मधेश प्रदेशसभामा सबैभन्दा बढी माननीयले लिए बज्जिका मातृभाषामा शपथ

सञ्जय साह मित्र २०७९ पुष १५ गते १२:३० मा प्रकाशित

सञ्जय साह मित्र

रौतहट

मधेश प्रदेशमा सबैभन्दा बढी प्रदेशसभा सदस्यले बज्जिका भाषामा शपथ लिएका छन् । शुक्रवार मधेश भवन जनकपुरमा मधेश प्रदेशका माननीय साँसदहरुले पद तथा गोपनीयताको शपथ विभिन्न भाषामा लिएका हुन् ।

नेपाली भाषामा ५३ र मातृभाषामा ४९ माननीय साँसदले पद तथा गोपनीयताको शपथ लिएकामा प्रदेशसभामा सबैभन्दा ठूलो मातृभाषा बज्जिका देखिएको छ ।
प्रदेशसभा सचिवालयले जनाएको भनी अन्नपूर्णपोस्टले प्रकाशित गरेको समाचारमा जनाइएअनुसार बज्जिका भाषामा १३, मैथिली भाषामा ११ र भोजपुरी भाषामा ७ जना माननीय साँसदले शपथ लिएका छन् । यसै गरी मगही र हिन्दीमा २÷२ जना तथा उर्दू भाषामा एक जना माननीय साँसदले शपथ लिएका छन् ।

बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपाकुमारी यादव, वीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी, शोभा देवी र सुनिलकुमार यादव जितेन्द्रले शपथ लिएका छन् ।

मधेश प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलका नेता तथा पार्टीको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले बज्जिका भाषामा शपथ लिने भएपछि धेरै जनाले बज्जिका मातृभाषा रोजेको बताइएको छ । यादवले संविधानसभा सदस्यमा निर्वाचित हुँदा पहिलोपटक बज्जिका भाषामा शपथ लिएर बज्जिका भाषाको प्रवेश संसदमा गराएका थिए ।

यसै गरी मधेश प्रदेशसभामा माननीय उपेन्द्र महताले दोस्रोचोटि बज्जिका भाषामा शपथ लिएका हुन् । यसअघि पहिलोचोटि प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा पनि माननीय महतोले बज्जिका मातृभाषामा शपथ लिएर बज्जिकालाई प्रदेशसभामा पु¥याएका थिए ।

२०६८ को राष्ट्रिय जनगणनाअनुसार मधेश प्रदेशको सबैभन्दा ठूलो मातृभाषा मैथिली, दोस्रो ठूलो मातृभाषा भोजपुरी र तेस्रो ठूलो मातृभाषा बज्जिका रहेको छ । देशको सातौँ ठूलो भाषाको रुपमा रहेको बज्जिका मधेश प्रदेशसभामा शपथ लिने माननीय साँसदहरुको संख्याको आधारमा सबैभन्दा ठूलो भाषा बन्न पुगेको छ ।


मधेश प्रदेशसभामा बज्जिका भाषामा सबैभन्दा धेरै मातृभाषी माननीय साँसदले पद तथा गोपनीयताको शपथ लिएपछि बज्जिका मातृभाषी तथा अभियन्ताहरुमा खुसी छाएको छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया