कविता -नमस्ते गोलीबा !

जगन्नाथ पौडेल २०७९ मंसिर १३ गते ३:०० मा प्रकाशित

गोलीबा प्रणाम,

हजुर सन्चै होइबक्सिन्छ

अनि हजुरका परिवार

नन्दी, भृङ्गी, 

चतुषष्ठी, योगिनी…

सबैसबै…?

बेलाबेला म हजुरलाई

समाचारमा पढिरहन्छु

हँसाउन आैधी सिपालु

आफ्नाहरूका असाध्यै दयालु

परायाहरूका बहुतै विषालु 

जेहोस् युवा जाँगर देखेर छक्क छु

अँ साँच्चि हजुरको उनान्सत्तरी करोड कमाको प्यारो कान्छो छोरा पनि सन्चै हुनुहुन्छ होला

सुन्दैछु

उहाँ पत्रकारिता पढाउनुहुन्छ रे आजकल 

मनोविज्ञानी हुनुभाछ भन्ने पनि सुन्छु

खैर

देशलाई कत्तिको सन्चो पारिबक्सिया छ

राजनीतिको पुरानो गनाउने डुङ्गुर 

झन सड्दैसड्दै गाछ रे

त्यही फोहरमा लामा खुट्टे 

खुट्टै नभएका बुच्चे 

उड्ने, गुड्ने, चिल्ने, टोक्ने, डस्ने कीराहरूको उद्योग खोल्नुभाछ रे

लोकतन्त्रको आँखैमा ठुँग्ने बिच्छीहरूसँग 

हजुरको बन्धन गाँसिएको छ रे

बन्धन बलियो पारेर

दुब्लाएकी ख्याउटे हाम्री लोकतन्त्रकी आमाको घाँटी कस्ने सुरसारमा होइसिन्छ रे

होइन होला

त्यति बेइमान त हजुर नहोइबक्सिएला

अनि कर्णाली हिंडेको सिटामोल बाटोमै बिरामी 

पर्यो रे

सन्चो भए होला कि नाइँ 

सन्चै भएर आफै बिरामी कर्णालीसम्म पुग्यो कि अपहरणमा पर्यो कुन्नि 

हुन त सिटामोलका

षष्टदल, पन्चदल, त्रिदल… नव ग्रहले

उसलाई गाउँठाउँ पुग्नै दिंदैनन् रे

अनि नयाँ कुरा

आजकल हलो, कुटो, कोदालो असाध्यै मन पर्छ रे

हजुरलाई र हजुरका ठेउकाहरूलाई

अनि ती बनाउने कान्छाबालाई चिन्नुहुन्छ नि

हलो कुन काठले बन्छ थाहा पाइबक्सिएको छ नि बा ?

कान्छाबा त हलो खुर्कंदाखुर्कंदै 

आफै हलोको काठजस्तो हुनुभाछ रे

कान्छाबाले बनाएको हलोमा त चुच्चो परेको दाँत छ

तर

कान्छाबासँग त बुच्चो गिंजा मात्रै छ

त्यो गिंजा दिनको कतिपटक रगतका आँसु बगाउँछ

सोधिबक्सिया छ ?

हो मलाई थाछ

हजुरले कान्छाबालाई खूब माया गरिसिन्छ

त्यही भएर 

छिमेकीसँग मागीमागी ओखती खुवाइसिन्छ

ओखती महङ्गो पर्छ भनेर 

हजुरले तरकारी र गेडागुडीमा दल्न लाइसिन्छ

हजुर त कति बाठो पो

अनि सर्कस खेलाडीजस्तो पनि

रेल पनि माइकमा नै कुदाइदिने

पानीजहाज पनि मन्चमै नचाइदिने

जाबो पुल त चुड्कीमै बनाइदिने चुड्कीमै गायब पार्दिने

यस्तो पो राजनेता

जादुगर …

जाबो अम्रिकाको नेता नि के नेता

जपानको नेता के नेता

तरकारीमा ओखती भित्र्याउने बुध्दि तिनीसँग होला त

फोहोरको पहाड चढ्न सक्ने खुबी तिनमा होला त

हजुरले जस्ता चुड्किला र किस्सा तिनलाई आउला त

धन्य भगवान् 

संसारकै ठट्यौलो बा हामीलाई नै दिएको मा !

अनि नि बा,

देशको लागि झुन्डिएका सहिदका सपनाहरू सन्चै छन् ?

एक चिम्टी अौषधी किन्न

मरुभूमि पसेका अधबैंसे युवाका दिदीबहिनीका अंगहरू सन्चै छन् ?

तिनका बुढा बाआमाका अरबतिर हेरिबस्ने आँखाहरू सन्चै छन् ?

बा तपाईं माइक समाएर

सद्देहरूलाई बिरामी पार्ने बोलीको गोली किन बर्साइसिन्छ

बरु बिरामीहरूलाई सद्दे पार्ने 

ओखतीको गोली ठोकिबक्सियो न ती बिरानी गाउँमा

जे परे पर्ला 

सँगै बाँसको सुप्लाको जहाज बनाएर खेलेका तपाईंका

सङ्गी 

हाम्रा काइँला बा, लाई 

साँच्चिकैको जहाज चढेर 

भेटिबक्सियोस् न एक पटक

जानिबक्सियोस् न उहाँको आन्दोलनमा भाँचिएको ढाडलाई कति सन्चो छ

बा मलाई चाहिं ‘जान्ने हुनी’

‘हेप्नी’ नभनिबक्सियला है

त्यस्तो लागिहालेछ भने पनि 

बाले नै छोराछोरीलाई सिकाएको सम्झिइबक्सियला है

म खाडीतिर पैसा टिप्न आको छु

मेरो भाइ कर्णालीतिर भोकको हलो रोप्दैछ

मलको चिन्ता नगरिबक्सियला

ठुलाठुला महल बनाइबक्सियला

म बाँचेरै फर्केछु भने हजुरका श्रापसंगीत सुनाइबक्सियला

म मरेरै बाकसमा थुनिएछु भने पनि

तपाईंको पैसाको बाकसलाई बिरामी हुन नदिइबक्सियला 

है त बा

अहिलेसमम्म त अलिअलि भए पनि कमाएर पठाकै छु

त्यसले घरको बजेटको नक्सा बनाइबक्सियला

झुन्डहरूबीचमा अक्षताझैं छरिबक्सियला

यताको मरुभूमि त बेस्सरी फराकिलो पो रहेछ बा

नआत्तिइबक्सियोस् 

भोटैभोटले हजुरको झोला भरिबक्सियोस्

सबै मेरादाजुभाइलाई रित्तो झोला बोकाएर यतैतिर खेजिबक्सियोस् 

यो मरुभूमि हजुरको छहारीभन्दा हजारौं गुणा शीतल छ

हजुरको छातीभन्दा लाखौं गुणा विशाल छ बा

यसले त श्रीमतीको शिरमा लगाउने रातो टीका त किनिदिएको छ

आफू सुकेर भए पनि मेरा परिवारको मुखमा माड त जोडिदिएको छ

अन्तमा

मेरी आमा सारै बिरामी छिन्

सुन्छु रातबिरात

स्यालहरू अपशकुनको हुँइय्याँ कराउँछन् रे

ख्याल रहोस् र सन्देश पुगोस्

आमालाई तलमाथि भए

गोर्खाली खुकुरी जहाँ पनि चम्किन सक्छ …

गोलीबा

होलीबा

चन्डमुन्ड

टाउका 

ठेउका

सबैलाई चेतनाभया !

जय आमा जय मातृभूमि !

     उही जान्ने बाको नजान्ने छोरा !

-जगन्नाथ पौडेल

प्रतिक्रिया