नियात्राकृति ‘मृतसागरमा तैरिँदा’ लोकार्पण

इनेप्लिज २०७९ माघ १५ गते १७:१९ मा प्रकाशित

माघ १५, २०७९,काठमाडौँ ।

नेपाल स्रष्टा समाजको आयोजनामा शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’को लोकार्पण गरिएको छ ।

थाहा पुस्तकालय, काठमाडौंमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार र अन्य अतिथिहरुद्वारा संयुक्त रुपमा सो कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राजकर्णिकारले नियात्रासंग्रहमा २१ वटा निबन्ध रहेको र केही स्वदेशी र केही विदेशी नियात्रा रहेको बताउनु भयो । प्रशासनिक व्यस्तताले पहिले नै साहित्य लेखन गर्न नसकेको उहाँको कृति पढेर थाहा पाइने उहाँले बताउनु भयो । नियात्रा कृतिमा देश, विदेशका विभिन्न विषयबस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्ण गरेको उहाँले उल्लेख गर्नुभएको थियो ।

स्रष्टा समाजका संरक्षक पवन आलोकले स्रष्टा डा. कडेललाई धेरै पहिलेबाट चिनेको मात्र नभइ सँगै लामो समय काम गरेपनि उहाँको साहित्यिक व्यक्तित्व नचिनेको बताउनु भयो । पछिल्लो समय उहाँले लेख्न थालेको र लेखन उत्कृष्ट रहेको आलोकले बताउनु भयो । नियात्रामा जहाँ पुग्यो त्यहीँको भाषा, परिवेश, रहनसहन, मौलिकता टपप्क टिपेको उहाँले बताउनु भयो । राष्ट्रियताको पक्षमा पनि सजग हुनुहुन्छ भन्ने कुरा नियात्रामा देखिने उहाँले बताउनु भयो । पहिलो नियात्रा कृति नै यति उत्कृष्ट आयो भने भविष्यमा थप राम्रा कृति आउने उहाँले अपेक्षा समेत गर्नुभयो ।

नियात्राकार जय छाङ्छाले पुस्तकको बारेमा विस्तृत समीक्षा गर्नुभएको थियो । समीक्षाको क्रममा उहाँले एउटा उत्कृष्ठ कृति पाठक माझ आएको बताउनु भयो । स्वदेशका ९ वटा र विदेशका १२ वटा गरी २१ वटा नियात्रा यस कृतिमा समावेश भएको उहाँले बताउनु भयो । नियात्राबाट धेरै ठाउँका नयाँ सूचना र जानकारी प्राप्त हुने उहाँले बताउनु भयो । नियात्राको सौन्दर्य भनेको नयाँ सूचना दिनु पनि भएकोले सो कुरा डा. कँडेलको यो कृतिले दिने उहाँले बताउनु भयो ।

नियात्राकार डा. कडेलले साहित्यको क्षेत्रमा अहिले आफू केटाकेटी नै भएको बताउँदै उहाँले आगामी दिनमा अन्य कृतिहरु पनि प्रकाशन गर्न तयार रहेको सूचना दिनुभयो ।

सो कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा ८५० भन्दा बढी नियात्राकृति आइसकेको बताउनु भयो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको लोकार्पण समारोहमा नियात्रा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई, प्रतीक ढकाललगायतले पनि मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका अतिथिहरुलाई समाजका सदस्य शंकर भारतीले स्वागत गर्नुभएको थियो भने समाजकी सदस्य डा. शान्तिमाया गिरीले सो कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया