सुकुम्बासी हुकुम्बासी कस्ले छुट्याइदिने

–हरि कृष्ण सिलवाल २०७९ मंसिर २० गते १०:५७ मा प्रकाशित

सुकुम्बासी समस्यामा हुकुम्बासी बढे ।
वास्तविक सुकुम्बासी चेपुवामा परे ।।
कस्ले दियो आश्वासन नदी दोहन गर्न ।
कस्को थियो निर्देशन सुकुम्बासी भर्न ।।
दलको फेर समातेर सुकुम्बासी उठ्थे ।
हठ्ताल गर्नुप¥यो भने तिनै अघि पुग्थे ।।
अर्कालाई मुखमा पारी आफू बन्ने साधु ।
नेपालका नेताहरु खुबै खेल्थे जादु ।।
काठमाडौँमा सुकुम्बासी समस्या भो भारी ।
नेताहरु गीत गाउँछन् भाका पारी पारी ।।
सुकुम्बासी हुकुमबासी कस्ले छुट्याइ दिने ।
उचित राम्रो सल्लाह कस्ले होला दिने ।।
बोल्न भने माहिर छन् गर्छन् ठूला कुरा ।
समस्याको समाधान कस्ले गर्ने पूरा ।।
सही कुरा बोल्नु परे बन्न खोज्छन् चूप ।
राजनीतिले ल्याउन थाल्यो दंगा मात्र खुब ।।
समस्यालाई उठाउने सबै भए पात्र ।
सत्ताभोक, सम्पत्तिमा आँखा लाउने मात्र ।।
सुकुमबासी समस्यामा हुकुमबासी बढे ।
वास्तविक सुकुम्बासी अन्यायमा परे ।।
समस्याको समाधान कस्ले गर्ने चाँडो ।
वास्तविक सुकुम्बासी कति खाउन् जाडो ।।

(२०७९–८–२०)

प्रतिक्रिया