घाम पानी भिर अप्ठेरो
केही भन्दैन
भोको, अनिदो , फुक्को निस्तो
केही मान्दैन
रुनै परे पनि रुन्छ
हाँस्न परे पनि हाँस्छ
नाच्न परे त झन्
कम्मर मर्काई मर्काई नाच्छ
ऊ आउँछ पक्कै आउँछ
बाटो भुले पनि
कपाल फुले पनि
धुलो माटो मैलो झुत्रो केही भन्दैन
विकट दुर्गम दूरदराज केही मान्दैन
विश्वास गर ऊ आउँछ
मुन्टो झुकाएर आउँछ
गाडी, घर सम्पति लुकाएर आउँछ
घर – घर आउँछ
आँगन आँगन चहार्छ
हेरिराख ऊ आउँछ
मासु चिउरा लिएर आउँछ
थोरै गोजी भरिदिएर आउँछ
चिप्ला कुरा गर्छ
सक्ने जति चिल्लो घस्छ
नसक्ने नै भए
घुँडा धसेरै बस्छ
ऊ आउँछ पक्कै आउँछ
पाउ पर्नै परे पनि पर्छ
पाउ मोल्नै परे पनि मोल्छ
जे जे आइपर्छ
अघि सरेझैं गर्छ
मर्नै परे पनि
पछि नसरेझैं गर्छ
आफूले चाहेसम्म गर्छ
बलबुताले भ्याएसम्म गर्छ
पिट्न पिटिन तयार हुन्छ
म त यहाँको असली नेता पो हो भन्छ
हो ऊ आउँछ पक्कै आउँछ
र
अनुनय विनय गरेर भन्छ
पाँच वर्ष पाँच दिन जत्तिकै भयो
धरोधर्म त्यो कसरी गयो गयो
आफ्ना आसेपासे आफन्तीको झेलमा परें
व्यापारी दलाल कमिसनको खेलमा परें
के गर्ने चित्त त तिनको नि बुझाउनै पर्यो
आफ्नो नि दुनो सोझाउनै पर्यो
अब त मरिजाम देशको मुहार फेर्छु
परिवर्तन सबै मेरै पालामा गर्छु
एकपल्ट फेरि मैले नै जित्नुपर्छ
जितेपछि त चिन्तै नगर्नोस
देशले मुहार फेर्छ फेर्छ
देशले मुहार फेर्छ फेर्छ ।
• विष्णु पगेनी सिग्देल।
प्रतिक्रिया