मैले चिनेको गोबिन्द गिरी प्रेरणा: बसन्त श्रेष्ठ

इनेप्लिज २०७९ पुष ३० गते १४:०६ मा प्रकाशित

बसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका । मैले पहिलो पटक गोविन्दलाई भेट्दा उनी गोबिन्द गिरी मात्र थिए । ‘प्रेरणा’ बनि सकेका थिएनन् । विसं २०३३ सालमा मिन भवन क्याम्पसमा म परिक्षा शाखामा कार्यरत रहदा उनलाई भेटेको हुँ । म बेलुकी जन प्रशाशन क्याम्पसमा डिपीए ( डिप्लोमा इन पब्लिक एड्मिनिस्ट्रेसन) पढ्थें । दिनमा मिन भवन क्याम्पसमा काम गर्थें । उनी बाणिज्य शास्त्रमा क्याम्पसको पढाई गर्दै थिए । उनकै ब्याचका थुप्रै बिद्यार्थिहरु मेरा मित्रवत जस्तै थिए । क्याम्पसभित्र मात्र होईन बाहिरतिर पनि भेटिने गरिन्थ्यो । त्यहि समयका यी पनि मेरा मित्र बने । मैले करिब छ महिना मात्र त्यस मिन भवन क्याम्पसमा काम गरे पनि मैले थुप्रै मित्र त्यहाँ प्राप्त गरेको छु जो आज सम्म पनि सम्पर्क मै छन् । ती मध्ये उनी एक हुन् । गोबिन्दसंग काठमाण्डौमा धेरै भेटघाट र सम्पर्क भए तापनि कुनै पनि साहित्यिक सभा समारोहमा भेट गरेको मलाई सम्झना छैन ।

सम्बत २०२९ सालमै मैले प्रगतिशील साहित्यको सामयिक साहित्यिक पत्रिका “पुर्वेली धून” सम्पादन र प्रकाशित गरिसकेको थिएँ । विसं २०३९ सालसम्म म बिद्यार्थी राजनीतिमा र प्रगतिशील साहित्यतर्फ नै मेरो झुकाव बढी थियो । यिनै कारणहरु हुन सक्छन, हाम्रो साहित्यिक भेटघाट नहुनुमा । त्यसैले नेपालमा रहँदासम्म मेरो बाक्लै भेटघाट भए तापनि कुनै पनि साहित्यिक सभा र समारोहमा भेटघाट र चर्चा परिचर्चा नभएको हुनुपर्छ ।

विसं २०३६ सालको “सडक कविता क्रान्ति” को बिगुल फुकेसंगै बढेको उनको रफ्तार नेपाली साहित्यको बिबिध बिधा र बिभिन्न बिषयमा प्रकाशित उनका लोकप्रिय साहित्यिक पुस्तकहरुले प्रष्ट पारेको छ ।

अर्को कारण, विसं २०३९ सालमा बुबाको असामयिक निधनपछि बुबाको ब्यबसाय सम्हाल्न म पाँचथरको फिदिम बस्ने पुगें । त्यस पछि काठमाण्डौ आउने जाने क्रम मात्र रह्यो । खास बसाई भएन ।

अनि बिक्रम सम्बत २०५१ सालमा त म अमेरिका प्रस्थान गरिहालें ।

त्यस बेलासम्म गोबिन्द गिरी मात्र नभएर गोबिन्द गिरी प्रेरणा बनिसकेका थिए । त्यो बन्नुमा उनले नेपाली साहित्यका निकै लामालामा खुड्किला पार गरिसकेका थिए । विसं २०३६ सालको “सडक कविता क्रान्ति” को बिगुल फुकेसंगै बढेको उनको रफ्तार नेपाली साहित्यको बिबिध बिधा र बिभिन्न बिषयमा प्रकाशित उनका लोकप्रिय साहित्यिक पुस्तकहरुले प्रष्ट पारेको छ । नेपाली साहित्यको सबभन्दा लोकप्रिय विधा कविताबाट शुरु गरेको उनको साहित्यिक लेखनयात्रा कथा,

उपन्यास, नियात्रा, निबन्ध, नाटक, समालोचना, निवन्ध मात्रमा सीमित नरही सम्पादन र अनुवादमा समेत उनी फैलिएका छन् । सवै विधामा गरी करिव तीन दर्जन उल्लेखनीय साहित्यिक पुस्तकहरु नेपाली साहित्यको भण्डारमा उनले थप गरिसकेका छन् । वास्तवमा भन्ने हो भने उनी बरिष्ठदेखि कनिष्ठ साहित्यकारहरुसंग भेटेर या अन्तरवार्ता लिएर साहित्यिक मित्र मण्डली बनाउन सक्ने एक मात्र खुबी भएको साहित्यकार हो भन्नु अत्युक्ति नहोला । मलाई थाहा भएसम्म उनी मात्र एक साहित्यकार हुन् जसले धेरै भन्दा धेरै साहित्यिक कार्यक्रममा सहभागी भएर नेपाली भाषा र साहित्यको साहित्यकारसंग नेपाली भाषा साहित्यको उन्नयनमा सक्रियता पुर्बक निरन्तर लागिरहेका छन् ।

त्यसपछि देखि आजसम्मको अमेरिकाको साहित्यिक गतिविधिमा हाम्रो साहित्यिक सहयोग, सम्बन्ध र गतिबिधि एकनासले सीधा सरल रेखा जस्तो भएर बगिरहेको छ ।

अमेरिकामा उनीसंग मेरो प्रथम भेट सन् २००० सालमा एटलान्टामा आयोजना भएको “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब”मा भएको हो । म त्यस समय अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय अध्यक्ष थिएँ र सो महोत्सबको आयोजक नै त्यहि संस्था थियो । उनी त्यही कार्यक्रमको निमन्त्रणामा सो समारोहमा भाग लिन पहिलोपल्ट अमेरिका आईपुगेका थिए । त्यसपछि देखि आजसम्मको अमेरिकाको साहित्यिक गतिविधिमा हाम्रो साहित्यिक सहयोग, सम्बन्ध र गतिबिधि एकनासले सीधा सरल रेखा जस्तो भएर बगिरहेको छ । उनको र मेरो साहित्यिक संस्था मार्फत कतिपय यात्राहरु फरक फरक भए तापनि लक्ष्य एउटा नै थियो भन्दा किमार्थ फरक पर्दैन ।

यस लेखमा अमेरिकामा रहेर उनीसंगको नेपाली साहित्यको विकासका लागि गरेका सहकार्यको केहि संक्षिप्त चर्चा उल्लेख गर्न मनासिव ठानेको छु ।

सन् २००३ सालमा उनको साहित्यिक यात्राको २५ बर्ष पुगेको अवसरमा “एकेडेमी अफ नेपाली पोईट्स एण्ड राईटरस” को आयोजनामा वाशिंगटन डिसीस्थित माउन्ट एभरेष्ट रेष्टुरेन्टमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । कवि हेमन्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा डिसी वरिपरीक थुप्रै साहित्यिकार तथा साहित्यिक अनुरागीहरुको उपस्थिति भएको थियो । सो कार्यक्रममा मैले उनको साहित्यिक व्यक्तित्वको सविस्तार चर्चा गरेको थिएँ ।

                                 (तस्बिरमा गोबिन्द गिरि प्रेरणा र हेमन्त श्रेष्ठ पनि देखिन्छ ।)

सन् २००८ सालमा मेरो प्रथम कविता कृति “बसन्त श्रेष्ठको कविता” को सम्पादन र प्रकाशनको सहयोग समेत साहित्यकार गोबिन्द गिरी प्रेरणाको प्रेरणा स्वरूप प्रकाशित हुन् सफल भएको थियो । वास्तबमा नढाँटि भन्नु पर्दा उनकै घचघ्चाई र प्रोत्साहन स्वरूप नै मैले आफुलाई नेपाली साहित्यमा स्थापित हुन सकेको मानेको छु । अन्यथा म त्यसअघि आफुलाई नेपाली भाषा साहित्यको संगठनकर्ता र संस्थागत बिकासको कार्यको अभियन्ता मात्र ठानेको थिएँ । त्यसपछि आजसम्म चौथो कविता कृतिको जन्म भै सकेको र थुप्रै थुप्रै लेख रचना हरु प्रकाशित भै सकेका छन् ।

उनको साहित्यिक सकृयतालाई उनको मृदुभाषी, सरल र सहज व्यक्तित्वले ठूलो भुमिका खेलेको छ भन्ने मलाई लाग्छ ।

अनेसास तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा उडब्रिजको अक्वाकन शहरमा बरिष्ठ समालोचक डा. बासुदेब त्रिपाठीको अभिनन्दन कार्यक्रम गरिएको थियो । सो कार्यक्रमको अभिनन्दन पक्षको संयोजक गोबिन्द गिरी प्रेरणा थिए । सो कार्यक्रममा मैले डा. त्रिपाठीको साहित्यिक व्यक्तित्व र चिनारी प्रस्तुत गर्ने अवसर प्राप्त गरेको थिएँ ।

अमेरिका भ्रमणमा आउनु हुँदा गीतकार यादब खरेलको सम्मानमा एक सम्मान कार्यक्रमको आयोजना भर्जिनियाको आर्लिंगटन स्थित शरण रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।

अनेसासको डिसी च्याप्टरको अध्यक्ष गोबिन्द गिरी प्रेरणाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मैले पनि आफ्नो साहित्यिक अभिव्यक्ति प्रकट गर्ने सुअवसर प्राप्त गरेको थिएँ ।

अमेरिका भ्रमणमा आउनु भएका साहित्यकारद्वय पुष्कर लोहनी र नरेन्द्र बहादुर श्रेष्ठको सम्मानमा अनेसास डिसी च्याप्टर ले एक साहित्यिक भेटघाट र सम्मान कार्यक्रमको आयोजना गरेको थियो । च्याप्टर अध्यक्ष गोबिन्द गिरी प्रेरणाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम भर्जिनिया राज्यको आर्लिंगटन शहर स्थित शरण रेष्टुरेन्टमा सम्पन्न भएको थियो । सो कार्यक्रममा मैले पनि शुभकामनाका शब्दहरु प्रेमोपहार शब्दहरु व्यक्त गर्ने अवसर प्राप्त गरेको थिए ।

सन् २०१० सालमा महाकवी लक्ष्मी प्रसाद देवकोटाको शत बार्षिकी कार्यक्रम सप्ताह ब्यापी रुपमा मनाउने निर्णय गर्यो । गोबिन्द गिरी प्रेरणाको संयोजन र सक्रियतामा देवकोटा शत बार्षिकी समारोह आयोजक समितिको तर्फबाट वाशिंगटन डिसी मेट्रो क्षेत्रको बिभिन्न शहरहरुमा सात दिनसम्म धुमधामका साथ सप्ताह ब्यापी कार्यक्रम सम्पन्न गरियो । पहिलो दिन नेपाली दुताबासबाट नेपाली संस्कृति झल्कने संस्कृतिक झाँकी सहितको जुलुसले डिसी नगर परिक्रमम गरि नेपाली दुताबासमा एक आम सभाको आयोजना गरिएको थियो । सो आम सभामा मैले महाकवी देबकोटाको संक्षिप्त चिनारी र साहित्यिक देनको बारेमा बोलेको थिएँ । उक्त सप्ताह ब्यापी देवकोटा जयन्ति अत्यधिक चर्चित र एक ऐतिहासिक कार्यक्रम बन्न सफल भएको थियो । जो आजसम्म पनि सबैले सम्झने गर्दछन ।

सन् २०१० सालमा एएनएले साहित्यिक विभागको गठन गर्यो । “नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका”को संस्थापक अध्यक्ष भएर मैले प्रवासमा नेपाली भाषा र साहित्यको बिकासमा निरन्तरता दिएँ । त्यसरी नै मित्र गोबिन्द गिरी प्रेरणाले पनि नेपाली साहित्यको उन्नयनको लागि “अमेरिकी नेपाली साहित्य प्रतिष्ठान” नामक संस्था स्थापना गरेका थिए । सो संस्थामा मैले त्यस संस्थाको सफलता र बधाईको शुभकामना ब्यक्त गर्ने अवसर प्राप्त गरेको थिएँ ।

सन् २०११ मा अमेरिकी नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकी साहित्य प्रतिष्ठान तथा डअनेसास डिसी च्याप्टरको संयुक्त आयोजनामा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको थियो । सो अभिनन्दन कार्यक्रममा मैले शताब्दी पुरुषको जीवनी र व्यक्तित्व माथि प्रकाश पर्ने प्रयास गरेको थिएँ । यो कार्यक्रममा उनको संयोजनकारी भूमिका रहेको थियो ।

सन् २००७ मा मैले अस्वीकृत विचार साहित्य पुरस्कार प्राप्त गर्ने सु अवसर प्राप्त भएको थियो । अस्वीकृत विचार साहित्य गुठीको सस्थापक अध्यक्ष कविताराम श्रेष्ठले अमेरिकामा नै पुरस्कार वितरण गर्ने निर्णय गरे । बरिष्ठ समालोचक तथा गुठीका सल्लाहकार कृष्ण चन्द्र सिंह प्रधान भिषाको कारण उपस्थित हुन सक्नु भएन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी च्याप्टरको आयोजनामा र अध्यक्ष गोबिन्द गिरी प्रेरणाको सभापतित्वमा पुरस्कार वितरण कार्यक्रम भर्जिनियाको आर्लिङ्गटन स्थित क्षेत्रीय पुस्तकालयमा सम्पन गरिएको थियो । सो संस्थाको पुर्ब अध्यक्ष बासु श्रेष्ठको उद्घोषण र बरिष्ठ साहित्यकार तारानाथ शर्माको हात बाट मैले सो पुरस्कार प्राप्त गरेको थिएँ ।

साहित्यकार परशु प्रधान संगको उनको संयुक्त लेखनको उपन्यास “बिसर्ग” र उनको चर्चित पन्यास “लिभिङ्ग टुगेदर” बारेमा मैले आफ्नो पाठकीय प्रतिक्रिया नेपाल बाट प्रकाशित र लोकप्रिय पत्रिका “अभिव्यक्ति” मा प्रकाशित गरेको थिएँ !

उनीसँगको मेरो प्रवासमा साहित्यिक सह यात्राको क्रममा मैले निचोडमा भन्नु पर्दा उनी नेपाली भाषा साहित्यिका एक असल साधक हुन् । बिसं २०३४ साल देखिको उनको साहित्यिक बिकासको दौड धुप आजसम्म निरन्तर सक्रियताका साथ लागिरहेको छ भन्दा किमार्थ अतिशयोक्ति ठहरिंदैन । भन्नु नै पर्दा हाम्रो भेटघाट र दुर सम्बादमा पनि हामी हाम्रो पारिवारिक र अन्य विषयका कुरामा भन्दा बिशुध्द साहित्यका बिषयमा अधिकांस समय खर्चिने गरेकोछौं ।

उनकै कारणले नेपालका साहित्यकारहरुसँगको आत्मियता, साहित्यिक गन्थन र मन्थन बढ्दै गई साहित्यिक सम्बन्ध झन् कसिलो र दरिलो बन्दै गएको यथार्थता हो ।

अझ भन्ने हो भने गोबिन्द गिरी प्रेरणाले अमेरिकामा रहन थाले पछि नै नेपालमा रहनुहुने नेपाली साहित्यकारहरु र अमेरिकामा रहनु हुने नेपाली साहित्यकारहरु विच पुलको काम गरे । उनकै कारणले नेपालका साहित्यकारहरुसँगको आत्मियता, साहित्यिक गन्थन र मन्थन बढ्दै गई साहित्यिक सम्बन्ध झन् कसिलो र दरिलो बन्दै गएको यथार्थता हो । उनको नेपाली साहित्यकारहरु संगको कसिलो सम्बन्धको कारणले नै अमेरिकामा रहेर नेपाली साहित्यको बिकास सम्बन्धि जानकारी प्राप्त गरेका हुन् ।

यो लेख लेख्दै गर्दा उनको एउटा अर्को साहित्यिक उचाईको एउटा थप कुरा उद्घाटन गर्न मन लागेकोछ । त्यो हो अब नेपाली साहित्यिक पाठक हरुको लागि साहित्यकार गोबिन्द गिरि प्रेरणाले उनको दुई महत्वाकांक्षी पुस्तक पाठक हरु माझ निकट भविष्यमा नै ल्याउदै छ । पहिलो लामो समयको तयारी पछि बिशेष अनुसन्धानमा आधारित नेपाली साहित्यको शिखर मदन पुरस्कार बिजेता लेखिका पारिजात अर्थात् बिष्णु कुमारी वाईबा को जीवन र साहित्यिक व्यक्तित्वका बिभिन्न पाटाहरु उत्खनन गरिएका छन् । अनि अर्को उनका लामा लामा कथाहरुको दोश्रो सङ्ग्रह प्रकाशित गर्ने तयारी गरिरहेका छन् ।

अन्तमा मित्र तथा साहित्यिक सहयात्री स्थापित तथा चर्चित साहित्यकार गोबिन्द गिरी प्रेरणाको साहित्यिक यात्राले अझै शिखर चुम्न सकोस र आउने नयाँ साहित्यिक पुस्तकहरुले सम्पूर्ण पाठकहरुको मन चुम्न सकोस । यहि नै मेरो हार्दिक कामना छ ।

  (सन् २००० सालमा एटलान्टामा सीएनएन भवन भ्रमण पश्चात कवि रमेश खकुरेल, गोबिन्द गिरि, कृष्ण ज्ञवाली सहित म )

                        ( अस्वीकृत विचार साहित्य पुरस्कार ग्रहण गर्दाको एक समारोहको  झलक )

         ( साहित्यकार गोबिन्द गिरि प्रेरणा र बसन्त श्रेष्ठ  भर्जिनिया, अमेरिका )

( ज्ञानगुनका कुरा भाग -२०९ गोबिन्द गिरी प्रेरणा अंक – १ मा प्रकाशित लेख साभार गरिएको )

प्रतिक्रिया