अमेरिकाको कनेक्टिकटबाट चालक अनुमति पत्रको लिखित परीक्षा नेपाली भाषामा हुनु पर्ने माँग ,ब्रानफोर्डका प्रतिनिधि रामचन्द्र श्रेष्ठद्वारा आबश्यकता र महत्वको प्रकाश

इनेप्लिज २०७९ फागुन ६ गते २०:०४ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यबाट चालक अनुमति पत्रको लिखित परीक्षा नेपाली भाषामा हुनु पर्ने माँग गर्दै सार्वजनिक सुनुवाईमा प्रतिनिधिमण्डलले भाग लिएको छ ।

डिपार्टमेन्ट अफ मोटर भेइकल(डिएमभी ) कनेक्टिकटबाट संचालन गरिने सवारी साधनको लागि लिइने लिखित ज्ञान परीक्षामा नेपाली भाषा पनि समाबेश गर्ने ब्यबस्था होस् भन्दै विधायिका कार्यालयमा यातायात समिति अन्तर्गत भएको सार्वजनिक सुनुवाईमा नेपाली प्रतिनिधिमण्डलले आफ्ना माँग राख्दै सुनुवाईमा सहभागिता जनाएको छ ।

उक्त सुनुवाई कार्यक्रम राज्य सिनेटर क्रिस्टिन कोहेनको सभापतित्त्वमा भएको थियो ।

उक्त समितिका प्रतीनिधीहरू द्वारा सोधिएका प्रश्नहरूमा डिएमभिको नलेज टेस्ट इक्जाम ( लिखित सवारी साधन परीक्षा )मा नेपाली भाषा पनि समावेश गर्नुपर्ने आबश्यकता र महत्वको बारेमा ब्रानफोर्डका नेपाली प्रतिनिधि प्रकाश पार्नुको साथै जिज्ञाशाको उत्तर रामचन्द्र श्रेष्ठले दिएका थिए ।

राम चन्द्र श्रेष्ठ कनेक्टिकट राज्यको ब्रानफोर्डको नगर परिषद सदस्य हुन् । उक्त सुनुवाई कार्यक्रममा एसएनए ब्रानफोर्ड र न्याकोन वेष्ट हार्टफोर्डका पदाधिकारी तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो । सुनुवाईको क्रममा राज्यमा नेपाली भाषीको संख्या तिब्र रुपमा बढि रहेको कुराको जानकारी गराईएको थियो ।

त्यस्तै म्यान्सफिल्ड निवासी समाजसेवी रमेश केसीले पनि धारा १ बिधेयक ६६५६ लाई पारित गर्न सुनुवाईको क्रममा आफ्नो भनाई राखेका थिए । उनले कनेक्टिकट राज्यको वेस्ट हार्टफोर्ड, ब्रान्फोर्ड, म्यान्सफिल्ड, नर्विच, स्टाम्फोर्ड आदि स्थानहरुमा नेपालीहरुको बाक्लो बस्ति भएको समेत जानकारी गराएका थिए ।

उनले अमेरिकाको न्यूयोर्क ,भर्जिनिया,मेरिल्याण्ड लगायत राज्यमा जस्तै कनेक्टिकट राज्य यो बिधेयक पारित गर्न मौका दिनु पर्ने कुरामा जोड दिएका थिए । सुनुवाई कार्यक्रममा कनेक्टिकट राज्यको ब्रान्फोर्ड, वेस्ट हार्टफोर्ड , मिडलटाउन, म्यान्सफिल्ड तथा अन्य शहरका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया