‘रैथाने’ र ‘अन्तर्मनका भाकाहरु’ लोकार्पण

इनेप्लिज २०७९ माघ ८ गते १०:२५ मा प्रकाशित

२२ जनवरी, लन्डन

समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित रण काफ्लेको ‘रैथाने’ उपन्यास र कवि पिमला न्यौपानेको ‘अन्तर्मनका भाकाहरु’ कवितासंङ्ग्रह भर्चुअल माध्यमबाट लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भयो ।

वरिष्ठ साहित्यकार प्रा डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, भारत र नेपालका थुप्रै स्रष्टाहरुको उपस्थिति थियो ।

क्यानडाबाट समीक्षक डा. गोविन्दसिंह रावतले रैथाने उपन्यास भारतमा रहेका नेपालीहरुको बारेमा लेखिएको यथार्थवादी उपन्यास भएको बताए । भारतमा रहेका नेपालीहरु आफूलाई गोर्खाली भन्न मन पराउँछन्, उनले भने ।

बेलायतबाट अर्का समीक्षक डा. कृष्ण उपाध्यायले रैथाने उपन्यासमा भारतमा रहेका नेपालीहरुको द्धैध मानसिक अवस्थाको राम्ररी चित्रण गरिएको बताए ।


अमेरिकाबाट समीक्षक भारती गौतमले रैथाने उपन्यास विश्वभरका प्रवासी नेपालीहरुको कथा हो भनिन् ।

अन्तर्मनका भाकाहरु कवितासङ्ग्रहको समीक्षा गर्दै डा. लेख निरौलाले विचार, भाषा र लयको उचित तालमेलमा मात्र राम्रा कविता सिर्जना हुन्छ भन्दै कवि पिमला न्यौपानेका कवितामा उक्त गुणहरु रहेको बताए । कवितामा मानविय भावनाहरु सर्वत्र आएका छन् । कवितामा दार्शनिकता पनि पाइन्छ, डा. निरौलाले भने ।

साहित्यकार नरेन्द्रराज प्रसाईले विदेशको ब्यस्त समयमा पनि आफ्नो लेखन, संस्था संचालन र अरु लेखकका पुस्तक प्रकाशनमा सक्रिय कृष्ण बजगाईंलाई धन्यवाद दिए । उनले भने, कवि पिमलाका कविता मननिय छन् ।

प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले रैथाने उपन्यासमा भारतमा रहेका नेपाली जातिको गौरवमय इतिहास आएको बताए । अन्तरमनका भाकाहरु कवितासङ्ग्रहमा प्रकृति, स्थान, राजनीति, अहंमता, कुण्ठा सबै आएका बताए । कवि पिमलाका कविता सुन्दर छन्, प्रा. डा. बरालले भने ।

समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम साहित्यकार नेत्र न्यौपानेले संचालन गर्नु भएको थियो । कार्यक्रममा डा. इगम खालिङ, डा. शशि थापा पण्डित, मुक्ती बराल, नन्दू उप्रेती, पिमला न्यौपाने, रण काफ्ले, अमर खड्का आदिले बोल्नु भएको थियो ।

प्रतिक्रिया