नेपालका राष्ट्रपति र राष्ट्रियताको प्रश्न

विष्णु शीतल २०७९ फागुन ११ गते १२:२३ मा प्रकाशित

यही फागुन २५ गते अर्थात मार्च ९, २०२३ का दिन नेपालमा तेश्रो राष्ट्रपतिका लागि निर्वाचन हुदैछ । प्रतिनिधि सभा राष्ट्रिय सभा र प्रदेश सभाका प्रतिनिधि मतदाता रहेको यो निर्वाचनमा ८८१ जनाले मतदान गर्ने छन । मतदाता नामावली हिजै प्रकाशित भइसकेको छ । मतदाताको पद अनुसारको मतभार हुने भएकाले दलको प्रतिनिधि संख्याको आधारमा राष्ट्रपतिको निर्वाचन हुने छ ।

नेपालको राजनीतिक भूगोल अलि जटिल किसीमको भएकाले राष्ट्र प्रमुखको चयनमा देश भित्र र बाहिरबाटसमेत चासो र चिन्ता व्यक्त भइरहेको देखिदै आएको छ । सन २००८मा नेपालमा गणतन्त्र घोषणा भएयता तेश्रो राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामबरण यादब थिए भने दोश्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन जो आगामी मार्च १२ तारिकसम्म बहाल रहनेछिन ।

नेपालको संविधान २०७२ले राष्ट्रपति पदलाई अलंकारिक बनाएको छ । प्रधानमन्त्रीलाई कार्र्यकारी बनाएर संविधानले राष्ट्रपतिलाई सरकारको रबर स्टाम्प जस्तो परिकल्पना गरेको छ । सरकारले जे निर्णय गरेर सिफारिस गर्दछ त्यसलाई अक्षरश स्वीकार गरी हस्ताक्षर गर्नू पर्दछ । तर जब राज्य विप्लब,प्राकृतिक प्रकोप, बाह्य हस्तक्षेपलगायतको संबेदनशील र संकटपूर्ण अबस्था आएमा राष्ट्रपतिले स्वविबेक प्रयोग गरेर राष्ट्रको रक्षा गर्नु पर्दछ । देश र जनताको रक्षाका लागि कदम चाल्न वा देश गंभिर संकटमा पर्न सक्ने लागेमा राष्ट्रपतिले स्वविबेक प्रयोग गरी कदम चाल्नुपर्ने भएकाले स्वभाविक रुपमा राष्ट्रपति राष्ट्रभक्त हुन जरुरी छ ।

नेपालको राजनीति लामो समय राजतन्त्रात्मक ढाँचामा चल्यो । झण्डै २५० बर्ष शाह बंशीय राजाहरुले राज गरे । ती राजाहरुले मुलुकलाई दुई वटा ठूलो भूगोल लिएर फरक विचारधाराको राजनीतिबाट परिचालित देशहरुको बीचमा जोगगाएर पनि राखेका हुन भन्दा फरक पर्दैन । खास गरी दक्षिणतर्फको छिमेकी मुलुक भारतसँग धेरै लामो दूरीमा र खुलारुपमा सीमाना जोडिएको हुँदा पनि कहिलेकहीं देश जोगाउनु पर्ने सवाल जटिल भएर आउथ्यो । त्यस्ता परिस्थितिहरुको मूल्यांकन गर्दै कहिले सन्धी संझौता गरेर त कहिले शान्ति क्षेत्र नेपालको प्रस्ताव अघि सारेर विगतमा शाही राजाहरुले देशलाई बाह्य हस्तक्षेपबाट बचाएको. देखिन्छ ।

भारतमा अंग्रेजहरुले लामो समयसम्म शासन गर्दा कतिपय अवस्थामा अंग्रेज फौजसँग राष्ट्र प्रमुखको आदेशमा नेपाली सेनाले लडेरै सीमा रक्षा गरेका थिए । अंग्रेजहरुले छाडेर गैसके पछि पनि भारतीय शासकहरुले सिक्किमी शैलीमा नेपाल माथि हस्तक्षेप गर्ने र भारतको एक प्रान्तको रुपमा कब्जा गरेर लिने प्रयत्न गरेको देखिन्छ । त्यस्ता प्रयत्नहरुलाई पनि राष्ट्र प्रमुखको कुटनीतिक प्रयासमा देश जोगाउने प्रयास भएका उदाहरण देख्न,पढ्न र सुन्न पाइन्छ ।

मुलुक राजतन्त्रात्मक होस वा गणतन्त्रात्मक, देशमा राजा हुन वा राष्ट्रपति देशको रक्षा उनको जिम्मेवारी हो जुन अत्यन्त संबेदनशील विषय हो । देश रहे मात्र नेपाली पहिचान र अस्तित्व रहने भएकाले मुलुकको रक्षा गर्नु राष्ट्र प्रमुखको दायित्व हुन आउछ । खास गरी हाम्रो जस्ता ७० प्रतिशतको हाराहारीमा एउटै देशसँग सीमा जोडिएको र भूरिबेष्ठित भूगोल भएको मुलुकले सार्वभौमिकताको रक्षाको लागि संबेदनशील बन्नै पर्दछ ।

नेपालमा जब सन २००८मा राजतन्त्रात्मक प्रणालीको अन्त भै गणतन्त्र घोषणा भएको थियो, त्यस यता आम नेपाली जनतामा एउटा शंका हालसम्म र सायद पछिसम्म कायम रहन सक्छ , त्यो के भने– राष्ट्र प्रमुखले देश रक्षाको जिम्मेवारी निर्वाह गर्न सक्छन कि सक्दैनन । अर्थात राष्ट्रपति कतिसम्म राष्ट्रियतप्रति प्रतिबद्ध वा संबेदनशील बन्न सक्छन् । यदि राष्ट्रपतिले मुलुकको रक्षाका लागि प्रतिबद्ध हुन सकेनन भने देशको अस्तित्व क्षणभरमा समाप्त हुन सक्छ । त्यसैले राष्ट्रपतिको चयन कुनै लहडमा वा सत्ता साझेदारीको अंक गणित मिलाउनका लागि मात्र कुनै अमुक दलको कार्यकर्ता ल्याएर शीतल निवासमा विराजमान गराउने गल्ति कदापि गरिनु हुदैन ।

म यहाँ गणतन्त्र ठीक वा बेठिक, राजतन्त्र ठीक वा बेठिकको चर्चा गर्न गइरहेको छैन । यो छुट्टै विषय हो । यसमा बेग्लै समयमा बहस पैरबी गर्न सकिएला । यो नितान्त राजनीतिक विषय पनि हो । यहाँ चाहिँ नेपालको महत्वपूर्ण राजनीतिक निर्णयमा बाह्य हस्तक्षेप हुने र महत्वपूर्ण मोडमा देशभित्रका शक्तिहरु गौण देखिने, बाह्य शक्ति हावी हुने गरेको तीतो यथार्थको पृष्ठभूमिमा यो चर्चा गरिरहेको छु । नेपालको राष्ट्रपतिले केवल सोझो जिम्मेवारी मात्र निर्वाह गरेर हुँदैन । बाहिरबाट देशलाई कति खतरा छ यसलाई पनि सावधानीपूर्वक हेर्नु पर्दछ । राष्ट्रियता कति खतरामा छ यसलाई सुष्म तवरले निहालीहरनु पर्दछ । राष्ट्रियतालाई मजबूद बनाउन सधैं देशको सार्वभौमिकताको रक्षक, राज्यको प्रमुखले काँधमा महत्वपूर्ण जिम्मेवारी छ भन्ने महसुस गर्नु पर्दछ ।

राष्ट्रपति केवल औपचारिकता निर्वाह गर्ने पद मात्र नभएर देशको रक्षक निकाय पनि भएकाले यस पदमा देशभक्त,कुटनीतिक ज्ञान र क्षमता पर्याप्त भएको अनि मुलुकको भूराजनीतिलाई राम्रोसँग बुझेको ब्यक्ति नै नेपालको राष्ट्रपतिका लागि योग्य हुन सक्छ ।

नेपालमा सन २००१ मा तत्कालिन राजा बीरेन्द्रको बंश विनास हुने गरी भएको राजदर्बार हत्याकाण्ड नै गणतन्त्रको जग थियो । यस हत्याकाण्ड पछि राजाको भाई जसलाई आम मानिसहरुले सो हत्याकाण्डकै सूत्रधारको आरोप लगाउछन, लाई ल्याएर राजा बनाइएको थियो । सन २००१देखि २००८सम्म शासन गरेका ज्ञानेन्द्र शाह तत्कालिन राजाका भाई थिए । उनलाई ल्याएर राजा बनाइएको थियो । उनी प्राविधिक हिसाबले मात्र राजा थिए । कुटनीतिक ज्ञान पर्याप्त नभएका र उनका पक्षपोषकहरु पनि राजनीतिक दृष्टिकोणका हिसाबले मजबूद नभएकाले ज्ञानेन्द्र शाहले सत्ता छाडेर हिडेका थिए । नेपालका राजनीतिक दलका कतिपय नेताहरुले गणतन्त्र आफ्नो बल बुँताले आएको भनेर दाबी गरे । ज्ञानेन्द्र शाहको बहिर्गमनलाई आफ्नो ठूलो सफलताको रुपमा लिएको पनि देखियो तर यो कागताली मात्र थियो । निकै मजबूदसँग बसेको नेपालको राजसंस्थाले विना रक्तपात विदा लिएर गएको थियो । राजसंस्था हटे पछि नेपालका राजनीतिक दलहरुले सत्ताको विराषत मुफतमा पाएका थिए । हुन त यसो भनिरहदा सन २००६मा भएको जन आन्दोलनको अवमूल्यन गरेको आरोप लाग्न सक्छ तर राजसंस्था भारतको षडयन्त्र र आफूभित्रको कमजोरीले गएको हो भन्ने मेरो बुझाई छ । राजसंस्था आफैंमा यति कमजोर थियो कि यो फर्किएर पुनस्थापित हुनै सक्दैन ।

नेपाली जनताले सन २००८मा पाएको गणतन्त्रबाट मुलुक संमृद्ध र पूर्ण सुरक्षित भएको महसुस गर्न सकिरहेका छैनन । यसको प्रमुख कारण अस्थिर पात्रहरु नेपालको राजनीतिमा हावी भइरहनु हो भन्ने मेरो बुझाई हो । अस्थिरता नेपाललाई आफ्नो पकडबाट बाहिर जान नदिने भारतीय र कतिपय बाहिरका कुटनीतिक खेलाडीहरुको प्रयासबाट आइरहेको छ । अस्थिरता आम नेपाली जनताको अधैर्य र हतारमा निर्णय गर्ने मनोबृतिबाट आइरहेको छ । आफ्नो स्वार्थका लागि बाह्य शक्तिहरुलाई खेल्न मैदान उपलब्ध गराउने कप्तानहरुको कारणले आइरहेको छ । हामी देखिरहेका छौं भारतबाट आएको एउटा कर्मचारीले नेपालका प्राय ठूला भनिएका नेता,बहालवाला संबैधानिक प्रमुखहरु सबैलाई सहजै भेटेर विभिन्न आग्रहहरु अघि सार्ने हिम्मत गर्दछन । किन यति धेरै दौडधूप गर्छन बाह्य शक्ति राष्ट्रहरु, किन यो सुविधा उपलब्ध छ उनीहरुलाई । किन आफ्नो राष्ट्रको मर्यादा र सम्मान गर्न सक्दैनन राजनीतिक नेताहरु ? यिनै सवालहरुको वरिपरी घुमिरहेको छ राष्ट्रपतिको निर्वाचन । परिणाम पनि यिनै बाह्य खेलाडीहरुको इच्छा अनुकुल नआउला भन्न सकिन्न । फेरि एक पटक देशले हार्न सक्छ । जुन आम नेपाली जनताको हार हो । देशमा बाहिरका खेलाडीहरुलाई खेल्न दिने ‘भद्र सहमति‘ हुन सक्छ । किन भने विगतमा यस्ता देश घाती सहमतिहरु पटक पटक भएका छन । देशले धेरै पटक धोका पाईसकेको छ । राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयक जो देशलाई फिजीकरण गर्ने फर्मुला हो,यसकै वरिपरी बाह्य शक्तिहरु खास गरी भारतीयहरु घुमिरहेका छन । नेपालका भारतीयहरु यो वाताबरण बनाइरहेका छन । दशौं लाख हमारा लोगोंको नागरिकता दिलवाना है. भन्दै सार्बजनिक अभिव्यक्ति दिने भारतीयहरुको इशारा अनुसार गठबन्धन बन्दै गरेका समाचारहरु पनि हतारमा बाहिर आइरहेका छन । अझै पनि अन्तिम घडीमा देशभक्त राजनीतिक दल र जनप्रतिनिधिहरुले राष्ट्रले जित्ने कदम चालुन र एक देशभक्त नेपालीलाई राष्ट्र प्रमुखको रुपमा निर्वाचित गरुन । देशले हार्न नपरोस ।

प्रतिक्रिया