पृथ्वी छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ४७” सम्पन्न!

इनेप्लिज २०७९ माघ १३ गते १०:४३ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ माघ ७ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-४७” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत पृथ्वी छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई पृथ्वी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

पृथ्वी छन्द
गण सूत्रः- ISI  IIS  ISI   IIS   ISS  IS
आठौं वर्णमा विश्राम

अभ्यासका क्रममा सङ्कलन भएका केही टुक्का कविताहरू

[१]
म हूँ हर निदानको सरल मार्ग बुझ्नुस् न ल,
बनेर मदिरा यहाँ मनुजको भएँ अम्मल।
• अनिल खग्रास

[२]
१.
भुल्यौ प्रणय सुन्दरी, रहर जिन्दगीको गयो
अनेक सपना थिए, सब टुटे सिसाझैँ भयो।
२.
भएन सरकार यो, जनमुखी जनाधारको
बनेर गुटको गयो, पथ भुली सदाचारको।
•रामशरण न्यौपाने
भक्तपुर
[३]
बढेर अझ राेसनी, शिखरसम्म पुग्ने गरि
गरेर मिहिनेत लाै, थकित छैन रत्ती भरि ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[४]
प्रयोग नगरौँ कतै गलत ती समाचारको
छिनिन्छ सुखका पला खबर हुन्न लौ सारको ।
•चूडा निर्भिक
[५]
बुझेँ नि मनको प्रलोभ त रहेछ सारै खती ,
समात्न दिलको खुसी सरल छैन हेर्दै अति।
•बेदु न्यौपाने
काठमाडौ
[६]
उडेर दिल यो कुनै, सरल जीव जस्तो गयो,
चरा पवनमा उडी, मधुर सृष्टि सारा भयो !
•आर्त अकुलीन
कैलाली
[७]
बुझेर मनका कुरा, अबुझ झैँ गरेको किन ?
भयो भन त के कमी, कठिन भैदियो सम्झिन ।
•वसन्त अनुभव
घोराही, दाङ
[८]
गनेर दिन ती गए, सफरमा गए को गए
बुनेर मनको पयो,नजरमा भए के भए ?
•प्रेम थापा “मन”
बागलुङ
[९]
हरे शिव विमानमा गडबडी भयो के गरी,
अकाल कसरी मरे सकल यात्रु जल्दै झरी ?
•बिबस पारदर्शी
[१०]
१.
उषा प्रहरमा नयाँ ,रहर जाग्न थाल्यो उता
छ याद मनमा सधैं,पवन झैं बग्याे है यता ।
२.
तिमी पथ बनेर नै,म पनि पुग्छु टाढा कतै
कतै मसित नै तिमी,बहकियाै कि के हाे यतै।
•इन्दिरा प्रयास
सानाेठिमी भक्तपुर
[११]
भनेर नहुने गनेर नहुने छ माया कहाँ ?
अचेल किन हो अचेत ममता बनेको यहाँ ।
•पवन कुमार बुढाथेाकी
काठमाडौं
[१२]
बलेर दिलको दियो, अधरमा उज्यालो भयो
छलेर मनको मियो, सफरमा सुसेल्दै गयो ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१३]
खुलेन दिलको कुना नयनबाट बर्स्यो झरी,
सुनेन असली कुरा किन बसेन सुन्ने गरी ।
•अम्विका अधिकारी
झापा विर्तामोड
[१४]
१.
कुनै दिन थिए नयाँ, रस नयाँ सहेली जब,
बिते समय ती सबै , हुन गए बिरानो अब।
२.
टुटेर टुकुरा फुटेँ,नत जुटेँ उठेँ खै कहाँ,
परेँ अभरमा मता,शहरमा छुटेको जहाँ।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१५]
गनेर मनको कथा, सुगम सोच आयो अरे,
टिपेर दमना यसै, महक गीत गायो भरे।
•अच्युत घिमिरे
भुटानबाट 🇧🇹
[१६]
लिएर सबका कुनै पनि चिजै नछोडी गयो,
तिरेर उनको धनै नसकिने अवस्था भयो ।
•भगवती दवाडी
झापा
[१७]
१.
सरक्क नचुँडे बिथोल्न नसरे अगावै सरी,
जुधे नि नजरै सुटुक्क वशमा भएको घरी।
२.
नमास बिरुवा बुटी असल कामको त्यो जता ,
सजीव कुरुवा उठीकन सयौंँ भिरेकोे लता ।
•जमुना आचार्य
सिन्धुपाल्चोक

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया