चरैवेति चरैवेति …

- दिपेश पराजुली २०७९ पुष ३० गते ४:३० मा प्रकाशित

लक्ष्य मेरो कठिन जरुर- गन्तब्य धेरै दूर
निर्जन, निभृत बाटो अगाडी- बिना कुनै नूर
मार्ग छ जटिल तर मनमा असिम उत्साह
सुन्यो जसले अंतर्ध्वनी, अर्थोक के सुन्नु र कहाँ ?
आततायी दुःखको के छ सामर्थ्य, इच्छाशक्तिको अघि
चट्टानी अठोटले बरु बढाउँछ लक्ष्य प्राप्तिको गति
हिऊँदका चिसा तुसराले बरु रक्त मेरो जमाउला
मरुभूमिका उष्ण वालुवाले कोमल चर्म सुकाउला
हजार काँडाले घोच्लान मेरो नाङ्गो पाउमा
नदुखेको कहाँ छ र, शरीरको कुनै ठाउँमा
पसिनाको धारो निधारमा तर्तर
आंधीहुरीको उछालले केश जर्जर
कदम थोरै डग्मगाउलान जरुर, तर यात्रा रोकिने छैन
आँखा थोरै तिल्मिलाउलान जरुर, तर लक्ष्य छेकिने छैन
हर बाधा, हर अबरोध म छिचोरी
अड़चनका अग्ला चट्टान म फोरी
पुग्नेछु लक्ष्यमा कुनै दिन अवश्य
देख्नेछु आखाँमा सारा जगत सदृश्य
सुमार्गमै लागी रहोस मेरो पुरै मति
शक्ति मलाई पुगीरहोस चाहिएको जति
चरैवेति चरैवेति !

कठिन हुन्छ हर यात्रा, मात्र जब सुरु हुन्छ
कठोर चुनौतीले मन अझै जुझारु बन्छ
कसले सक्छ उसलाई रोक्न, जसलाई हुन्न नतिजाको पिर
सुख-दुख जो दुवै मान्दैन, हर अनुभवमा मन स्थिर
संसारिक रिसरागले मन मेरो मैलो नहोस
हर्षले भरिउन आखाँ, अश्रुको दैलो नहोस
मेरा हर कृत्यहरु ध्यान बनुन
मेरा हर इन्द्रियले प्रेम जानुन
कुनै अमुक आकृतिमा हैन, म बिराट प्रकृतिमा झुक्न सकुँ
कुनै लुब्ध लुटेराझैँ म जीवनको मनोवृत्ति लुट्न सकुँ
घोप्ट्याई प्रेम सबै, म आफ्नो बटुको रित्याउन सकुँ
खाली हात जानु छ आखिर, सबै यहिँ सिध्याउन सकुँ
हर परिस्थितिमा म प्रसन्न, काबिल बनिराखुं
हर मनस्थितिमा म आसन्न, सुप्रबल बनिराखुं
अपेक्षा छोडी आशा बोक्न सकुँ म सकेजति
म अविछिन्न, अविरल हिंडीराखुं सकेको जति
चरैवेति चरैवेति !

– दिपेश पराजुली 

प्रतिक्रिया