन्दुरले नेपाली चलचित्रको नयाँ युग शुरु हुन्छ । त्यसपछि नेपाली चलचित्र निर्माणले निरन्तरता पाउँदे गएको छ । मह जोडीको के घर के डेरा बाट शुरु भएको हाँस्य चलचित्र (कमेडी फिल्म) लाई यसै वर्ष प्रदिप भट्टराईको महापुरुषले निरन्तरता दिदै दर्शकलाई हलभित्र तान्ने काम गरेको थियो भने कमेडी फिल्मको निर्माणलाई वडा नम्बर ६ बाट निरन्तरता दिदै दिपक–दीपाको आमा सरस्वती मुवि प्रा.लि.को बैनरमा भर्खर प्रदर्शित छक्का पञ्जा ४ ले दर्शकलाई भरपुर मनोरञ्जन दिएर नेपाली चलचित्रको निरन्तरतालाई अगाडि बढाएको छ ।

दिपकको कला प्रेम
मेरो अभिनय कला यात्रामा धेरैनै कलाकारहरुसँग सङ्गत भएको थियो । सडक, मञ्च, टिभी र रेडियोमा आप्mनो सम्लग्नता रहेको बेला सम्सर्गमा आएका यी कलाकारहरु मध्ये दिपकराज गिरी र दीपाश्री निरौंला पनि थिए । दिपकलाई मैले २०४८ सालदेखि चिनेको हो । रेडियो नेपालमा हाँस्य– ब्यङ्ग्यात्मक कार्यक्रम “दिन प्रतिदिन” को संचालन गर्दा दिपक र दीपाको पनि सहभागीता रहने ग¥थ्यो । दिपकले अभिनयसंगै स्क्रिप्ट लेख्ने काम गरेर सहयोग दिदै आएका थिए । दिपकलाई रङ्गमञ्चमा अभिनय गर्ने सौक सानैदेखि रहेकोले आफ्नो जन्मथलो थानकोटमा देखाइने नाटकमा अभिनय गरेर पुरा गर्दै आएका थिए भने विस्तारै प्रहर्सनबाट मञ्च हुँदैे रेडियो नाटक, र रेडियो प्रस्तोता, टेली सिरियलबाट आज एक सफल चलचित्र कर्मी बनेका छन् । दीपालले पहिलोपटक मसँग गाईजात्राको प्रहर्शन गरेको सम्झना छ । दिपकको कलाप्रतिको लगनशिलता मैले मेरोसमेत संलग्नता रहेको दिपक रायमाझीको टेलीश्रृखला “नमस्ते काठमाण्डौं” को छायाङ्कन गर्दा अनुभव गरेको थिए । भद्रकालीमा छायाङ्कन चल्दै थियो । त्यसबेला दिपकको कपाल लामो थियो तर निर्देशकले दिपकलाई प्रहरीको एउटा सानो भूमिकाको लागि कपाल काट्न भनेपछि उनले तुरन्तै कपाल काटी दिए । उनको यो अभिनयप्रतिको लगाव प्रारम्भदेखि नै थियो भन्ने कुरा यसबाट नै प्रमाणित हुन्छ । पछि उनै रायमाझीले दिपकलाई आफ्नो चलचित्र सुन्दर मेरो नाम मा मुख्य भूमिकामा अझ भनौ नायक बनाएर अभिनय गराएका थिए । त्यसैले आजको दिपक बन्नलाई उनले धेरै अगाडिदेखि नै लगानि गर्दै आएका थिए । सन्तोष पन्तको हिजो आजका कुराबाट सानो पर्दामा अभिनययात्रा शुरु गरेका दिपकले नमस्ते काठमाण्डौ हुँदै ट्वाक्क टुक्कसम्म आईपुग्दा परिपक्कता पाईसकेका थिए भने काउँकुतिबाट उनको लेखनले पनि परिचय पाउन थाल्यो । केही समय रेडियो नेपालको कर्मचारी भएर काम गरेका दिपकलाई रेडियो नेपालको वार्षिक कार्यक्रममा प्रस्तुत गरेको एउटा प्रहर्शनले गर्दा जागिरबाटै हात धुनु परेको थियो । यो घटनाले दिपकलाई आफ्नो लागि संघर्ष गनु पर्छ भन्ने सबक सिकाई दियो । आज दिपक नेपालमा मात्र सिमित छैनन् । उनको ख्यातीले उनलाई युरोप, उत्तर अमेरिका, एशियाबाट लिएर खाडी मुलुकसम्म पुर्याइदिएको छ । जहाँ नेपाली समुदाय छन् त्यहाँ दिपक दीपाको ख्याति छ भन्दा अतिशयोक्ति नहोला । आज जहाँ जहाँ नेपालीहरु छन्, त्यहाँ त्यहाँ छक्का पञ्जा ४ पुगेको छ । क्यानडाको विशाल टोरोन्टोमा टीलिफ ईनकर्पोरेसनका क्रिञ्जल अधिकारीले प्रदर्शन गराएको समयले नपुगेर अझ मिति थपिदै छ भने क्यानाडाको अन्य शहरमा पनि दिपक दीपाको छक्का पञ्जा ४ ले इतिहास रच्ने अनुमान गर्न सकिन्छ ।

