राम–जानकी विवाहको समयमा दाइँजोको चलन थियो ?

सञ्जय साह मित्र २०७९ मंसिर १२ गते १:३७ मा प्रकाशित

आजभोलि तिलक दहेजको खूब विरोध गरिन्छ । तिलक र दहेजलाई एउटै रुपमा पनि लिने गरिएको पाइन्छ । तिलक र दहेज दुई कुरा हुन् ।

हुन त सर्वसाधारणले जे मान्दछन्, त्यहीँ नै हुने हो तर पहिलेदेखि तिलक र दहेज दुई फरक किसिमका हुन् भन्ने सामाजिक व्यवहार थियो वा अझै पनि ग्रामीण समुदायमा रहेको छ । विवाहपूर्व दुलहा पक्षले दुलही पक्षसित यति लिन्छु वा यो यो कुरा लिन्छु भनी किटान गरेर हुने लेनदेनलाई तिलक भन्ने गरिन्थ्यो भने विवाहपश्चात् दुलही पक्षले दुलहा पक्षलाई आफैँले दिने नगद वा जिन्सी दहेज कहलाउँथ्यो । तिलक एक किसिमले करकाप थियो भने दहेज स्वैच्छिक वा खुसी ।
दुलहा पक्षले दुलही पक्षसित बलजफ्ती यति नगद वा जिन्सी लिन्छु भनी माग्नु, दबाब दिनु वा लिनु चाहिँ विकृति हो भने छोरी पनि आफ्नै सन्तान हो, आफ्नो सन्तानलाई मातापिताले विवाहभन्दा पहिले वा पछि पनि नगद वा जिन्सी दिइरहन्छन् । यसलाई स्वाभाविक मानिनुपर्छ अर्थात् यो विकृति नभई स्वीकृति हो ।

हाम्रो समाजमा तिलक त पहिले त्यत्ति चल्दैनथ्यो बरु दहेज चल्थ्यो । विवाहको समयमा मण्डपमा नै दुलही पक्षले दुलहाको हातमा केही नगद वा द्रव्य दिने चलन अद्यापि छ । विवाहको एउटा विधि पनि हो तिलक तर यो केवल विधिमा सीमित हुँदै गइरहेको छ र पूर्व निर्धारित तिलकको बहस बढ्दो छ ।

यदि पुराना ग्रन्थहरु हेर्ने हो भने पनि यस प्रकारको उल्लेख पाइन्छ । रामायणमा पनि दहेजको उल्लेख पाइन्छ । वाल्मीकीय रामायणमा पनि विदेहराज शिरध्वजले आफ्ना पुत्रीद्वय सीता र उर्मिलाको विवाह राम र लक्ष्मणसित गर्दा दहेज दिएको उल्लेख पाइन्छ । रामायणको संस्कृत श्लोकमा दहेजलाई कन्याधन भनिएको छ ।

वाल्मीकीय रामायणको बालकाण्डमा चौहत्तरौँ सर्गमा रहेका केही श्लोकहरुले विवाहोपरान्त शिरध्वजले छोरी र भतिजीहरुको विदाइ गर्दा पर्याप्त द्रव्य, मुद्रा तथा पशुधन कन्याधनको रुपमा प्रदान गरेको उल्लेख रहेको छ ।

अथ राजा विदेहानां ददौ कन्याधनं बहु ।
गवां शतसहस्राणि बहूनि मिथिलेश्वरः ।।३।।
कम्बलानां च मुख्यानां क्षौमान् कोट्यम्बराणि च ।
हस्त्यश्वरथपादातं दिव्यरूपं स्वलंकृतम् ।।४।।

अर्थात्, त्यत्तिवेला विदेहराज जनकले आफ्ना कन्याहरुको निमित्त दहेजमा निकै धेरै धन दिए । ती मिथिला नरेशले कैयौँ लाख गाई, कैयौँ निकै निकै राम्रा कालीन तथा करोडौँको संख्यामा रेशमी र सूती वस्त्र दिए, अनेक प्रकारको गहनाले सज्जिएको धेरै नै दिव्य हाती, घोडा, रथ तथा पैदल सैनिक पनि भेट दिए ।

ददौ कन्याशतं तासां दासीदासमनुत्तमम् ।
हिरण्यस्य सुवर्णस्य मुक्तानां विद्रुमस्य च ।।५।।

अर्थात्, आफ्ना छोरीहरुको लागि सहेलीको रुपमा उनले सय सय कन्या तथा उत्तम दासदासीहरु अर्पित गरे । यी सबै बाहेक राजाले तिनीहरुका लागि एक करोड स्वर्ण मुद्रा, रजत मुद्रा, मोती तथा मुँगा पनि दिए ।

ददौ राजा सुसंहृष्टः कन्याधनमनुत्तमम् ।
दत्त्वा बहुविधं राजा समनुज्ञाप्य पार्थिवम् ।।६।।

अर्थात्, यस प्रकार मिथिलापति राजा जनकले निकै हर्षका साथ उत्तमोत्तम कन्याधन (दहेज) दिए ।

यसमा एक दुई कुरा विचारणीय छ । दुलहा पक्षका प्रमुख अयोध्यापति राजा दशरथले कुनै पनि सामान नगद वा जिन्सी कतै मागेको प्रसंग पाइन्न । मिथिलाधीश शिरध्वजलाई कतै कुनै करले दिएको अर्थ लाग्ने उल्लेख पाइन्न । साथै शिरध्वजले आफ्ना छोरीहरु (भाइ कुशध्वजका छोरीहरु माण्डवी र श्रुतकीर्तिसमेत)को विवाहमा जुन दहेज दिएका छन्, आफूखुसी दिएका छन् । दहेज दिएपछि राजा सन्तुष्ट भएको उल्लेख गरिएको छ । अर्थात् अनेक रत्न, धन, दासदासी प्रदान गरेर राजा शिरध्वज जनक सन्तुष्ट बनेका छन् । यसबाट यो सिद्ध हुन आउँछ कि त्यसवेलासम्म दहेजप्रथा स्वैच्छिक थियो ।

दहेज चलनमा नै थिएन भन्ने होइन । स्वयंवरमा नै विहेवरण हुन्थ्यो भने पनि स्वयंवरपछि दुलही पक्षले दुलहा पक्षलाई स्वैच्छिक रुपमा दहेज दिन्थे ।
स्वयंवर फरक फरक किसिमको हुन्थ्यो । वास्तवमा एक प्रतियोगिता थियो । प्रतियोगितामा विजेताले दुलही पाउँथे । प्रतियोगितामा सहभागीको योग्यता निर्धारण गरिएको हुन्थ्यो । योग्यता नपुगेका युवक प्रतियोगितामा सहभागी हुन पाउँदैनथे । र, विजयी युवकले तिलकको आशा पनि गर्दैनथे । रामायणकालसम्म तिलकको आशा गरेका सत्पात्रहरु पाउन मुस्किल छ । असत्पात्रको सन्दर्भमा यो लागू नहुन सक्छ तर दहेज तत्कालीन समाजको लागि स्वीकृत भइसकेको थियो वा समाजमा संस्कृतिको रुपमा विकास भइसकेको थियो भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

आफ्नो हैसियतअनुसार दिइने यही दहेजको संस्कृति कालान्तरमा लोभीहरुको कारणले विवाहपूर्व नै योग्यताको एउटा आधार बन्न जाने विकृति हुन गएको छ । वास्तवमा विवाहपूर्व यो वा त्यो अथवा यत्ति वा त्यत्ति नगद वा जिन्सीको माग गर्नु, लेनदेनको प्रसंग निकाल्नु सामाजिक कलंक हो । यसलाई हाम्रो संस्कृतिविरोधी पनि मान्न सकिन्छ तर संस्कृतिको विषयमा यो पनि भनिएको पाइन्छ कि कुनै समाजमा सामान्य रुपमा हरेकले जे धारण गर्दछ त्यो संस्कृति बन्न पुग्दछ । यद्यपि दहेजको संस्कृति भने अहिले विपरीत हुन पुगेको छ । विपरीत संस्कृतिलाई हटाउने तर छोरीको मान र प्रतिष्ठा बढाउन तथा छोरीको सम्पत्तिमा पनि हक लाग्छ भन्ने मान्यतालाई स्थापित गर्न सोहीअनुसारको व्यवहार गर्न सकिन्छ ।

रामायणकालमा रहेको दहेज संस्कृतिलाई एक किसिमले सम्पत्तिमा छोरीको हक लाग्थ्यो र पिताले स्वैच्छिक रुपमा छोरीलाई विवाहोपरान्त सम्पत्ति दान गर्दथे भनेर बुझ्न सकिन्छ । यस संस्कृतिले विस्तारै विकृतिको रुप लिँदै गर्दा विवाहको एउटा रीति वा विधिसित जानी जानी अन्तर्घात भएको देखिन्छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया