बजगाईंले ल्याए “उमिहोतारु” नियात्रासङ्ग्रह

इनेप्लिज २०७९ मंसिर १२ गते २२:३१ मा प्रकाशित

मंसिर १२, काठमाण्डौं,

बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको “उमिहोतारु” नियात्रासङ्ग्रह बजारमा आएको छ । उनको यो चौंथो नियात्रा सङ्ग्रहमा अमेरिका, बेलायत र जापानका एक्काइसवटा यात्रानुभूतिहरु समाविष्ट छन् । विदेशका इतिहास, कला, साहित्य र संस्कृति आदिका विषयमा नियात्रा लेख्न मन पराउने बजगाईका नियात्रा बौद्धिक र अनुसन्धानमूलक हुन्छन् । यस अगि उनका युरोशियाको स्पर्श, भाया साक्रा र दाइबुचु नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

नेपालमा हुँदा देखिनै साहित्य लेखन तथा साहित्यिक संघ संस्थामा महत्वपूर्ण नेतृत्व प्रदान गरेका बजगाई विगत २२ वर्षदेखि प्रवासमा बसेर नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकुका १४ वटा कृतिहरु प्रकाशित गरिसकेका छन् । उनी डायोस्पोराका स्थापित साहित्यकार हुन् । उनका एक लघुकथा नेपालको कक्षा १२ मा, दुई लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा र चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा पढाई भई रहेका छन् ।

भुँडीपुराण प्रकाशन काठमाण्डौंबाट प्रकाशित उमिहोतारुको मुल्य रु. ३०० रहेको छ । उक्त पुस्तक नेपालभरका मुख्य पुस्तक पसल र अनलाईनबाट बिक्री भइरहेको छ ।

प्रतिक्रिया