स्रग्विणी छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ४२” सम्पन्न

इनेप्लिज २०७९ पुष ७ गते १८:०३ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ पाैष २ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-४२” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १९ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का लेखन अभ्यास श्रृङ्खला सञ्चालन भई रहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत स्रग्विणी छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई स्रग्विणी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

अभ्यासका क्रममा सङ्कलन भएका केही टुक्का कविताहरू

[१]
१.
बन्धकीमा परे, लौन मेरा खुसी,
गाउँ छोडी तिमी, मार्दछ्यौ बुर्कुसी।
२.
आममाफीतिरै, लाग्छ नेता जहाँ,
देशमा न्यायको बास होला कहाँ ?
•रामशरण न्यौपाने
भक्तपुर

[२]
सम्झनाको थियोे एउटा हुन्डरी,
आँसु भै झर्दियो हेर यी सुस्तरी ।
▪️अनिल खग्रास
[३]
कर्मले धर्मले , देवता मानवफ
कर्मले बन्दछन्, यी दुवै दानव ।
•बेदु न्यौपाने
काठमाडौ
[४]
के भयाे जीन्दगी अल्झियाे माझमा,
राेकियाे सास नै गाेधुली साँझमा ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[५]
प्यारकाे अर्थ हाे जिन्दगी आखिर,
प्यारकाे लागि नै खुल्दछन् जागिर ।
•इन्दिरा प्रयास
सानोठिमी ,भक्तपुर
[६]
प्रेमको मातमा जिन्दगी भासियो,
आत्तिदै अन्तमा जीवनै नासियो।
•त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[७]
बेसरी दाैडमा भेट्छु की आसमा,
छट्पटी बढ्छ माया तिमी प्यासमा ।
•निरज काेइराला
[८]
१.
खुल्दछन् प्यारमा राख्दछन् हातमा
आतुरै जिन्दगी के छ के साथमा ?
२.
बन्दछन् पैरवी साथ त्यो रातमा
खेत नै राख्दछन् बन्धकी मातमा ।
•प्रेम थापा “मन”
बाग्लुङ
[९]
राख्छु भन्थ्यौ सदा लोचनी तालमा,
चट्ट छोपेर त्यो प्रेमको जालमा ।
•वसन्त अनुभव
घोराही, दाङ
[१०]

कर्ममा देखियो गाउँको साधना,
मर्ममा भेटियो जोसिला भावना।

बागमा फूलको पारखी पाइयो ,
एक भै बेसरी सिर्जना छाइयो ।
•भगवती दवाडी
झापा
[११]
कामका नामले साहसी बोलमा,
थापना कार्यले रौनकै टोलमा ।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[१२]
१.
हुन्छ यो जिन्दगी कर्मले सुन्दर,
अन्तमा जिन्दगी घाटमा लस्कर।
२.
पापको त्यो घडा फुट्छ है मानव,
मोहमा जो फस्यो हुन्छ त्यो दानव ।
•सूर्यमणि रेग्मी
चितवन
[१३]
१.
साथ भेट्टाउँदा धेर माया थियो,
फेरि बाँच्ने दिलासा त्यसैले दियो

धानका खेतमा लाै बनाए घरै,
खानु के हाे त सन्तान धेरै बरै।
•शाेभा आचार्य गाैतम
काठमाडौँ
[१४]
फूल झैं फूल्दिने जून झैं हाँस्दिने,
दु:ख पीडा सदा सर्वदा मास्दिने ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१५]
फूलबारी डुलिन् फूल टिप्दै उनी,
सोच्छु प्यारा भनी टाढिइन् बैगुनी।
•म्यामराज राई
भोजपुर
[१६]
१.
पेटमा बज्छ यो, हातको मादल,
रातझैँ शून्य भो,कालको बादल।
२.
छन् तिनै प्रेमले, आततायी सबै ,
छैन केही जहाँ,हुन्छ माया कबै।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१७]
१.
कालको छालमा पाकदै झर्दछ,
जन्मने जीवले मर्नुनै पर्दछ ।
२.
मित्रमा देखियो छद्मझैँ चित्रको,
शान्तिको नाममा क्रान्ति त्यो भित्रको ।
•बिबस
[१८]
१.
कर्म हो ज्ञान यो लोकमा उत्तम
कर्म नै ध्यानको मार्गमा सक्षम ।
२.
साधना काव्यको कर्ममा गन्दछु
सिर्जना बाँच्तछन् लेख्नुहोस् भन्दछु ।
•चूडा निर्भीक
सिम्पानी गोरखा ।
[१९]
१.
यो चिसो याममा पल्टिएँ घाममा
जिन्दगी सुम्पिएँ कालुकै नाममा।
२.
थोपडा पुस्तिका छोपियो हातमा
मस्किदै बसियो चोपिला बातमा।
•बाबुराम गौतम
गुल्मी

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया