बज्जिका शिक्षालाई अगाडि बढाउन गरुडा नगरपालिका तयार : नगर प्रमुख कलवार

इनेप्लिज २०७९ मंसिर २२ गते २२:३३ मा प्रकाशित

रौतहट

बज्जिका भाषाको मातृभाषा शिक्षालाई सहयोग गर्न गरुडा नगरपालिका तयार रहेको नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताएका छन् । भाषा आयोग, गरुडा नगरपालिका तथा बज्जिका साहित्य संगम रौतहटको संयुक्त आयोजना विहीवार गरुडामा भएको मातृभाषा शिक्षा बज्जिकाको अभिमुखीकरण कार्यक्रमलाई नगर प्रमुख कलवारले सम्बोधन गर्दै मातृभाषा बज्जिकाको लागि आफू रौतहट उद्योग वाणिज्य संघको अध्यक्ष रहेको समयदेखि नै लागि परेको र नगर प्रमुख भएपछि आफ्नो दायित्व अझ बढेको बताएका छन् ।

गरुडा नगरपालिकाले कक्षा १ र २मा बज्जिका पाठ्यपुस्तक लागू गरिसकेको अवस्थामा थप कक्षाको पाठ्यपुस्तक तयार पार्न प्राविधिक सहयोग गर्न पनि नगर तयार रहेको प्रमुख कलवारको भनाइ छ ।

गरुडा नगरपालिकाको सभाकक्षमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आयोगका सदस्य माननीय गोपालजीप्रसाद सर्राफले देशका बोलिने मातृभाषाहरुलाई लोप हुन नदिने मुख्य संवैधानिक अभिभारा आयोगको भएसँगै मातृभाषाको पाठ्यक्रम निर्माण गरी मातृभाषा शिक्षालाई व्यवहारमा उतार्नु पनि कर्तव्य रहेको बताएका छन् । यसै क्रममा बज्जिका भाषाको पाठ्यक्रम निर्माणमा आयोगले प्राविधिक सहयोग गर्न तयार रहेको बताएका छन् ।

आयोगका सचिव जयराम अधिकारीले आयोगले मधेश प्रदेशका तिन प्रमुख भाषा बज्जिका, भोजपुरी र मैथिलीलाई प्रादेशिक सरकारी कामकाजको भाषा सिफारिश गरेको बताउँदै पालिकाहरुले पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा बज्जिका भाषाका प्रशिक्षक साहित्यकार सञ्जय साह मित्र, कक्षा १ र २ को पाठ्यपुस्तक तयार गर्ने काका सामुदायिक सिकाइ केन्द्र सर्लाहीका प्रमुख डा. कमलेश्वरकुमार सिन्हा, गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव, नगर शिक्षा सहसंयोजक शेख चाँद अलि, रवीन्द्र मिश्र, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण लगायतले कक्षा ३ को पाठ्यक्रम निर्माणको प्राविधिक पक्षबारे स्पष्ट पारेका छन् ।

कार्यक्रममा नगर शिक्षा संयोजक सुबोधकुमार चौधरी, मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल, मावि महम्मदपुरका प्रअ रामनारायण यादव, मावि जिंगडियाका प्रअ मौजेलाल साह, मावि श्रीपुरका प्रअ रामअधार पासवानका साथै गौर नगरपालिकाको जुद्ध माविका सहायक प्रधानाध्यापक दयानन्द ठाकुर, गढीमाई नगरपालिकाको समनपुरस्थित शंकर गुदर माविकी शिक्षिका रेणु गुप्तासहित विभिन्न विद्यालयमा बज्जिका अध्यापन गर्ने शिक्षक, साहित्यकार तथा भाषासेवीहरुको सहभागिता रहेको थियो ।

सर्लाही र रौतहटको मुख्य स्थानीय मातृभाषाको रुपमा रहेको बज्जिका भाषामा निर्माण भएको पाठ्यपुस्तकलाई दुवै जिल्लाका विभिन्न पालिकाले ऐच्छिक विषयको रुपमा लागू गरिसकेका छन् । यसै गरी माथिल्लो कक्षाको लागि पनि पाठ्यपुस्तकको माग भइरहेको छ ।

प्रतिक्रिया