गठबन्धन भत्किए एमालेले सरकार बनाउन प्रयत्न गर्छ : रघुजी पन्त (भिडिओसहित)

इनेप्लिज २०७९ मंसिर १७ गते ३:५९ मा प्रकाशित

काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले एकल बहुमत ल्याएर सरकार चलाउने भनेकोले अहिलेको निर्वाचन परिणामबाट पूर्ण सन्तुष्टि नभएको बताएका छन् । उनले एमाले एक प्रकारले दोहोरो विभाजितको अवस्थामा रहेको स्मरण गराए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘विभाजन भएको अवस्थालाई हेर्दा त हाम्रो परिणाम सन्तोषजनक छ, यद्धपी अपेक्षाअनुसार भएन । एमालेको संगठित शक्ति, क्षमतालाई हेर्ने हो भने एमालेले बहुमत ल्याउने अपेक्षा गरेको थियो ।’

उनले एमाले सरकारमा जान वा प्रतिपक्षमा बस्न दुवै भूमिका निर्वाह गर्न तयार रहेको सुनाए । उनले भने,‘एमाले जुनसुकै भूमिका निर्वाह गर्न र चूनौति सामना गर्न तयार छ ।’ उनले गठबन्धन भत्किए सरकार बनाउनको लागि पनि एमालेले प्रयत्न गर्ने सुनाए ।

उनले गठबन्धन भत्काउनेतर्फ आफूहरुको चासो भने नभएको जिकिर गरे । उनले गठबन्धन सिद्धान्त र नीतिअनुसार बन्नुपर्नेमा जोड दिए । उनले मुलुकलाई राजनीतिक स्थिरता चाहिएको हो भने कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया