मालिनी छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ४३” सम्पन्न 

इनेप्लिज २०७९ पुष १३ गते २२:४० मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ पाैष ९ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-४३” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १८ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नुभएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेको छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत मालिनी छन्दमा पुन:अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई मालिनी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

अभ्यासका क्रममा सङ्कलन भएका केही टुक्का कविताहरू

[१]
हरपल दिलको यो घाउ चस्किन्छ कस्तो,
लुखुरलुखुर आयो याद भो काल जस्तो।
•अनिल खग्रास
[२]
१.
पद उपर पुगेका, देखिए धेर भ्रष्ट
अझ पनि जनतामा, चेत आएन प्रष्ट।
२.
जति पनि पुग अड्डा, हुन्छ जालो बुनेको
घुस लिन दिनलाई, त्यो दलाली चुनेको।
•रामशरण न्यौपाने
भक्तपुर
[३]
१.
अवसर कुन आयाे, साेच्नु त्याे काम थाल्दा
अति छ समय गाह्राे, चाेट पाइन्छ फाल्दा ।
२.
फरक फरक देखेँ, लाेक इच्छा गएन
नजर सगर डुल्दा, चित्त साैम्य भएन ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
वरपर झन सारा , हुस्सु लागेछ डम्म,
वरिपरि नभ जस्तै, लाग्छ हेर्दा अचम्म।
•बेदु न्यौपाने
काठमाडौ
[५]
किन किन यसरी यो, कर्मले पो ठगीगो,
नयन पनि रसायो, आँसु झर्दै बगीगो ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[६]
समयसँग सबैले चल्नु पर्ने जनाऊ,
अलमल नगरी यो देश राम्रो बनाऊ ।
•बिबस पारदर्शी
भद्रपुर झापा
[७]
१.
कुटु कुटु मुटु खायो, भित्रभित्रै जलेर,
झमझम तन भो, नाडी फतक्कै गलेर ।
२.
हरपल जुन पापीले, सतायो मलाई,
अवसर पकडी बाँध्यो, उसैले ढलाई ।
•वसन्त अनुभव
घोराही, दाङ
[८]
१.
पुलकित अझ सारा,आज सोचेर बढ्छन्
तब त समय पूरा , लाग्छ आँटेर चढ्छन् ।
२.
सरर सरर हावा , चल्छ डाँडा बनैमा
झलमल हुन सारा,मान राखौं मनैमा ।
•प्रेम थापा “मन”
बागलुङ
[९]
१.
शिशिर ऋतु रमायो शीत गाथा जमायो,
लगलग कसरी लौ हात खुट्टा कमायो।
२.
झर झर झरनाले गीत बाजा बजायो,
झलमल जब तातो सूर्यको राप आयो।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी
[१०]
१.
छलफल अझ गर्दै छन्दमा नै रमाऊँ
चमक चमक पार्दै मालिनीले सजाऊँ।
२.
मधुर मधुर भाषा वाक्य जाेड्दै कलाले
अजर अमर पार्दै काव्य वाचाेस् गलाले ।
•इन्दिरा प्रयास
[११]
सरर सरर हावा शीत बोकी चलेको
कटट कटट गर्दै दाँत बाजा बजेको ।
•घनश्याम रेग्मी
[१२]
१.
शिशिर ऋतु उदायो, शीत पोखेर आयो
ठक ठक मुटु हान्दै, हात खुट्टा समायो ।
२.
वरपर धरणीमा, शीत बाक्लो छ सेतै
लुग लुग मुटु काम्यो, पार्छ क्यारे अचेतै।
•बाबुराम गौतम
गुल्मी
[१३]
हुन पनि यति टालेको भए च्यादरैले
कलकल पन ढाकेको थिएँ आदतैले।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[१४]
थलकमल फुलेको यो सजाएर हेर
घर वरिपरि बास्ना मै रमाएर धेर।
•अच्युत घिमिरे
भुटानबाट
[१५]
१.
कति झलमल हाँसेकाे छ देशै समाल
अझ अलमल बाँचेकाे छ नेता कमाल ।
२.
अलमल किन पर्थेँ आज मन्त्री मिलाई,
झलमल अब पार्ने दाउ गाेजी सिलाई।
•निरज काेइराला
बेलका १
[१६]
खबर गर सबैमा हुन्छ राम्रो बनाए
पसल छ त सबै भन्दा त आहा! जनाए ।
▪️तारा घिमिरे
सङ्खुवा सभा
[१७]
१.
सरर सरर टुक्का लेख्नु ज्यादै रमाई,
असल सब मिलेका छान्नु भाका समाई।
२.
बिति सकल गयो है बृद्धबेला पलायो,
कति सकस सहन्छ्यौ प्राण यस्ले गलायो।
▪️गुणनिधि घिमिरे
[१८]
जलथल हुन छानो छाउने छौँ साथमा,
पलपल रुन सङ्लो त्यो भिजेरै जातमा।
▪️अम्विका अधिकारी
झापा, विर्तामोड

::::: जय टुक्का! जय साहित्य!! ::

प्रतिक्रिया