कवि ज्ञान उदासको कविता सङ्ग्रह सार्वजनिक

इनेप्लिज २०७९ मंसिर २६ गते २२:३३ मा प्रकाशित

काठमाण्डौं, १२ डिसेम्बर, २०२२

वरिष्ठ कवि ज्ञान उदासको नेपाली र अंग्रेजीमा अनुदित प्रतिनिधि कविताहरुको सङ्ग्रह ‘मीठो कविता’ काठमाण्डौंमा शनिवार सार्वजनिक गरिएको छ । वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, वरिष्ठ समालोचक तथा नाटककार अभि सुवेदी, साहित्यप्रेमी तथा समारोहका सभापति प्रेमा उदास, कथाकार जलेश्वरी श्रेष्ठले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गर्नु भएको थियो ।

काठामाण्डौं मित्रपार्कमा आयोजित सो समारोहमा प्रमुख अतिति तुलसी दिवसले कविहरुले कसैको नक्कल नगरि आफूले देखेको, भोगेको, जीवन र जगतले अनुभूत गरेको यर्थाथ निडरतापूर्वक कवितामा ब्यक्त गर्न सके त्यो कविता जीवन्त हुने बताउनु भयो । कवि उदासका कवितामा उक्त विशेषता रहेको बताउनु भयो ।

समारोहमा अभि सुवेदीले ज्ञान उदास बाल्यकालदेखिको भावना मिल्ने अभिन्न साथी भएकोले उनको बारेमा र उनको लेखनको बारेमा परिचित रहेको बताउनु भयो । उनको दुई कवितासङ्ग्रहमा भुमिका लेखेको स्मरण गराउनु भयो । अर्का वक्ता डा. शिव रिजालले कवि उदासको कृति भित्रबाट केही कविता वाचन गर्नु भएको थियो ।

पूर्व चैनपुरमा जन्मनु भएको कवि उदास उमेरले सत्तरी दशकको उत्तरार्धमा पुगे पनि अझै लेखनमा सक्रिय हुनुहुन्छ । सशक्त कवि उदासका कविता मानव, प्रकृति र समाजको भावनात्मक विषयमा केन्द्रित छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित ‘मीठो कविता’ सङ्ग्रहका २९ वटा कविताहरु डा. अभि सुवेदी, प्रा.डा. गोविन्दराज भट्टराई, पीटर जे कार्थक, रमेश श्रेष्ठ, मोनिका मुखिया, वन्दना श्रेष्ठ, शलिल सुवेदी, र गिरिश सुवेदीले अनुवाद गर्नु भएको हो ।

प्रतिक्रिया