तिमी मलाई बारम्बार भन्छौ नि कान्छा,
विदेश बस्ने अनि ठुला कुरा गर्ने भनेर ??
हिम्मत भए फर्क दाजै नेपाल,
राजनीति गर्न मन भए आऊ दाजै नेपाल भनेर !
तिम्रो कुरा पनि ठिकै हो कान्छा,
अब फर्किनै पर्यो यो मनले पनि भन्छ ।
कहिले काहीँका लागि मात्र होइन,
सधैका लागि फर्कन पनि मन छ,
आफ्नै माटोमा पौरख गर मनले पनि भन्छ
खुन र पसिना सिँचेर केही गर्न पनि मन छ
तर नि कान्छा,
न म उनीहरूको “अन्धा” बनेर हिँड्न सक्छु
न म उनीहरूको “धन्दा” बनेर हिँड्न सक्छु
न म सँग कमरेड, बा, दाइ, राजनेता भन्ने सीप छ
जता पनि जाने, जे पनि बोल्ने, पछि पछि लाग्ने,
तिमी नै हौ मेरो सर्वस्व भन्दै आरती उतार्ने
अहँ त्यस्तो विशेष योग्यता मैले हासिल गर्न सकिन
लाज, नैतिकता, अनुशासन, स्वाभिमान पढेको म
संस्कार र संस्कृति मान्दै अगाडि बढेको म
सकिन मेरो स्वाभिमानलाई बन्धक राख्न
पशुहरू त लाज छोप्छन् पुच्छरले
म कसरी नाङ्गै हिँडूँ कान्छा ?
हो कान्छा म अयोग्य भएँ त्यो देशका लागि
अयोग्य भएँ त्यो देशको राजनीतिका लागि
त्यसैले आज लाखौँ नेपालीहरू जस्तै
लाहुरे भएको छु म पनि,
म जस्तै लाहुर हानिएका युवाहरू
फर्किए रे देश कैयौँ बन्द बाकसमा
तर मेरो ठेगान छैन कान्छा,
बाकस बोकेर आउँछु या बाकसमा बोकिएर आउँछु
तर पनि नि कान्छा, यो अन्तर आत्मा भन्छ
खरानी बने पनि आर्यघाट बाटै बग्न मन छ !
– रामप्रसाद खनाल
प्रतिक्रिया