नेपाली चलचित्रमा दिपक दीपा
दिपकराज गिरी र दीपाश्री निरौला नेपाली कला क्षेत्रमा एक सफल जोडीका रुपमा चिनिन्छन् । वडा नम्बर ६ बाट चलचित्र यात्रा शुरु गरेका यस जोडीले छक्का पञ्जा १, २, ३, छ एकान छ, शत्रु गते, छ माया छपक्क, निर्माण गरेर दर्शकलाई स्वच्छ मनोरञ्जन पस्कदै आएको छ यसरी ‘छक्का पञ्जा ४’ सम्म आईपुग्दा उनीहरुमा चलचित्र निर्माणका सबै थ्योरीको जानकारी रहेको प्रमाणित गरी दिएको छ । यसरी नेपाली दर्शकमा राम्रो चलचित्र हेर्ने रहरलाई उनले मेटाई दिएका छन् । यो चलचित्र हेरे मुख खुम्च्याउँने दर्शन विरलैमात्र हैन अपवादनै बन्ने छ ।

छक्का पञ्जा ४ भित्रको घोत्ल्याई
मर्च ३ मा प्रदर्शन शुरु गरेको छक्का पञ्जा ४ चलचित्र नेपालमा मात्र नभएर जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ यो चलचित्र पुगेर सफलताको झण्डा गाड्दै आएको छ । अनि जहाँ पुगेको छैन, यहाँका दर्शन हेर्न प्रतिक्षारत् छन् ।

चलचित्र भनेको दुई–तीन घण्टा दर्शकलाई एउटा अन्ध्यारो कोठामा बाँधेर राख्न सक्ने क्षमता भएको तमाशा हो । दर्शक बाध्न सके चलचित्र सफल नसके असफल मानिन्छ । यो दुई–तीन घण्टाभित्र चलचित्रमा प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह, हाँसो, व्ग्यँय, नृत्य, गीत, सबैलाई राम्ररी समेटिएको हुनु पर्छ । छक्का पञ्जा ४ ले चलचित्रका सबै विधालाई राम्ररी समेटेकोले धेरै अन्तरालपछि दर्शकलाई हलभित्र तान्ने काम गरेको छ । यसको सफलतामा कथा–पटकथा–संवाद–कलाकार–निर्देशन–अभिनयका बीचको तगडा समन्वय रहेको छ । चलचित्रमा मुटु कथा हो र पटकथा त्यसको महत्वपूर्ण अङ्ग हो । चुस्त पटकथाले चलचित्रलाई गति प्रदान गर्दै जान्छ । त्यहीँ पटकथा अनुरुपको वातावरण र संवादले दर्शकलाई तन्ने काम गर्ने गर्छ ।
छक्का पञ्जा–४ चलचित्रको प्रदर्शनसँगै दर्शकको रुचि बढ्दै गएपछि यसको सफलतामा अवरोध खडा गर्न यसका क्लिप्सहरु सामाजिक सञ्जाल टिकटकमा भाइरल हुनु थालेपछि यसका निर्माता पक्षमा चिन्ताको विषय समेत बन्न गएको थियो । छक्का पञ्जा–४ का कार्यकारी निर्माता तथा कलाकार निर्मल शर्माले यसको असर व्यापारमै पर्ने भएपछि टिकटकबाट क्लिप्स हटाउने काम शुरु गर्नु परेको थियो । करोडौँ लगानी र एक वर्षभन्दा धेरै समय खर्चेर गरेको मिहिनेतको प्रतिफल दर्शकको रुचाईबाट पाउने कुरा हो । तर टिकटकबाट भाइरल भएपछि दुई तीनसय क्लिप्स हटाई सकेको र अहिलेसम्म पनि हटाउने काम चलि रहेको छ । छक्का पञ्जा–४ ले नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट ४६ शो पाएको थियो । यसले युरोप अमेरिका, एशिया र खाडीमा पनि लगभग सँगसँगै प्रदर्शन हुने मौका पाएको थियो । त्यसैले चार दिनमा नै सात करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । यसलाई दिपक दीपाको वडा नम्बर ६ पछिको बढी सफल र कमाउने चलचित्र हुन सक्ने अनुमान लगाउन सकिन्छ । पहिलोपटक निर्देशनको जिम्मा पाएका हेमराज बिसीले आफ्नो निर्देशनको चमत्कार यसमा देखाई दिएका छन् । कोभिदपछि सिनेमा हेर्न हल जान अन्कनाएका दर्शकलाई ‘छक्का पञ्जा–४ ले तान्न थालेको छ । यस चलचित्रले फेरी सिनेमा हेर्ने संस्कृतिको विकास गरी दिएको छ ।

दिपकराज गिरीको कथामा आधारित छक्का पञ्जा–४ को सहलेखनमा हेमराज बिसी, केदार घिमिरे र अभिमन्यु रहेका छन् । यसको समसामयिक कथाले युवा–वृद्धा, गाँउ–शहर,विद्वनदेखि नपढेका सबै तहका दर्शकलाई तानेको छ । यसले आजको तातो विषयवस्तु राजनीतिलाई हाँस्यव्यग्यात्मक प्रस्तुतिका माध्यमबाट जनता र सरकारको दायित्व बोध गराउने शैलीमा पस्केकोले हलभित्र प्रत्येक संवादमा दर्शक रोमञ्चित भएर खित्का छोड्न थाल्छन् । यसको बाँधिएको पटकथाले दर्शकलाई सिटमा बाँधी राख्न सफल भएको छ । किनभने नेपाली चलचित्रको प्रमुख समस्या नै पटकथा हो । तर छक्का पञ्जा–४ को सन्दर्भमा धेरै टेली फिल्म र प्रहर्शन अनि चलचित्रको अनुभव बटुलेका दिपकले यसमा आफूलाई अब्बल साबित गरेर देखाएका छन् । कथाले समेटेको अवस्थामा पटकथाले चाहेको संवाद, वातावरण, भेषभूषा र पात्रलाई आफ्नो पहिलो निर्देशित चलचित्रमा हेमराज बिसीले कथानुरुप राखी दिएका छन् ।

प्रायः हाँस्य चलचित्रमा उत्पटाङ्ग परिस्थितिको सिर्जना गरेर हँसाउनेभन्दा बढी चलचित्रलाई कथासँगै संवादबाटअघि बढाउने काम गरेको छ । यसको समसामयिक कथामा राजनीतिक व्यग्ँय, चुस्त पटकथा र पात्रानुसारको संवादले दर्शकलाई कथासँग बाँधेर राख्न सफल भएको छ । कथाले नेपालको वर्तमान राजनीतिलाई हुबहु पस्कने काम गरेकोले दर्शक तानिदै गएका छन् । दर्शक आफै यसको प्रशारण बनेर अरुलाई हलमा छिराउने काम गर्दै छन् । शुरुमै चलचित्रको शीर्षक जुवा खेलेको अवस्थामा नायकले ६५४ को रन देखाउनुबाट सोंचमा नयाँपन देखिन्छ ।

कथावाचन शैलीमा प्रस्तुत गरिएको छक्का पञ्जा ४ मा एकजना पश्चिमेली साँसद र उनको पार्टीभित्रको पकडले देखाएको अवस्था र उनका गुण्डा छोराको राजनीति प्रवेशसँगै ख्याति कमाउन प्रयोग गरिएको बिकाउँ पत्रकार र पत्रकारको नीजि स्वार्थ अनि विपक्षीको दाँउपेचले रबि लामिछाने र वर्तमान सभामुखले पत्रकारमाथि लगाएको आरोप आलै रहेको बेला यो चलचित्र अहिलेको अस्थिर राजनीतिको कथा समेट्न सफल भएको छ । आजको विज्ञानको युगमा डिजिटल प्रणालीले देखाएको साईबर युद्धका बारेमा हामीले धेरै समाचार सुनेका पढेका र देखेका पनि छौं । के.पी. ओलीको साईबर सेना अनि छक्का पञ्जा ४ का नायकको अठ्ठाईस लाख मासिकमा किनेको पत्रकार र उनीबाट चलेको युट्युबर सेनामा देखिने समानता छ । सत्ताको राजनीतिमा स्वार्थको भूमिकालाई चलचित्रको कथाले समेटेकोले दर्शकको मन जितेको छ । देशमा भईरहेको अवस्थालाई साक्षात हेर्नु पनि रमाइलो हुन्छ । पार्टी अध्यक्ष बोल्नै नसक्ने र उनको ईसारामा पार्टी चलेको छ र कार्यकर्ताले मान्नै पर्ने अवस्था नेपालमा हामीले हेर्दै र भोग्दै आएका छौं । चुनावमा चारा हाल्नेदेखि नमान्नेलाई मुक्का हान्नेसम्मको अवस्था हामी सबैले देखेका भोगेका छौं । देशको प्रशासनिक व्यवस्थामा पार्टीगत संलग्नताले गर्दा जनताले अनाहकमा दुःख पाउने गरेको अवस्था छक्का पञ्जा ४ ले देखाएको छ । यसको सुधारलाई पनि चलचित्रले देखाएको छ । सरकारमाथि दबाब बनाउन हडताललाई माध्यम बनाउने प्रवृति र नेपालको प्रशासनिक व्यवस्थालाई नियम कानून अनुरुप कार्यान्वयन गर्न सत्ता दलमात्र नभएर विपक्षि पनि लाग्नु पर्ने बारे चलचित्रले देखाएको छ । चलचित्रको प्रत्येक दृश्यको छायाङ्कन गर्दा पटकथा अनुरुपको वातावरण बनाउन निर्देशकले धेरै मिहिनत गरेको देखिन्छ । ती दृश्यमा बोलिएका हाँस्यव्यग्ँयात्मक संवादले प्रत्येक पाँच–छ मिनटमा दर्शकलाई बुरुक्क बुरुक्क हलभित्र उफारेको देखिन्छ । यसैलाई सफलता मान्न सकिन्छ ।

दीपकराज गिरी, दिपश्री निरौला, केदार घिमिरे, नीर शाह, बेनिशा हमाल, रमेश बुढाथोकी, , निर्मल शर्मा, बुद्धी तामङ्ग, राज आचाय, मलिना जोशी, वेदना राई, सुषमा निरौला आदिको अभिनय रहेको छक्का पञ्जा ४ मा प्रत्येक कलाकारले आफ्नो चरित्रसँग न्याय गरेका छन् । रङ्गमञ्चिय पृष्ठभूमिबाट चलचित्रमा आएका कलाकारहरुको बाहुल्यता रहेका छक्का पञ्जा ४ मा छोटो भुमिकामा आएका पुष्कर गुरुङ्ग, सुभाष गजुरेल आदिले पनि आफ्नो प्रभाव छोडेर गएका छन् । रेडियो प्रस्तोता (आर.जे) बाट मोडेलिङ्ग गर्दै सेतो पर्दामा आएकी बेनिशा हमालले धेरै अन्तरालपछि चलचित्रमा खलनायिका (भेम्प) को खाँचो पूर्ति गरी दिएकी छिन् । उनको अभिनयले चलचित्रलाई गति प्रदान गएको छ । महत्वकाँक्षा बोकेका एउटै पार्टीका पालो कुर्ने वरिष्ठ नेता बनेका रमेश बुढाथोकीको खल नीतिमा निर्मल शर्माको लोभी प्रवृतिले यसरी एउटै पार्टीभित्र पनि वैरीभाव हुने गर्छ भन्ने कुरा छयालिस सालको आन्दोलनपछि नेपालमा पार्टी बन्दै फुट्दै गरेको साक्षात अनुभव गर्दै आएको आम नेपालीलाई नेताको लोभी पापी नीतिबारे थाहा पाउन सजिलो भएको छ ।

चलचित्रको प्रमुख समस्या नै पटकथा हो । तर यस विषयमा दिपक सफल भएका छन् । चलचित्रमा उपकथाहरु शुरुदेखि नै मुख्य कथालाई पच्छ्याउँदै गएको हुन्छ । त्यसैले पटकथा कसिलो चाहिन्छ जसले चलचित्रलाई एकपछि अर्को घटनाका बीच समन्वय गर्दै लिएर जान्छ र कथालाई अगाडि बढाएको हुन्छ । यस चलचित्रमा पनि कथालाई कतै बहकिन दिएको छैन चलचित्रको अन्त्यमा बेनिसाको मौन अन्तरवार्तापछि दिपकको जेलबाट छुट्नु र आफ्ना सहयोगीलाई आआफ्नो बाटो लाग्नु भनेर आफु हरेकृष्ण हरेराम गाएर बस्नु जस्ता दृश्यले अन्ततः हरेक मनुष्यमा ईश्वरीय शान्तिको चाहना रहेको देखाएको छ । कथावाचन शैलीमा चलचित्रको शुरुदेनि नै कथाले गति पाउँदै गएको छ । अझ चलचित्रको पृष्ठभूमिको संगीतले पात्रको गति र वातावरणको अवस्था निर्धारण गरेको छ । चलचचित्रको निर्माण मनोरञ्जनका लागि मात्र नभएर सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनहरूका लागि पनि गरिएको पाइन्छ । चलचित्रले समाजको नकारात्मकमात्र नभएर सकारात्मक पक्षहरुलाई पनि प्रतिबिम्बित गर्नु पर्छ । हँसाउने खित्का छुट्ने गरी अनि त्यसैभित्र सुधारको छनक दिन सक्नु पर्छ । यस चलचित्रको कसिलो संपादन र दृश्यानुरुपको पृष्ठभूमि संगीतले कथा र पटकथाप्रति न्याय गरेको छ ।

पश्चिमेलीे भाषाको लवज समेटिएको संवाद सान्दर्भिक लाग्छ । चलचित्रमा भारी संवाद छैनन, जति छन् हल्का फुल्का तर द्ववेअर्थी भएका अर्थपुण र पर्दामा मिठो सुनिन्छ । कतिपय ठाँउमा संवाद काव्यात्मक लाग्छन् । अझ भनौ कथाले भन्न खोजेको कुरा र पटकथाले माँगेको दृश्यलाई निर्देशकले ईमान्दारीपूर्वक पालना गरेको देखिन्छ । बुद्धी तामङ्गको विपक्षी दलका नेतासँगको संवादमा माछालाई चारो हालेको दृश्य र संवादको मेल अनि सांसद भएपछि दिपकको अन्तरवार्ता दिने क्रममा हामी उत्तर र दक्षिणको पछि नलागि आफ्नो काम गर्नु पर्छ भन्ने जस्ता संवाद । त्यस्तै प्रेमीका र श्रीमतीबीचको भिन्नतालाई अहिले धेरै ठाँउमा डुब्दै गरेको सहकारी संस्था र बैंकसँग दाजेको संवाद, दिपकको गलत काम गर्दा पञ्जा लगाउनु पर्ने जस्ता संवाद अर्थपूर्ण लाग्छ । चलचित्रलाई निशेष श्रेष्ठको गठिलो संपादनले पनि साथ दिएको छ । अनि दुई घण्टा पच्चिस मिनट दर्शकलाई बाँधी राख्न सक्ने चलचित्रलाई सफल चलचित्र भन्न करै लाग्दैन र ।

डा. गोबिन्दसिंह रावत टोरन्टो, क्यानडा

प्रतिक्रिया