एमालेसँग तत्काल एकताको सम्भावना जिरो छः झलनाथ खनाल

इनेप्लिज २०७९ पुष १८ गते १३:०० मा प्रकाशित

काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नो पार्टी यो वा त्यो अवसरवादी समूहमा लाग्ने सम्भावना नरहेको बताएका छन् ।

‘एकीकृत समाजवादी एमालेसँग एकीकरण हुन लागेको हो वा तपाईंहरु एमालेमा फर्कंदै हुनुहुन्छ भन्ने अत्यन्त महत्त्वपूर्ण सवाल हो । हिजो र अस्तिको स्थायी समितिको बैठकमा साथीहरुले खुला हृदयले आआफ्ना राख्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) अग्रगामी कम्युनिस्ट पार्टी हो, समाजवादी क्रान्ति र रुपान्तरणको बाटोमा लैजान सक्ने पार्टी हो । त्यसैले अहिले नै यो वा त्यो अवसरवादी समूहमा जाने लक्ष्य छैन । किनभने हामीले विद्रोह गरेको पार्टीमा सुधार देखिएको छैन, वैचारिक एकता पनि देखिएको छैन, संवाद पनि भएको छैन, परिस्थिति तयार पनि भएको पनि छैन । देशव्यापी रुपमा त्यत्तिकै हौवा फिँजाइएको मात्र हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने ।

एमालेका नेताहरुसँग पार्टी नेताहरुको कहीं कसैको भेटघाट नभएको दाबी पनि उनले गरे । खनालले थपे, ‘आफ्नो पार्टीलाई ठूलो बनाउने योजना र रणनीति एमालेले बनाउन सक्छ । तर हामी पनि आफ्नो पार्टीलाई अगाडि बढाउन हामी स्वतन्त्र छौं । कसो गरेर ठूलो पार्टी बन्छ, कसो गरेर सत्तामा जान्छ भन्ने खालको नेतृत्व रहेसम्म हाम्रो एकता हुन सक्दैन । एमाले नेतृत्व दक्षिणपन्थी अवसरवादको पथिक भएको छ । त्यसैले वर्तमान अवस्थामा एकताको सम्भावना जिरो छ । भविष्यमा हुँदै हुँदैन, कुनै पनि अवस्थामा हुँदै हुँदैन पनि हामी भन्दैनौं ।’

एमाले र आफ्नो पार्टी आधारभूत रुपमा फरक रहेको पनि खनालले औंल्याए । उनले भने, ‘एमाले माक्र्सवाद, लेनिनवाद र जबज भन्छ । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद मात्र हो । यसमा पुच्छर र कान जोड्नु जरुरी छैन । जबजको लक्ष्य बनाएर धरतीको कुन शक्ति समाजवादमा पुग्छ ?’

कसैले पार्टी एकीकरणको दबाब नआएको पनि उनले दाबी गरे । खनालले भने, ‘हामीलाई कतैबाट पनि दबाब छैन । पार्टी एकीकरणको परिपक्व बिन्दु कतैबाट पनि बनेको छैन । एकताका विषयमा एकपटक पनि वार्ता भएको छैन । हामीसँग एमालेभन्दा बरु माओवादी केन्द्र नजिक थियो । चुनावअघिको लर्काछर्कामा एकता संयोजन समिति बनाउने कुरा भएको थियो । कुरा त्यत्ति हो । उहाँहरु माक्र्सवाद, लेनिनवादमा माओवादको पुच्छर जोड्नुहुन्छ, हामी त्यसमा पनि सहमत छैनौं । अहिले पार्टी एकताको सम्भावना छैन, वाम एकता भने हुन सक्छ ।’

वर्तमान सरकार खिचडी गठबन्धन भएको टिप्पणी पनि उनले गरे । खनालले भने, ‘नयाँ गठबन्धनलाई हामी हेर्दैछौं । हिजो पो गणतन्त्रवादी गठबन्धन थियो । यो त खिचडी गठबन्धन हो । पुसमा खिचडी खाने आम चलनअुनसार केपी ओली र प्रचण्डले खिचडी गठबन्धन बनाएका छन् । कोही जबज भन्ने, कोही माओवाद भन्ने, कोही हिन्दु राज्य, राजतन्त्र र संघीयता खारेज भन्ने, कोही मधेस देश बनाउनुपर्छ भन्नेको खिचडी कतिन्जेल जान्छ ?’

पाँचदलीय गठबन्धन टुट्नुको पहिलो दोष शेरबहादुर देउवाकै भएको पनि उनले औंल्याए । खनालले भने, ‘नेपाली कांग्रेसले जुन हदमा लचकता र क्षमता देखाउनुपथ्र्यो, त्यो देखाउन नसक्दा अहिलेको अवस्था आएको हो । मैले सामान्य हिसाबले बाहिरबाट हेर्दा पहिलो दोष देउवाकै हो । वज्रठिंगा जस्तो छाड्नै हुन्न भनेर ककसले उहाँलाई उक्साए ? त्यो अदूरदर्शिताको परिणाम हो । उहाँले एउटा पद प्राप्त गर्न समग्र सम्भावनालाई सेक्रिफाइस गर्नुभयो । यो आम कार्यकर्तालाई छेड्ने र दुःखी बनाउने विषय हो ।’

औचित्यका आधारमा पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारलाई विश्वासको मत दिन सकिने पनि उनले बताए । खनालले भने, हामीसँग विश्वासको मत कसले माग्छ ? प्रचण्ड, माओवादी वा एमालेले माग्छ ? प्रस्ताव आएपछि औचित्यका आधारमा निर्णय गर्छौं । विश्वासको मत असम्भव भन्ने कुरा भएन । विश्वासको मत दिन सकिन्छ । प्रचण्डसँग त हाम्रो लामो समयदेखि कार्यगत एकता नै थियो । प्रचण्डसँग अनुराग पनि छ ।’

आफ्नो पार्टीले विश्वासको मत दिए पनि सरकारमा जाने बिलकुलै नसोचेका पनि नेता खनालले बताए । उनले भने, ‘स्थायी समिति बैठकमा सांसदहरु पनि हुनुहुन्छ । उहाँहरुको विचार एउटै नहुन सक्छ । प्रमुख कुरा त सरकार बनाउनेहरुले हाम्रो आवश्यकता ठान्छन् कि ठान्दैनन् ? ठान्छन् भने किन ठान्छन् ? यसबारे औपचारिक रुपमा थाहा नभईकन हामी जान्छौं भन्नु अपरिपक्वता हुन्छ । हाम्रो पार्टीलाई सरकारमा जाने कुनै आतुरता छैन ।’

आफ्नो पार्टीका दस भाइ सांसद पाँच वर्षसम्म दृढतापूर्वक बस्ने पनि उनले दाबी गरे । खनालले भने, ‘पञ्चायतमा हाम्रा पक्षका ६ सांसदले तहल्का मच्चाएका थिए । अहिलेका दस भाइ सांसदले पनि दायाँबायाँ गर्दैनन् । सबैलाई पार्टी ह्वीप लाग्छ । ती सांसदले जे पनि गर्न सक्छन् भन्ने साथीहरुलाई म दल त्यागसम्बन्धी ऐनको दफा ५९ र ६० हेर्न सुझाव दिन्छु ।’

प्रतिक्रिया