पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको दुबईमा निधन

इनेप्लिज २०७९ माघ २२ गते ११:४३ मा प्रकाशित

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको दुबईमा निधन भएको छ ।

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको दुबईमा लामो समयदेखि बिरामी भएपछि दुबईको अमेरिकी अस्पतालमा निधन भएको पाकिस्तानी सेनाले जनाएको छ । उनको ७९ वर्षको उमेरमा निधन भएको छ ।

सामाजिक संजाल र समाचारहरुमा समवेदनाको साथै पाकिस्तानी राजनीतिज्ञहरूबाट श्रद्धाञ्जली र शोक सन्देशहरू आई रहेको सिएनएनले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आइतबार एक विज्ञप्तिमा पूर्व नेताको परिवारप्रति “समवेदना र सहानुभूति” व्यक्त गरेका छन् ।

सन् २०१६ देखि युनाइटेड अरब इमिरेट्सको दुबईमा स्वयम् निर्वासनमा बस्दै आएका मुशर्रफले सन् १९९९ मा सैन्य विद्रोह गरेर पूर्व प्रधानमन्त्री नवाज शरीफ – शहबाज सरिफका जेठा भाइबाट सत्ता कब्जा गरेका थिए ।

सन् २००१ मा आफूलाई राष्ट्रपति नियुक्त गरेका थिए भने उनले सन् २००८ सम्म पाकिस्तानको राष्ट्रपतिको रूपमा नेतृत्व गरेका थिए ।

मुशर्रफ सेप्टेम्बर इलेभेन(९/११ )को आतंककारी हमला पछि संयुक्त राज्य अमेरिकाको एक प्रमुख सहयोगी बनेका थिए । तर सत्तामा रहेको उनको समय विवादमा परेको थियो र उनीमाथि व्यापक मानवअधिकार उल्लंघन र उत्पीडनको आरोप लगाइएको थियो।

नोभेम्बर २००७ मा उनले आपतकालको अवस्था घोषणा गर्दै पाकिस्तानको संविधान निलम्बन गरेका थिए । २०१९ मा उनलाई उच्च देशद्रोहको लागि अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएको थियो भने उक्त निर्णय पछि उल्टिएको थियो ।

मुशर्रफ मार्च २०१६ देखि दुबईमा बस्दै आएका थिए । उनले सेहबा मुशर्रफसँग विवाह गरेका थिए र उनका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया