भर्जिनियाको एक अस्पतालमा एक अश्वेत व्यक्तिको मृत्यु भए पछि हत्याको आरोपमा ३ जना कर्मचारी गिरफ्तार

इनेप्लिज २०७९ चैत २ गते २३:३६ मा प्रकाशित

भर्जिनियाको एक अस्पतालमा एक व्यक्तिको मृत्यु भए पछि हत्याको आरोपमा ३ जना कर्मचारीलाई गिरफ्तार गरिएको छ । उनीहरुलाई दोश्रो श्रेणीको हत्याको आरोप लगाईएको सिएनएनले जनाएको छ । इर्भो ओटिएनो नामक व्यक्तिको मृत्युमा हत्याको आरोपमा भर्जिनिया अस्पतालका ३ जना कर्मचारीहरूलाई पक्राउ गरिएको हो ।

अस्पतालका कर्मचारीहरूलाई बिहीबार गिरफ्तार गरिएको छ । गत हप्ता राज्यको मानसिक स्वास्थ्य सुविधामा मृत्यु भएका २८ वर्षीय अश्वेत ओटिएनोको मृत्युमा दोस्रो-श्रेणीको हत्याको आरोप लगाइएको डिनविडी काउन्टीका लागि राष्ट्रमण्डलको अधिवक्ताको कार्यालयले सिएनएन सम्बद्ध डब्लु टिभिआरलाई एक बिज्ञप्ति मार्फत उक्त जानकारी गराएको छ ।

सेन्ट्रल स्टेट अस्पतालका तीन कर्मचारीहरू पिटर्सबर्गका २३ वर्षीय डारियन एम. ब्ल्याकवेल , ३४ बर्षिय चेस्टरफिल्डका वेभी एल जोन्स, उत्तर डिनविड्डीका २७ वर्षीय साडारियस डी. विलियम्स रहेका छन् ।

उनीहरूलाई ब्रन्सविक काउन्टीको मेहरिन रिभर क्षेत्रीय कारागारमा जमानत बिना नै राखिएको राष्ट्रमण्डल अधिवक्ताको कार्यालयले बताएको छ ।

सुनुवाई आगामी मंगलबार बृहत निर्णायक मण्डल(ग्रान्ड जूरी )ले गर्ने भएका छन् ।

ओटिएनोको परिवारले निगरानी अङ्किय दृश्य (भिडियो) हेरे पछि प्रहरी अधिकारीहरूले उनलाई घातक रूपमा प्रहार गरेको देखाउँदछ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

“मेरो छोरालाई कुकुर भन्दा पनि खराब व्यवहार गरियो,” ओटिएनोकी आमा क्यारोलिन ओउकोले भनिन्। “मैले यो अङ्किय दृश्य (भिडियो) आफ्नै आँखाले देखेको छु।”

ओटिएनोको मार्च ६ मा राज्यको मानसिक स्वास्थ्य सुविधामा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया