जब भगवानले मेरी आमाको सृष्टि गरे

कमला प्रसाईं हाल- अमेरिका २०७९ माघ २५ गते २३:२९ मा प्रकाशित

भगवानलाई मेरी आमाको सृष्टि गर्न धेरै समय लागेको थियो रे किनकि मेरी आमा नारी हुन् । नारीमा धेरै गुणहरु भरिपूर्ण हुनुपर्छ हो त्यो गुण मेरी आमामा थियो र आजसम्म छ।

मेरी आमामा सबै प्रकारका परिस्थितिहरू सम्हाल्न सक्ने क्षमता थियो र आजसम्म छ । मेरी आमाले एकैचोटी आफ्ना सबै बच्चाहरूको हेरचाह गरेर सबैलाई खुसी राख्न सकेकी थिइन्, खुट्टामा लागेको सानो चोटदेखि हृदयमा लागेको ठुलो भन्दा ठुलो चोटसम्मलाई मेरी आमाले आफ्नो मातृत्वले निको पार्न सक्थिन् मेरी आमामा सबैभन्दा ठूलो गुण यो थियो कि मेरी आमा अस्वस्थ हुँदा पनि आफ्नो हेरचाह आफैं गर्दै दिनभर छोराछोरी र परिवारको निम्ति लगातार काम गर्न सक्थिन्।

मेरी आमाको दैनिक क्रियाकलाप देखेर भगवान पनि छ्क्क पर्दथे र भन्थे कि- यिनी बाहिरबाट हेर्दा धेरै नाजुक छिन्, तर भित्रबाट धेरै बलियो छिन् । यिनीसँग हरेक परिस्थितिलाई सम्हाल्ने शक्ति छ । यिनी कोमल छिन् तर कमजोर छैनन् ।”

भगवानले पनि भनेका थिए रे- “उनी सोच्न त सक्छिन् नै, परिस्थिति अनुसार बलवान् भएर लड्न पनि सक्छिन् ।”

त्यसैले त मैले जानेदेखि मेरी आमा महान छिन्।

भगवानले बनाएको मेरी आमाको नारी शक्ति अद्भुत छ । उनीमा भएको शक्ति नै हरेक सन्तानको बल हो, जसले आजसम्म हामी सन्तानहरुलाई प्रोत्साहन गरेको छ। मेरी आमा सबैलाई खुसी देखेर खुसी हुन्छिन्, हर समयमा हाँस्छिन् । मेरी आमाको प्रेममा कुनै शर्त छैन तर आफ्नो सन्तानले धोका दिएभने आमाको मनभने भाँचिन्छ सक्छ तर आमाले हरेक परिस्थितिसँग सम्झौता गर्न पनि जानेकी छिन्।

अन्तिममा मेरी आमाले एउटा गल्ति गरेकी हुन्छिन् त्यो गल्ति हो यिनीले आफ्नो महत्व आफैं बिर्सेकी हुन्छिन् !

सर्वप्रथम त मेरी आमा अनि मेरी आमा जस्तै ‘यस धर्तीका सबै आमाहरुमा प्रणाम व्यक्त गर्दछु।

९४ बर्ष पुगेकी मेरी आमा संसारकै महान आमा हुन् आज मेरो भौतिक शरीर आमाको साथमा सँङ्गै नभएर विदेशमा भएपनि मेरी आमाले दिएको त्यो हिजोको अमुल्य समय नै आज मेरो जीवनको सफल पाटो भएको छ। कोटि- कोटि प्रणाम छ आमा।
अर्कोजन्म अनि सात जुनीसम्म फेरि तिम्रै कोखबाट जन्म लिन पाउँ भन्ने भगवानसङ्ग प्रार्थना गर्दै आमाको दिर्घायु सु- स्वास्थको मंगलमय कामना पनि गर्दछु।

अन्तिममा आमाको लागि यो कविता

“आमा”
छाम्छु ओछ्यानमा आमालाई निन्द्रामा पनि
बालापनको याद अझै ताजै छ!
फेरि पनि आमाको काखको न्यानो माया पाउन
किन- किन आज पनि यी आँखाहरु आतुर छन् !

तिम्रा ती नि:स्वार्थ पनहरुसङ्ग नजिक भैदिएकी भए
कास आज पनि हरपल बिताउने थिए आमा तिमीसङ्गै!
हरेक चाडपर्वसङ्गै तिमीलाई खोजेकी हुन्छु आमा!
किन- किन तिमीविना आकाश पनि खुलेको देख्दिन्
आमाको तृसनाले बादलहरु पनि मडारिएको देख्छु!
आँखाका सपना अनि विपनाहरु आमाविना अधुरो लाग्छन्
हिजोको बालापनको ईतिहास बिर्सना खोज्दा पनि
किन – किन बिर्सन सक्दिन सक्दिन आमा!
जस्तै अँध्यारो औसींको रात पनि
तिम्रो छाँयाले उज्यालो बनाउने गर्दथियौं आमा!
साँच्चि नै तिमीविना र तिम्रो आशीर्वाद विना सन्तानको
भविष्य अधुरो हुन्छ !
आमा तिम्रो माया त संसार कै पवित्र माया
आमा तिम्रो माया त संसार कै पवित्र माया।।

कमला प्रसाईं
हाल- अमेरिका

“माताश्री जयन्ता (देवी) प्रसाईको संक्षिप्त जीवनी”

विक्रम सम्वत् १९८७ साल माघ २६ गते तेह्रथुम जिल्ला आठराइ हुवाकुमा पिता मनोरथ सिवाकोटी तथा माता मंन्जरा सिवाकोटीका साहिली सुपुत्रीका रूपमा जन्म लिनु भई आफ्नै गाउँघरमा दरमाली र भेरिगाँठो खेल्दै ८ बर्षको उमेरमा जिल्ला ताप्लेजुङको हाङ्पाङमा पिता लोकनाथ प्रसाईं र माता धनमाया प्रसाईंका माइला सुपुत्र श्री नारायण प्रसाद प्रसाईसङ्ग १९९५ सालमा वैवाहिक बन्धनमा बाँधिनु भएकी जयन्ता प्रसाईंले विभिन्न आरोह, अवरोह पार गर्दै विक्रम सम्वत् २०२५ सालमा मोरङ जिल्लाको साविक मृगौलिया गाउँ पंन्चायत वडा नं-९ हाल सुन्दरहरैंचा नगरपालिका वडा नम्बर-८ सलकपुरमा बसाइ सरी आउनुभएको हो। उहाँका १० सन्तान मध्ये कान्छो छोरा अर्जुन कुमार प्रसाईं र तीन छोरीहरू यस धर्तीबाट परमधामवासी भइसकेका र जेष्ठ सुपुत्र श्री कृष्ण प्रसाद प्रसाईं र पाँच छोरीहरू सकुन्तला, निर्मला, सान्ता, उर्मिला र कान्छी छोरी कमला प्रसाईं हाल अमेरिकामा बस्दछिन्। उहाँका १६ नाति नातिना र १३ पनाति पनातिना रहेका छन्।

मोरङ्ग जिल्ला सुन्दरहरैंचा नगरपालिका वडा नं- ८ मा विभिन्न सामाजिक संघसंस्था , विधालय, मठ- मन्दिरहरुमा धार्मिक आस्थाका धरोहरका रूपमा परिचित हुनुहुन्छ । उहाँले २०४४ सालमा आफ्नै सुपुत्र श्री कृष्ण प्रसाद प्रसाईं संस्थापक भएर निर्माण गरेको श्री शिक्षा निकेतन माध्यमिक विधालय सलकपुरलाई जग्गा समेत दान गरी दानविरको रुपमा चिनिनु हुन्छ। उहाँका पति स्वर्गीय श्री नारायण प्रसाद प्रसाईं २०६१ साल मंसिर १८ गते वैकुण्ठवासी भइसक्नु भएको छ।

उहाँ भन्नुहुन्छ – बुढेसकालको जिन्दगी बिताउन कठिन पर्दोरहेछ तरपनि मेरा छोरा-बुहारी, छोरी- ज्वाइँ, नाति-नातिना , पनाति- पनातिनाहरुबाट पाएको अगाध माया र सदभावले गर्दा यो बुढेसकालको जिन्दगी सहज र अझै लामो रहोस् भन्ने ईच्छा लाग्छ।
अन्तिममा भगवानको कृपाले श्रवण कुमार जस्तो आज्ञाकारी छोरोले मप्रति गरेको कर्तव्य अनि भगवानको कृपाले यस धर्तीमा रहेका सम्पूर्ण जीवआत्माहरुलाई सदा शुभ मंगल रहोस् भन्ने कामना गर्नुहुन्छ ।

जय श्री पशुपतिनाथ
जय श्रीमन नारायण

प्रतिक्रिया