बज्जिकाका महाकविप्रति रौतहटमा श्रद्धाञ्जलि

इनेप्लिज २०७९ माघ १४ गते १७:३८ मा प्रकाशित

रौतहट

बज्जिका भाषाका महाकवि प्रा. डा. अवधेश्वर अरुणप्रति बज्जिका भाषासेवी तथा साहित्यकारहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । हिन्दी, बज्जिका र अंग्रेजी भाषाका प्रकाण्ड विद्वान भारतको बिहार मुजफ्फरपुरका साहित्यकार अरुणप्रति रौतहटमा अद्धाञ्जलि दिइएको हो ।

बज्जिका भाषामा रामायणको रचना गरेका तथा शब्दकोशसमेत निर्माण गरी ३२ भन्दा बढी कृतिको सिर्जना गरेका विशिष्ट बज्जिका साहित्यकार अरुणको देहान्त गत विहीवार ८२ वर्षको उमेरमा बिहारको मुजफ्फरपुरस्थित आफ्नै निवासमा भएको थियो ।

बज्जिका साहित्य संगम रौतहटको आयोजनामा गरुडास्थित रेडियो मधेश मसला एफएमको प्रेक्षालयमा शनिवार सम्पन्न श्रद्धाञ्जलि सभामा रौतहट र सर्लाहीका बज्जिका भाषासेवी तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सर्लाहीका साहित्यकारहरु रामचन्द्र महतो कुशवाहा, सञ्जय सुदामा तथा चन्द्रशेखर रस्तोगीले प्रा.डा. अरुणसितको सम्बन्धलाई स्पष्ट पारेका थिए । रौतहटका साहित्यकारहरु बिन्दा साहनी, केदार यादव, संगीता सहनी, रेणु गुप्ता, मोमताज रायभाट, विजय यादव निर्बिजलगायतले महाकवि अरुणको योगदानको बारेमा चर्चा गरेका थिए ।

बज्जिका भाषा विकास परिषद नेपालका अध्यक्ष शिवचन्द्र साह तथा बज्जिका प्रशिक्षक विपिनबिहारी सिंहले महाकवि अरुणको योगदानलाई जीवन्त राख्न ठोस कार्यक्रम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

संगमका अध्यक्ष किशुनदयाल श्रीकृष्णको सभापतित्वमा भएको सभामा महाकवि अरुणको व्यक्तित्व र कृतित्वको बारेमा साहित्यकार सञ्जय साह मित्रले प्रकाश पारेका थिए ।

प्रतिक्रिया