महालक्ष्मी छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ५१” सम्पन्न !

इनेप्लिज २०७९ फागुन १० गते ११:२७ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ फागुन ६ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५१” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत महालक्ष्मी छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई महालक्ष्मी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

महालक्ष्मी छन्द
गण : र  र  र
सङ्केत : SIS    SIS    SIS
( तीन अक्षरमा छोटो विश्राम)

अभ्यासका क्रममा सङ्कलन भएका महालक्ष्मी छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू

[१]
१.
छन् विदेशी यहाँ जासुस
लाउँछन् कण्ठमा अङ्कुश।
२.
सम्झना आउँछन् खातमा
सुन्दरी सङ्गिनी रातमा।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
नाचियो लोकको तन्त्रमा
लोक नै खैँचिने मन्त्रमा ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
देशमा जोगिने को अब?
धूर्तका खेलमा छन् सब।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[४]
१.
जिन्दगी दुःखमा टाढियो,
सत्यता लुप्तभो भाँडियो !
२.
कल्पनातीत भो देखदै,
बिग्रियो लेखदा लेखदै !
✍️ बिबस पारदर्शी
झापा
[५]
लागियो धूर्तको मन्त्रमा,
भासियो भीडको तन्त्रमा।
✍️ टिकाराम पुन टिपु
सल्यान
[६]
लेख्छु लौ गर्छु यो कामना,
प्रेमको भावमा सामना !
✍️ आर्त अकुलीन
कैलाली
[७]
१.
कामको तालमा माधुरी,
बज्दछन् शानले बाँसुरी ।
२.
दुःखको हालमा छन् चरा,
रोगले मर्दछन् ती बरा।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी
[८]
शम्भुको भक्तिमा साधना,
लाइयो पूर्ण छन् कामना ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[९]
१.
सम्झना आउँछन् रातमा ,
सुन्दरी सङ्गिनी साथमा ।
२.
मन्त्रले बाँधिए साधक ,
तन्त्रले गर्दियो बाधक ।
✍️ बेदु न्यौपाने
काठमाडौ
[१०]
गर्दछन् लोकले आरती,
दर्बिलो देखिए सारथि ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[११]
१.
छेउमै पार्वती सुन्दरी
शम्भुका हातमा झर्झरी ।
२.
भक्तिले धन्य हामी भयौँ
शम्भुको अर्चनामा गयौँ ।
✍️ बाबुराम गौतम
गुल्मी
[१२]
देखिए चाँदनी रातमा,
मर्द ती प्रेमिका साथमा।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[१३]
शम्भुका छेउमा पार्वती
प्रेमका भावना छन् अति ।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[१४]
१.
बेसरी सम्झना आउने,
हर्षको कल्पना पाउने।
२.
बिर्सिए तिर्सना मेटियो,
सम्झिए प्रेरणा भेटियो।
✍️ अच्युत घिमिरे
भुटान बाट🇧🇹
[१५]
१.
जिन्दगी सत्यकाे आशमा
अल्जियाेस् सार जाे खासमा।
२.
राष्ट्रका सम्झना आउँछन्
भव्यता देखि अत्याउँछन् ।
✍️ इन्दिरा प्रयास
सानाेठिमी,भक्तपुर ।
[१६]
१.
चाहिने मेल नै जातमा,
कामको सीप थ्यो हातमा ।
२.
खानु हो हातमा पातमा,
बस्नु थ्यो आपसी जातमा ।
✍️ रामप्रसाद पुरी
बादेल खोटाङ।
[१७]
१.
जिन्दगी कष्टमा मर्दछन्,
फैसला मित्रले गर्दछन्।
२.
घाउमा औषधी चर्कियो,
लाउँदा बेसरी झर्कियो ।
✍️ भगवती दवाडी
झापा

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया