डा. विश्वम्भर शर्मालाई शिव–सावित्री सम्मान प्रदान

इनेप्लिज २०७९ फागुन १४ गते १७:२६ मा प्रकाशित

रौतहट

पर्साको वीरगंजमा बसेर साहित्य साधनामा रहेका डा. विश्वम्भर शर्मालाई रौतहटमा शिव–सावित्री सम्मान २०७९ प्रदान गरिएको छ । रौतहटको चन्द्रपुरमा आयोजित प्रतिभा सम्मान, रचना वाचन तथा कविता प्रतियोगिता कार्यक्रममा फित्कौली डट कमका प्रधान सम्पादक नरनाथ लुइँटेलले ११ हजार १११ रुपैयासहित दोसल्ला ओढाएर सम्मानपत्रले डा. शर्मालाई सम्मानित गरेका हुन् ।

शिव–सावित्री प्रतिष्ठान नेपाल र बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजना भएको कार्यक्रममा डा. शर्मालाई सम्मानित गर्दै साहित्यको सेवालाई आफूलाई पहिचान गराउने र देशको प्रतिष्ठा बढाउने काम भइरहेको बताएका छन् । डा. शर्मालाई सम्मानित गर्न पाउँदा स्वयं आफू नै सम्मानित भएको अनुभूति गरेको पनि लुइँटेलले बताएका छन् । सम्मानित भएपछि डा. शर्माले आफूमाथि जिम्मेवारी थपिएको अनुभव गरेको बताएका छन् ।

नेपाली र भोजपुरी भाषामा निरन्तर कलम चलाइरहेका डा. शर्माका सिर्जना, शोध तथा समालोचनात्मक गरी करिब एक दर्जन कृति प्रकाशित छन् । डा. शर्मा लघुकथा समाज नेपालको मधेश प्रदेश अध्यक्ष तथा नारायणी वाङ्मय प्रतिष्ठान वीरगंजका पनि अध्यक्ष रहेका छन् ।

कार्यक्रममा मकवानपुरका राजकुमार लामिछाने, देवराज खरेल, महोत्तरीका नानीराम दहाल, घनश्याम पन्त, नारद काफ्ले, प्रेम घिमिरे, सर्लाहीका पुन्यप्रसाद घिमिरे, कुमार दाहाल कुसुम, राम नारायण चौधरी, सञ्जय सुदामा, लम्बोदर काफ्ले, मीना देवकोटा, सुमित्रा आचार्य, राजेश्वरी काफ्ले, बाराका महम्मद इसहाक हुसेन, खोटाङका पुष्पराज रोइवा, रुपन्देहीका हरि शर्मा, चितवनकी अम्बिका कार्की, रौतहटका सञ्जय साह मित्र, किशुनदयाल श्रीकृष्ण, डा. शालीग्राम शर्मा, संगीता सहनीलगायतले भाषा र साहित्यप्रति धारणा राख्नुका साथै विभिन्न विधाका रचना वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष उत्तममोहन अधिकारीको अध्यक्षता तथा रमेशमोहन अधिकारीको संचालनमा भएको कार्यक्रममा चन्द्रमोहन अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

२१ प्रतियोगीले भाग लिएको प्रतियोगिताबाट मीना रसाइली प्रथम, आकृति चौधरी द्वितीय, तेजस्वी गजमेर तृतीय र उत्सव थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

साहित्यिक गतिविधि कम हुन थालेको अवस्थामा रौतहटमा बज्जिका साहित्य समाज र बुढ्यौली साहित्य समाजले कार्यक्रमलाई निरन्तरता दिएको छ । हरेक वर्ष लक्ष्मी जयन्तीको अवसरमा शिव सावित्री प्रतिष्ठानले गर्दै आएको कार्यक्रम यस वर्ष फागुनमा गरेको हो

प्रतिक्रिया