द्रुता छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ५३” सम्पन्न!

इनेप्लिज २०७९ फागुन २५ गते २३:३० मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ फागुन २० गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५३” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय रामशरण न्याैपाने र अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत द्रुता छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई द्रुता छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::::: द्रुता छन्द :::::
~ गण : र य ज गु
~ गण सूत्र: २१२ १२२ १२१ २
~ ५ अक्षरमा विश्राम

अभ्यासका क्रममा सङ्कलन भएका द्रुता छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू

[१]
१.
मुस्कुराउँदा मोहमा परी
रातले दियो मात बेसरी।
२.
देशभक्त नै छन् किनारमा
पार हुन्छ के नाउ धारमा।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
देख्छ नेत्रले , छैन सक्कली
लिप्सिएर नै बन्छ अक्कली ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
जन्मियौं सबै धन्य मान्दछौं
सृष्टिकी तिमी खास जान्दछौं ।
२.
प्यारले सधैँ नेत्र फाल्दछु
उच्च देखिने प्रेम गाल्दछु ।
✍️ चूडा निर्भिक
[४]
१.
चाकरी त हो , काम लाउने ,
कामले छ त्यो , नीति धाउने ।
२.
सोच फेरियो , देश धाउने ,
मञ्च हेरियो , को छ आउने।
✍️ बेदु न्यौपाने
काठमाडौ
[५]
१.
छन्द काव्यमा भावना छरी
लेख शुद्धता चेतना भरी ।
२.
भावले छुने कल्पनाहरू
बिम्ब हाेस् कतै सम्झने बरु।
✍️ इन्दिरा प्रयास
सानाेठिमी,भक्तपुर
[६]
गर्छ त्यो अझै, स्वार्थका कुरा
सोच्छ त्यो सधैं , कोप्न नै छुरा।
✍️ प्रेम थापा “मन”
बागलुङ
[७]
प्रेमका कहानी जता चले,
ओठमा बिहानी उतै फले ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[८]
१.
कर्णधारहो राष्ट्र हेरन,
देशभक्तिको चित्र केरन।
२.
राज्य सानको रक्तदानको,
राख मान लौ सत्य ज्ञानको।
✍️ बिबस पारदर्शी
झापा
[९]
गाउँमा सबै, धेर बोल्नुले,
पाप देखियो, आत्म पोल्नुले !
✍️ आर्त अकुलीन
कैलाली
[१०]
भर्छ फूलले वासना दिई ,
बस्छ घामपानी सदा लिई ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[११]
भाग्यबाट टाढा खुसी सर्यो
आस छैन बाँच्ने यसै मर्यो ।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[१२]
१.
फन्किदै थिए गाउँले ठिटा
मात्तिदै छरे नोटका बिटा ।
२.
झोक्किदै झरिन् पातली दिदी
कुर्लिदै भनिन् तात्तियो गिदी।
✍️ बाबुराम गौतम
गुल्मी
[१३]
गीत गाउने गाइने कला,
साधनाविना बन्छ त्यो गला ?
✍️ म्यामराज राई
भोजपुर
[१४]
सानु देशको यो महानता
नाम हेर साथी गयो कता।
✍️ गुणनिधि घिमिरे
[१५]
हाँसियो मजाले तिमी हुँदा
रोइयो त्यसै नै तिमी रुँदा।
✍️ कपिल किशोर घिमिरे
दाङ्ग , हाल कैलाली
[१६]
साेच देश राम्राे बनाउने
काममा मनै त्यो लगाउने ।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[१७]
देशको छ माटो कहाँ गयो
खोज है कता गो दुखै भयो ।
✍️ अम्विक अधिकारी
झापा विर्तामोड

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया